नयाँ वर्ष मनाउन खसी काटेर राखेका वृद्धवृद्धा झुन्डिएको अवस्थामा भेटिए

 

गुल्मीको कालिगण्डकी गाँउपालिका-५का ७० वर्षीय ओमप्रसाद सार्की नयाँ वर्ष मनाउन तरखरमा थिए।

सरकारले लकडाउन जारी गरे पनि उनलाई नयाँ वर्ष भव्य रूपमै मनाउने सोचेका थिए।

आइतबार नै उनले खसी काटेर ठिकठाक पारेका थिए।

एक छाक त हिजै खान भ्याइसकेका थिए। उनी ६९ वर्षिया श्रीमती खिमकला सार्कीसँग बस्थे।

उनीहरूका ३५ वर्षीय छोरा कुवेतमा छन्।

सोमबार बिहान उनी पसलमा चुरोट किन्न गएका थिए। चुरोट खाएर बुढाबुढी घाँस काट्न हिँडेका थिए।

तर दिउँसो भने उनीहरूको शव रूखमा झुन्डिएको अवस्थामा फेला पर्‍यो।

‘उनीहरूले हिजोसम्म नयाँ वर्ष मनाउने भनेर खसी काटेर राखेका थिए,’ कालीगण्डकी गाँउपालिकाकी उपाध्यक्ष तारा थापाले भनिन्,’आज बिहान पनि पसलमा चुरोट खाएर घाँस काट्न खेत हिँडेका थिए।’

उक्त घटनाको खबर प्रहरीले पाए पनि अहिलेसम्म घटनास्थलमा भने पुग्न सकेको छैन।

‘बुढाबुढी झुन्डिएको अवस्थामा फेला परेको भन्ने खबर त आएको छ,’ गुल्मीका एसपी राजेन्द्रसिंह खड्काले भने,’त्यहाँ पुग्न नै आठ-दश घन्टा लाग्छ। यहाँबाट टोली हिँडिसकेको छ।’

घटनास्थलमा इन्स्पेक्टरसहितको टोली गएको उनले बताए। उनीहरूले किन आत्महत्या गरे भन्ने खुल्न नसकेको उपाध्यक्ष थापाले बताइन्।

अन्तिम पटक अपडेट गरिएको : April 18th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु