आमा घाटमा हुँदा, महाकालीपारि छोरा क्वारेन्टिनमा : सरकारलाई गुहार्दै वासुदेव

 

लकडाउन, आइसोलेसन, क्वारेन्टिन, सोसल डिस्टयान्सिङ। दार्चुलाको शैल्यशिखर नगरपालिका-१ का ३५ वर्षीय वासुदेव भट्टले जीवनमा कहिल्यै पनि यी शब्द सुनेका थिएनन्। उनलाई यी शब्दसँग कहिल्यै काम पनि परेको थिएन।

उनी त भारतका पहाडहरूमा केही महिना काम गर्थे। दुई-चार हजार भारू कमाउँथे। त्यही पैसाले घरको जोहो टार्थे।

साल बदलिन्थे तर उनको भारतमा मजदुरी र नेपालको घरखर्चको चक्र सालसालै दोहोरिइरहन्थ्यो।

यसपालि हिउँदमा पनि उनी भारत गएका थिए। मजदुरी गर्दै थिए। संसारभरि तीव्र गतिमा फैलिरहेको कोरोनाबारे उनलाई खासै वास्ता थिएन।

चीनदेखि उनले नामै नसुकेका युरोपका देशमा पुगेको कोरोनाले उनलाई केही असर पारेको थिएन।

तर केही साताअघि कोरोनाका कारण भारतभर लकडाउन भयो। ठेकेदारले ‘अब काम बन्द होगा’ भन्यो।

उनलाई लाग्यो-ठिकै छ त। अब आफ्नै देश फर्किन्छु। आमाबुवा र परिवारसँगै बस्छु।

उनी घर आउन हिँडे। जसै उनी दार्चुला सदरमुकामपारिको धार्चुला आइपुगे त्यहाँ उनीजस्तै देशको सीमाभित्र टेक्न चाहने सयौं नेपाली थिए।

उनीहरू टाढाटाढाबाट घर जाने भनेर आएका थिए। तर महाकालीमाथिको पुलमा बसेका सुरक्षाकर्मीले गेट खोल्दै खोलेनन्।

उनीहरू कहिले बगरमा बसे। कहिले चउरमा उभिए। आफ्नै देशमा फर्किन नपाउने भन्दै नाराबाजी गरे।

दार्चुलाका स्थानीय अधिकारीले काठमाडौं खबर गरे। सिंहदरबारले निर्देशन दियो-यो भावनामा बग्ने बेला होइन।

जो-जो जहाँ छन् त्यही राख्नू। वारिका लाई पारि जान नदिनू, पारिका लाई वारि आउन नदिनू।

केहीले ज्यानको बाजी लगाएर महाकालीमा हाम फाले।

वासुदेव जिन्दगीमा पहिलो पटक सुनेको क्वारेन्टिनमा बसे।

क्वारेन्टिन भने पनि उनीजस्ता हजारभन्दा बढी नेपाली अहिले धार्चुलाका विभिन्न शिविरमा छन्।

आँगनमै आएर पनि आफ्नो देश आउन नपाएका उनी दिनदिनै फोनमा परिवारसँग कुरा गर्थे।

लकडाउन कहिले खुल्ने हो? लकडाउन नगरे के हुन्छ भन्ने खासै मेसो नपाएकी उनकी आमा सोध्थिन्- घर आउन कहिले दिन्छन् रे?

वासुदेवसँग आमाको प्रश्नको जवाफ हुन्थेन। तर कुनै न कुनै दिन त जान दिन्छन् होला भन्ने आश थियो।

मंगलबार साँझ पनि उनलाई घरबाट फोन आयो। त्यो फोन सधैँको जस्तो सामान्य थिएन।

यताबाट फोन गर्नेले भने- दाजु, आमा बित्नुभयो। ५५ वर्षकी उनकी आमालाई हृदयघात भएको थियो।

देश फर्किन नपाएको उनको मनको घाउमाथि फोनबाट आएको खबरले नुनचुक छर्कियो।

आमा सम्झिएँ, मन भरिएर आयो, उनी भक्कानिए।

सँगै बसेका साथीहरूले दार्चुलाका केही जनप्रतिनिधि र सिडिओलाई फोन गरे।

उनीहरूको आशा थियो- आमा मर्दा त छोरालाई घर फर्किन दिन्छन् होला।

यता उनका साना भाइबहिनी पनि जेठो दाजु आउनुहुन्छ भन्ने आशमा थिए।

‘मैले हिजोदेखि सिडिओसाबलाई फोन गरेको गर्‍यै छु। कसैले फोन उठाउँदैनन्,’ बुधबार दिउँसो वासुदेवले भने,’आफू परिसान भएको छु यिनीहरूको के राजनिति हो यो! आमाको किरिया पनि गर्न नपाउने भएँ।’

उनका चारभाइ छन्। जसमध्ये एक बैंग्लोरमा छन् अरू घरमै छन्।

रातभर कुर्दा पनि दाइ नआएपछि उनका भाइले बुधबार बिहान आमाको सतगद् गरेका छन्।

उनको नेपाल फर्किने केही सिप नलागेपछि उतै सेतो कपडा लगाएर कोरामा बस्न थालेका छन्।

‘हामीले उहाँलाई नेपाल पठाउने प्रयास गर्‍यौं तर केही सीप लागेन,’ शिविरमा रहेका सुवास बिकले भने,’आज बिहान सबैसँगै कुराकानी गरेर पसलबाट सेतो कपडा किनेर लगाउन दियौं।’

केही किलोमिटर टाढाको वारि वासुदेवको घरमा आमा बितेको शोक छ, महाकाली पारि उनी कोरामा बसेका छन्।

‘मलाई आमाको किरिया गर्न दिए बरू जुठो छोडेपछि म क्वारन्टाइनमा बस्थें,’ उनले भने।

वासुदेवलाई नेपाल आउन दिनेबारे प्रशासनले के गर्दैछ भन्ने प्रश्न दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले यसबारे केन्द्रले नै निर्णय गर्नुपर्ने बताए।

‘हामीले यहाँ केही गर्न सक्दैनौं। केन्द्रले भनेपछिमात्र सबैलाई ल्याउने कुरा हुन्छ,’ उनले भने,‘लकडाउनको समयमा एक जनालाईमात्र ल्याउने कुरा हुँदैन।’

अन्तिम पटक अपडेट गरिएको : April 18th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु