
कोरोना भाइरसका कारण जारी लकडाउनका क्रममा तीव्र रूपमा लोकप्रिय बनिरहेको भिडियो कन्फ्रेन्सिङ प्लाटफर्म जुमका प्रयोगकर्ताको साइबर सुरक्षाको विषयमाथि प्रश्न उठिरहेका बेला एउटा डरलाग्दो तथ्य बाहिर आएको छ ।
५ लाखभन्दा धेरै जुम प्रयोगकर्ताका पासवर्ड तथा अकाउन्टसँग सम्बन्धित अन्य विभिन्न डाटाहरू ह्याकरहरूले चोर्न सफल भएको र त्यस्ता विवरणहरूलाई डार्क वेबमा कौडीको भाउमा लिलाम बिक्रीमा राखिएको छ ।
अमेरिकी साइबर सेक्योरिटी कम्पनी Cyble ले गत अप्रिल १ मा ह्याकर फोरममा त्यसरी जुम प्रयोगकर्ताका विवरणहरू बिक्रीमा राखिएको तथ्य पत्ता लगाएको हो ।
प्रविधि सम्बन्धी समाचार साइट Bleeping Computer का अनुसार ५ लाख ३० हजार जुम प्रयोगकर्ताका विवरणहरू ०.००२ डलर प्रति प्रयोगकर्ताको दरमा बिक्रीमा राखिएको थियो ।
यतिमात्र होइन कतिपय अकाउन्ट डिटेलहरू त सित्तैमा सार्वजनिक गरिएका छन् । सार्वजनिक गरिएका त्यस्ता विवरणहरूमा पर्सनल मिटिङ युआरएल देखि इमेल एड्रेस र पासवर्ड लगायतका रहेका छन् ।
ह्याकरहरूले जुम प्रयोगकर्ताका यूजरनेम तथा पासवर्ड ह्याक गर्नका लागि अन्य विभिन्न प्लाटफर्महरूबाट लिक भएका प्रयोगकर्ताका विवरणहरूको दुरूपयोग गरेको बताइएको छ ।
एक भन्दा बढि प्लाटफर्महरूमा एउटै युजरनेम तथा पासवर्ड राखेका अधिकांस जुम प्रयोगकर्ताहरू ह्याकरको निसानामा परेका छन् ।
बिक्रीमा राखिएका जुम प्रयोगकर्ताका विवरणहरू अनधिकृत व्यक्तिले खरीद गरिसकेपछि जुम बम्बिङ्ग लगायतका अन्य नकारात्मक गतिविधिहरूमा दुरूपयोग गर्नसक्ने बताइएको छ ।
जुम बम्बिङ्ग भनेको यस्तो क्रियाकलाप हो जहाँ जुम एपमार्फत भिडियो कन्फ्रेन्सिङ चलिरहेको बेला अनधिकृत व्यक्ति भर्चुअल मिटिङमा जबरजस्ती प्रवेश गर्दछ र भिडियो कलमा रहेका व्यक्तिहरूलाई लगातार पोर्न सामाग्री लगायतका आपत्तिजनक सामाग्री प्रदर्शन गर्दछ ।
ह्याकमा परेका जुम अकाउन्टमध्ये कतिपय Cyble का ग्राहकहरूकै भएका कारणले पनि उक्त कम्पनीले जुम प्रयोगकर्ताका अकाउन्टहरू ह्याक भएको विवरण पुष्टि गर्न सहज भएको बताएको छ ।
साइबर सेक्योरिटी विज्ञहरूले क्रिडेन्सियल स्टफिङ अट्याक भनिने यस्तो साइबर आक्रमणबाट बच्नका लागि एकभन्दा धेरै सोसल मिडिया प्लाटफर्ममा एउटै युजरनेम तथा पासवर्ड राख्न नहुने सल्लाह दिन्छन् ।
यस्तोमा यदि एउटा अनलाइन अकाउन्ट ह्याक भएको अवस्थामा ह्याकरले सोही पासवर्ड तथा युजरनेम प्रयोग गरी व्यक्तिको अर्को सोसल मिडिया अकाउन्ट पनि ह्याक गर्न सक्दछ ।
Cyble ले सबै जुम प्रयोगकर्तालाई तत्कालै आफ्नो युजरनेम तथा पासवर्ड परिवर्तन गर्न आग्रह गरेको छ ।
लोकप्रिय च्याट एप जुम धेरै व्यक्तिहरूबीचको सामूहिक भिडियो कलिङका लागि निकै उपयोगी प्लाटफर्म हो । जहाँ एक पटकमा ४० मिनेट सम्मको भिडियो च्याट गर्न सकिन्छ ।
एजेन्सी
प्रतिकृया दिनुहोस्