ओली समूहमा पनि विभाजनको सुरुआत

 

काठमाडौं- आफ्ना समर्थकहरुवीच ‘बा’को नामले चिनिने प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका प्याराहरूले लाभको पद पाउने तर पार्टीका लागि रगत, पसिना बगाउनेहरु कर्नरमा पर्ने हुँदा सरकारी एमालेभित्रै लफडा आइलागेको छ । देशभर ओली र माधव नेपालका नाममा समानान्तर गतिविधि चलिरहँदा रसुवामा भने ओली पक्षमै दुई फ्याक देखिएको हो ।

सरकारी एमालेका दुई नेताले आफूलाई सचिवमा दाबी गरेपछि त्यहाँभित्रको विवाद सतहमा आएको छ । सरकारी एमालेको एक समूहले केही दिनअघि पूर्व सांसद जनार्दन ढकाललाई पार्टी सचिव भनेर प्रचार गरेको थियो । हिजो फेरि त्यहि समूहका पुराना नेता विजय लामाले समेत आफूलाई सचिवमा दाबी गरेपछि ‘बा’ भन्नेहरू नै विभाजित बनेका हुन् ।

६६ जिल्लामा छुट्टै कमिटी बनाइसकेको दाबी गरेको माधव पक्षले शिव लामिछानेलाई यसअघि नै सचिव तोकेको छ । हिजो पार्टीको झण्डा र चुनाव चिन्हसहित सार्वजनिक गरिएको नयाँ वर्षको शुभकामना सन्देशमा तीनै जनाले आफूलाई सचिव उल्लेख गरेका छन् ।

केन्द्रीय राजनीतिमा ओलीको पक्षमा खुलेका ढकाल र लामाको राजनीतिक इतिहास भने फरक छ । लामा पुराना नेता हुन् भने ढकाल २०७० पछि राजनीतिमा उदाएका हुन् । लामा तत्कालीन एमाले रसुवाको अधिवेशनबाट जिल्ला सचिव बनेका थिए । हाल उनी जिल्ला सचिवालय सदस्य तथा गोसाईंकुण्ड गाउँपालिकाको इञ्चार्ज छन् । लामो समय एमालेमा योगदान गरेका लामालाई पन्छाएर २०७० को निर्वाचनताका एमाले प्रवेश गरेका ढकाललाई सचिव बनाइएपछि असन्तुष्टि चुलिएको बताइन्छ ।

रसुवा एमालेमै लागेर राजनीतिको भोटो फटाएका र अधिवेशनबाट जिल्ला सचिव बनेका लामाले भने, ‘ढकालले एकलौटी ढंगले जिल्ला कमिटीमा छलफलै नगरी सचिव भएको हल्ला फिँजाए । यसको निसाफ र हिसाबकिताब ९ गते डाकिएको पार्टी बैठकबाट खोजिने छ ।’

जनआस्थाका अनुसार केन्द्रीय राजनीतिमा पहुँच राख्ने भनेर चिनिएका ढकालले नेतालाई खुशी बनाएर सचिव हात पारेको ओलीपक्षकै नेताहरूले बताएका छन् । ढकाल त्यो भेगमा चिनिएका ठेकेदार समेत हुन् । उनको पार्टी महासचिव ईश्वर पोखरेलसँग घनिष्ट सम्बन्ध रहेको बताइन्छ । पोखरेलसँगको सम्बन्धकै कारण कनिष्ठ भए पनि ढकालले सचिव हत्याएको एमाले रसुवाका एक जना नेताले दाबी गरेका छन् ।

उनी भन्छन् ‘एउटै व्यक्तिलाई दुई पटक सांसदको टिकट, केन्द्रीय सदस्य र अहिले सचिवको जिम्मेवारी दिँदा जिल्लाका अरु नेता तथा कार्यकर्ताको मानमर्दनसिवाय केही भएको छैन । झन् आदिवासी जनजातिको निम्ति यो साह्रै दुःखलाग्दो कुरो हो । यो त के को मुखमा कुभिण्डो भनेझैँ भएन र !’

यता, एउटै पार्टीमा तीन जना सचिव देखिएको भन्दै माओवादी केन्द्र रसुवाका एक नेताले सामाजिक सञ्जालमा मिलेर जान सुझाव दिएका छन् । केन्द्रमा दुई जना अध्यक्षको व्यवस्था गर्दा नेकपा विभाजन भएको उदाहरण दिँदै उनले लेखेका छन्, ‘दुई जना अध्यक्ष र दुर्घटना पनि भोगियो । तर,रसुवामा त एउटै पार्टीमा तीनजना सचिव देखियो, दुर्घटनामा नजाओस् शुभकामना !’

प्रकाशित भएको : April 16th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु