नागरिक लगानी कोषबाट ऋण लिएकाले ४ महिनाको ब्याजमा छुट पाउने

 

नागरिक लगानी कोषमा नियमित कोष कट्टी गर्ने सेवाग्राहीले लिएको आवास कर्जा, सरल कर्जा तथा शैक्षिक कर्जाको व्याजमा छुट पाउने भएका छन्।

कोरोनाभाइरसको महामारीले परेको असरलाई मध्यनजर गर्दै कोषले चार महिनाकाे किस्ता समयमै भुक्तानी गर्नेलाई साेकाे ब्याजमा १० प्रतिशत छुट दिने निर्णय गरेको हो।

चैतदेखि असारसम्म बुझाउनुपर्ने किस्ता असार मसान्तसम्म तिरेमा व्याजमा १० प्रतिशत छुट दिइने निर्णय भएकाे काेषका प्रवक्ता उद्धव सिलवालले जानकारी दिए।

‘२०७६ चैतदेखि २०७७ असारसम्मको व्याज असारभित्र बुझाएमा सो अवधिमा पाकेको व्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय भएको हाे’ उनले भने।

कोषको संचालक समितिको बिहीबार बसेको बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको अवस्थालाई मध्यनजर गर्दे सो निर्णय गरेको हो।

त्यसैगरी कोषमा नियमित रुपमा रकम जम्मा गरी कर्मचारी बचत बृद्धि स्वीकृत अवकाश कोष, उपदान कोष तथा लगानीकर्ता हिसाब योजनामा सहभागी भएका सेवाग्राहीलाई कोरोना भाइरसबाट संक्रमित भई मृत्यु भएको प्रमाणित भएमा निजको हकवालालाई क्षतिपूर्ति वापत २ लाख रुपैयाँ प्रदान गर्ने निर्णय पनि भएको छ।

यस्तो बिषम परिस्थितीमा गरिएको निर्णयले सेवाग्रहीलाई सहयोग पुग्ने कोषको भनाइ छ।

यसअघि कर्मचारी सञ्चय कोषले पनि व्याजमा विशेष छुटको घोषणा गरेको छ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुले पनि चैत मसान्तमा तिर्नुपर्ने किस्ता सो अवधिमा तिरेकालाई व्याजमा १० प्रतिशत छुट दिएका छन्। चैतमा तिर्न नसकेको सो किस्ता असारसम्म भुक्तानी गर्ने सुविधा दिइएको छ।

अन्तिम पटक अपडेट गरिएको : April 18th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु