
विराटनगर स्थित कोभिड-१९ विशेष अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामीलाई अब यन्त्र मानव (रोर्बट) ले खानेकुरा पुर्याउने भएको छ ।
विराटनगर महानगरपालिकाले कोरोना विशेष अस्पतालका लागि तयार पारेको उक्त रोवर्टले अस्पताल परिसरमा हानिकारक जिवाणु मार्न औषधि छर्ने काम पनि गर्नेछ ।
मेयर भीम पराजुलीले अस्पतालमा कोरोना संक्रमितलाई राखिएकाले उनीहरूको संसर्गबाट अरुलाई कोरोना संक्रमण नहोस् भनेर रोबर्टको सहायता लिन लागिएको बताए ।

कोभिड-१९ अस्पतालमा अहिले उदयपुरबाट ल्याइएको १३ जना कोरोना संक्रमितलाई राखिएको छ ।
विराटनगर महानगरपालिका संयोजनमा कारखाना नामक संस्थाले पाँच दिन लगाएर यो रोर्बटको विकास गरेको हो ।
पाँच जना युवाको समूहले ५० हजार रुपैयाँको लागतमा रोबर्ट तयार पारेको रोबर्ट तयार पार्ने कामको नेतृत्व गरेका शिरब आर्चायले बताए ।
रोवर्टलाई रिमोट कन्ट्रोलको सहायताले चलाउन सकिन्छ । रोबर्टलाई गुडाउन स्ट्रेचरको पांग्रा जडान गरिएको छ ।
रोबर्टले स्प्रे गर्ने समय आफैँ जानकारी गराउँछ भने ऊ हिँड्ने बाटोमा कुनै अवरोध भए हट्न सूचित पनि गर्छ ।
रोबर्टमा १६ लिटर जिवाणुनासक झोल औषधि राख्न सकिन्छ, यसले चारै दिशातिर गुडेर स्प्रे गर्न सक्छ।
३.५ फिट उचाइ र ४० किलोग्राम वजन भएको रोवर्ट सोमबारदेखि सञ्चालनमा ल्याइने अस्पतालले जनाएको छ ।
आइतबार महानगर कार्यालयमा रोबर्टको सहायताबाट कसरी काम गर्न सकिन्छ भनेर डेमो प्रदर्शन गरिएको थियो ।
महानगरले सोमबार प्रदेश सरकारलाई रोबर्ट हस्तान्तरण गर्ने जनाएको छ ।

भिडियोहरु हेर्नुहोस्
प्रतिकृया दिनुहोस्