मनै रुने कोरोना कहानी : ‘मैले भेन्टिलेटरको स्वीच बन्द गरिदिएँ, ताकि ऊ शान्तिले मर्न सकोस्‘’

 

कोरोना भाइरस (कोभिड–१९) का गम्भीर बिरामीहरुलाई भेन्टिलेटरमा राखेर उपचार गर्न सके उनीहरुलाई बचाउने सम्भावना रहन्छ भेन्टिलेटरको सहायताले उनीहरुलाई मृत्युको मुखबाट जोगाउन सकिन्छ ।

जब बिरामी आफैंमा अक्सिजन लिन असमर्थ हुन्छन्, भेन्टिलेटरको सहयोगमा बिरामीको फोक्सोमा अक्सिजन पुर्‍याउन र कार्बन डाइअक्साइड बाहिर फाल्न सम्भव हुन्छ ।

तर भेन्टिलेटरको सहयोगमा मात्रै कोरोनाका बिरामीलाई बचाउन सम्भव छैन । यही कारण विश्वभरका स्वास्थ्यकर्मीहरु कठोर निर्णय लिन बाध्य छन् । बिरामीको अवस्था राम्रो छैन भने भेन्टिलेटर हटाउन बाध्य छन् ।

लन्डनको रोयल फ्री अस्पतालका इन्टेन्सिभ केयर युनिट (आईसीयू) की प्रमुख नर्स जुआनिता नितलाले बीबीसीलाई भनिन्, ‘भेन्टिलेटरको स्वीच बन्द गर्नु धेरै पीडादायी हुन्छ । कहिलेकाहीँ त कसैको मृत्युको जिम्मेवार म आफैं हुँ भन्ने महसुस हुन्छ ।’

दक्षिण भारतमा जन्मेकी नितला विगत १६ वर्षदेखि इंग्ल्याण्डको नेशनल हेल्थ सर्भिसमा आईसीयू स्पेशलिस्ट नर्सको रूपमा कार्यरत छिन् । ४२ वर्षीया नितलाले भनिन्, ‘भेन्टिलेटरको स्वीच बन्द गर्नु पनि मेरो कामको एक हिस्सा हो ।’

अन्तिम इच्छा

अप्रिलको दोस्रो साता नितला बिहानको सिफ्टमा काम गर्न अस्पताल पुगिन् । आईसीयू रजिष्टरका अनुसार उनले कोभिड–१९ को बिरामीको उपचार रोक्नु पर्ने भयो ।

बिरामी एक सामुदायिक स्वास्थ्य नर्स थिइन् । उनको उमेर ५० बर्ष भन्दा बढी थियो । नितलाले बिरामीकी छोरीलाई यस प्रक्रियाको बारेमा जानकारी गराइन् ।

नितलाले भनिन्, ‘तिम्रो आमालाई कुनै पीडा छैन । उनी आराममा छिन् । मैले उनको आमाको चाहना र धार्मिक विश्वास बारेमा पनि सोधें ।’

आईसीयूमा एक एक गरी बेड राखिएका थियो । नितलाको वरिपरी अन्य गम्भीर बिरामीहरू पनि थिए, जसमध्ये एक जना बिरामी बेहोस अवस्थामा थिए ।

नितलाले भनिन्, ‘नर्सहरू त्यहीं थिए, जहाँ आठवटा बेडहरू थिए । सबै बिरामीहरू गम्भीर नै थिए । मैले पर्दा झारीदिएँ र सबै अलार्म बन्द गरिदिएँ ।

सम्पूर्ण चिकित्सा टोली केही क्षणको लागि चुपचाप बस्यौं । नर्सहरूले पनि एकआपसमा कुराकानी बन्द गर्‍यौं । बिरामीहरुको मर्यादा र सुविधा हाम्रो प्राथमिकता हो ।’

नितलाले त्यसपछि बिरामीको कान नजिकै फोन राखिन् र उनकी छोरीलाई बोल्न भनिन् । यस फोन कलबारे नितलाले भनिन्, ‘मेरो लागि यो केवल फोन कल थियो तर यो परिवारका लागि एकदम महत्वपूर्ण छ । उनीहरू भिडियो कल गर्न चाहन्थे तर दुर्भाग्यवश आईसीयूभित्र मोबाइल फोन बोक्न अनुमति हुँदैन ।’

स्वीच बन्द गर्नुहोस्

बिरामीको परिवारको अनुरोध अनुसार, नितलाले कम्प्युटरबाट विशेष संगीत भिडियो बजाइन् । त्यसपछि भेन्टिलेटर बन्द गर्न स्वीच बन्द गरिन् । ‘म उनको नजिकै बसेर उनको मृत्यु नहुन्जेलसम्म हात समातेरै बसी रहेँ,’ नितलाले भनिन् ।

मेडिकल टीमले धेरै सोचविचार गरेर स्वास फेर्न मद्दत गर्न र उपचार रोक्न यस्तो निर्णय लिने गर्छ ।

यसमा उमेर, बिरामीको स्वास्थ्य स्थिति, उपचारको प्रभाव र सुधारको आशालाई ध्यानमा राखिन्छ । नितलाको भेन्टिलेटरको स्वीच बन्द गरेको ५ मिनेटभित्र बिरामीको मृत्यु भएको थियो । नितलाले भनिन्, ‘मैले मनिटरमा चम्किरहेको प्रकाश देखिरहेको थिएँ, मुटुको गति शून्य भएपछि पर्दाको स्क्रिनमा सिधा रेखा देखा पर्न थाल्यो ।’


एक्लोपनमा मर्नू

नितलाले त्यसपछि औषधि सप्लाई गर्ने ट्यूबहरू शरीरबाट निकालिन् । बिरामीकी छोरी, फोनमा लगातार कुरा गरिरहेकी थिइन् । उनी फोनमा प्रार्थना गरिरहेकी थिइन् । आफ्नो हृदय भारी बनाउँदै नितलाले ह्यान्डसेट उठाएर बिरामीकी छोरीलाई सबै कुरा सकिएको बताइन् ।

तर नर्स नितलाको कर्तव्य बिरामीको मृत्युपछि पनि अन्त्य हुँदैन । उनले भनिन्, ‘एक सहकर्मीसँगै मैले उनलाई ओछ्यानमै नुहाइदिएँ र सेतो कफनले शरीर बेरिदिएँ । त्यसपछि उनको शवलाई ठूलो ब्यागमा राखिदिएँ । ब्याग बन्द गर्नु अघि मैले उनको निधारमा क्रस चिन्ह बनाइदिएँ ।’

कोरोना भाइरस भन्दा पहिले, उपचार रोक्नका लागि बिरामीका आफन्तहरुसँग आमनेसामने कुरा गरिन्थ्यो । लाइफ सपोर्ट सिस्टमको बन्द गर्नु अघि बिरामीका नजिकका आफन्तलाई पनि आईसीयूमा प्रवेश गर्न अनुमति दिइन्थ्यो । तर यो संसारको धेरैजसो भागहरूमा यस्तो भइरहेको छैन ।
नितलाले त्यस्ता बिरामीहरूलाई हेर्ने गर्छिन्, उनीहरूलाई यो संक्रमणबाट मुक्त हुन मद्दत गर्ने प्रयास पनि गर्छिन् । उनी भन्छिन्, ‘कोही पनि यस्तो एक्लोपनमा मरेको देख्नु दुःखद् कुरा हो ।’

नितलाले विरामीहरुले गरिरहेको संघर्ष र स्वास फेर्न तड्पिरहेकाहरुको उपचारमा संलग्न हुन्छिन्, जुनकुरा धेरै तनावपूर्ण हो ।

अस्पतालमा बेड अभाव

बिरामीको संख्या बढेको कारण अस्पतालको ३४ बेडको आईसीयू कक्षलाई ६० बेड बनाइएको छ । सबै आईसीयू बेडमा बिरामीहरु छन् ।

आईसीयू कक्षमा बिरामीहरूको हेरचाह गर्न १७५ जना नर्सहरु दिन र रात खटिने गरेका छन् । नितला भन्छिन्, ‘हामी सामान्यतया आईसीयू कक्षमा एक बिरामीका लागि एक नर्स राख्ने गर्छौं । तर अब औसतमा प्रत्येक तीन बिरामीमा एक जना नर्स छन । अवस्था झन् झन् खराब हुँदै जाँदा ६ जना बिरामीका लागि एक जना नर्स खटाउनु पर्नेछ ।’

नितलाको टोलीका केही नर्सहरूमा कोरोनाका लक्षणहरू देखा परेको छ, जसका कारण उनीहरुलाई सेल्फ क्वारेन्टाइनमा पठाइएका छन् ।

अस्पतालले अन्य नर्सहरूलाई पनि आईसीयू कक्षमा काम गर्नका लागि प्रशिक्षण दिन थालेको छ ।

नितला भन्छिन्, ‘सिफ्ट सुरु हुनुभन्दा अघि हामीहरु हात मिलाउँछौं र एक अर्कालाई सुरक्षित रहन भन्छौं । हामीहरु एक अर्कालाई ख्याल राख्छौं । हामी सबैलाई पन्जा, मास्क र सुरक्षात्मक गियर सही तरिकाले प्रयोग गर्छौं ।’

अस्पतालमा भेन्टिलेटर, इन्फ्यूजन पम्प, अक्सिजन सिलिन्डर र धेरै औषधिहरूको अभाव छ तर सम्पूर्ण टोलीको लागि पर्सनल प्रोटेक्ट इक्विपमेन्ट (पीपीई) किटहरू उपलब्ध छन् ।

नितलाले काम गर्ने आईसीयू कक्षमा प्रत्येक दिन एक जना मानिस मर्ने गरेका छन् । कोरोना संक्रमण अघि यस्तो अवस्था थिएन । नितला भन्छिन्, ‘यो साहस तोडनु जस्तै हो ।’

नर्सहरुको हेड भएका कारण नितलाले कहिलेकाँही आफ्ना डरलाई दबाउने पनि गरेकी छिन् । नितलाले भनिन्, ‘मैले नराम्रोे सपना पनि देख्ने गरेको छु । म सुत्नै सक्दिन । म आफैं संक्रमित भएँ की भनेर चिन्ता लाग्ने गर्छ । म साथीहरूसँग यसबारे कुरा गर्छु, तर सबै डराउँछन् ।’

गत वर्ष टीबी रोगका कारण नितला धेरै महिना कामबाट टाढा रहीन् । उनीलाई थाहा छ उनको फोक्सोको क्षमता पहिलो जस्तो छैन ।

नितलाले भनिन्, ‘मैले काम गर्नु हुँदैन, मानिसहरू भन्छन् । तर महामारीको अवस्था छ । म सबै छोडेर आफ्नो काम गरिरहेकोछु । आफ्नो सीफ्ट पूरा भएपछि म बिरामीहरूको बारेमा सोच्ने गर्दछु ।

जसको मृत्यु आफूले हेरचाह गरेको समयमा भएको थियो । तर अस्पतालबाट बाहिर निस्किएपछि, म यी सबै कुराहरु भुल्ने प्रयास गर्दछु ।’

स्रोत : बीबीसी हिन्दी

भिडियोहरु हेर्नुहोस्

प्रकाशित भएको : April 19th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु