नेपालमा कोरोना भाइरस कम देखिनुका पाँच सम्भावित कारण

 

विश्वमा कोरोना भाइरसको महामारी अत्यधिक रुपमा फैलिरहेको बेला नेपालमा सङ्क्रमण भएको पुष्टि भएका व्यक्तिको सङ्ख्या निकै न्यून छ।

सरकारले देशका विभिन्न स्थानमा परीक्षण विस्तार गरेपछि क्रमश : सङ्क्रमितको सङ्ख्या बढ्न थालेको देखिन्छ।

पुष्टि भएका सङ्क्रमितमध्ये केही निको भइसकेका छन् भने अन्यको विभिन्न स्थानमा आइसोलेशनमा उपचार भइरहेको छ ।

सङ्क्रमण भएको आशङ्का भएका तर प्रयोगशालाबाट परीक्षणको परिणामा नआएका केही मानिसहरू पनि आइसोलेशनमा छन्। नेपालमा भेटिएका सङ्क्रमितमध्ये अधिकांश व्यक्ति विदेशबाट आएका छन्।

नेपालको स्वास्थ्य सेवाको अवस्था र सुरुमै नेपालले विदेशबाट आउने नागरिक तथा विदेशीहरूलाई क्वारन्टाइनमा नराखेका नेपालमा अरू व्यक्ति पनि सङ्क्रमित भएको हुन सक्ने केही जनस्वास्थ्यविज्ञ र टिप्पणीकारको आशङ्का छ।

नेपालमा कोरोनाभाइरस सङ्क्रमण धेरै नदेखिनुमा विभिन्न कारण हुनसक्ने चिकित्सक तथा जनस्वास्थ्यविज्ञहरू बताउँछन्।

विज्ञहरूले देखेका पाँच सम्भावित कारणहरू यस्ता छन् ।

१. परीक्षण नै नहुनु

कतिपय चिकित्सकहरूले नेपालमा परीक्षण नै कम भएका कारण सङ्क्रमितको सङ्ख्या कम देखिएको बताएका छन्।

जति परीक्षण भएको छ त्यसको आधारमा नेपालमा कोरोनाभाइरस धेरै फैलिएको छैन भन्न सकिँदैन।

स्वास्थ मन्त्रालयकाअनुसार वैशाख ६ गते शनिवारसम्म कुल ८,०१७ वटा नमुनाको परीक्षण गरिएको छ।

त्यसमध्ये ३१ वटामा मात्र सङ्क्रमण देखियो। केही नमुनाको प्रयोगशालाबाट परिणाम आउन बाँकी छ।

अहिलेसम्मको तथ्याङ्कका आधारमा परीक्षण गरिएकामध्ये एक प्रतिशतभन्दा कममा सङ्क्रमण भएको पुष्टि भएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्वप्रमुख डा. बाबुराम मरासिनी नेपालमा परीक्षणको गति र सङ्ख्या बढाउनुपर्ने बताउँछन्।

उनी भन्छन्, ’यो कुरा त हामीले सुरुदेखि नै भनिरहेका छौँ। विशेषगरी ज्यानुअरीदेखि नेपालमा धेरै पर्यटकहरू आए त्यसबेला नै नेपालमा धेरैमा सङ्क्रमण भएको हुनसक्छ।’

‘नेपाल जर्नल अफ एपिडीमीओलजी’मा हालै प्रकाशित एउटा लेखमा पनि नेपालमा परीक्षण नै कम भएको उल्लेख गरिएको छ।

नेपाली र विदेशी गरी ६ चिकित्सकले लेखेको उक्त लेखमा परीक्षणको अभावमा थोरै मानिसहरूको मात्र सङ्क्रमण पत्ता लागेको हुन सक्ने उल्लेख छ।

यसरी परीक्षण काठमाण्डौँ केन्द्रित हुनु, परीक्षण गर्ने किट र उपकरणको अभाव र चिकित्सकहरूले नमुना लिन नमान्नु आदि कारण भएको केही सरकारी चिकित्सकहरू बताउछन् ।

तर सरकारले केही दिनअघिदेखि काठमाण्डौँ बाहिर पनि परीक्षण सेवा विस्तार गरेको छ भने तीव्र रूपमा परीक्षण गर्ने जनाएको छ।

एक चिकित्सकले भने, सुदूरपश्चिममा भेटिएका सङ्क्रमितहरूको स्वाब लिनका लागि त्यहाँका चिकित्सकले नमानेपछि नेपाली सेनाका चिकित्सक लिइएको थियो।

अझै पनि चिकित्सकहरू नमुना लिन तत्पर छैनन्। त्यसैले नमुना सङ्कलन र परीक्षण बढाउने भनेर मात्र हुँदैन।

२. नेपालीको जीवनशैली

कतिपय चिकित्सकहरूले नेपालीको जीवनशैलीका कारण पनि कोरोनाभाइरसको सङ्क्रमण धेरै नफैलिएको हुन सक्ने तर्क गरेका छन्। तर यसबारे विस्तृत अध्ययन नभई ठोकुवा गर्न भने सकिँदैन।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल अनुसन्धान एकाइका प्रमुख डा. शेरबहादुर पुन पनि नेपाली जीवनशैलीका कारण कम सङ्क्रमण भएको हुन सक्ने ठान्छन्।

उनले विभिन्न पत्रपत्रिकामा आलेख नै प्रकाशित गरेर नेपाली जीवनशैलीको प्रभावले कोरोनाभाइरस फैलिने सञ्जाल भत्किएको टिप्पणी गरेका छन्।

उनले नेपालमा विगतमा सार्स र स्वाइन फ्लूको सङ्क्रमण पनि अन्यत्रजस्तो नदेखिएको स्मरण गर्दै अन्यत्रको तुलनामा भारतमा पनि सङ्क्रमण फैलिने दर कम भएको बताए।

पुनले भने, ’हाम्रो खानपान र जीवनशैलीले कोरोनाभाइरस फैलिने साङ्लोलाई कतै न कतै चुँडाइरहेको छ भन्ने एउटा दरिलो तर्क हो’।

३. नेपालीको प्रतिरक्षा प्रणाली बलियो हुनु

नेपालीहरूमा रहेको औसत प्रतिरक्षा प्रणाली अन्यको तुलनामा फरक भएकाले पनि कोरोनाभाइरस सङ्क्रमण कम भएको हुन सक्ने विज्ञहरू बताउँछन्।

नेपालीहरूको प्रतिरक्षा प्रणालीका कारण सामान्य लक्षणहरू मात्र देखिँदा धेरै अस्पतालसम्म नपुगेका हुन सक्छन्। डा. मरासिनी भन्छन्, ’कतिपय रोगसँग लड्ने क्षमता जातिअनुसार फरक हुने गर्छ ।

त्यसबारे धेरै अध्ययन अनुसन्धान पनि भएका छन्। अमेरिकामा पनि गोरा र काला जातिबीच कुनै एउटा रोगसँग लड्ने क्षमता कम र बढी पाइएको छ।’

थाईल्यान्डमा दादुरालाई खासै ठूलो रोगै मानिँदैन। त्यहाँका मानिसहरूले त्यसलाई पचाएको जस्तो देखिन्छ। तर हाम्रोमै दादुरा निकै घातक पनि भएको छ।

तर यसमा नेपालीहरूको प्रतिरक्षा प्रणालीले कति भूमिका खेलेको छ भन्ने अनुसन्धानकै विषय भएको उनले बताए।

४. बीसीजी खोपको प्रभाव

क्षयरोगबाट बच्नका लागि बीसीजी खोप दिने गरिन्छ। कोरोनाभाइरस सङ्क्रमण फैलिएपछि अहिले उक्त खोपलाई लिएर विश्वभरि नै बहस चलिरहेको छ।

नेपालमा पनि बालबालिकाहरूलाई यो खोप अनिवार्य रूपमा लगाइदिने गरिन्छ।

त्यसले गर्दा पनि नेपालमा सङ्क्रमण कम फैलिएको र सङ्क्रमितहरूलाई पनि उक्त खोपको प्रभावका कारण सामान्य लक्षणहरू मात्र देखिएको हुनसक्ने विज्ञहरूको भनाइ छ।

युरोप र अमेरिकामा यो मात्र नभई अन्य खोपहरू पनि लगाउने चलन कम छ। नेपालमा भने हामीले अनिवार्य नै खोप लगाउँछौँ। त्यसको प्रभाव पनि हुनसक्छ।

५. भाइरस फैलाउने पूर्वाधार नै कम हुनु

विशेषगरी कम विकसित देशमा कोरोनाभाइरसको सङ्क्रमण निकै कम देखिनुको अर्को कारण भनेको भाइरस फैलाउन सहयोग गर्ने खालका सहरी पूर्वाधारकै कमी हुन सक्ने पनि चिकित्सकहरूको तर्क छ।

विकसित देशमा जमिनमुनि सब-वे र मेट्रो रेलजस्ता यातायातका संरचनाहरू रहेका छन्। त्यस्ता पूर्वधार भारतका महानगरहरूमा पनि छन्।

नियमित सफा राखिए पनि त्यस्ता संरचनामा मानिसहरूको भिडभाड भइरहने गर्छ। त्यहाँ कृत्रिम रूपमा तापक्रम त मिलाइएको हुन्छ तर घामको प्रकाश कहिल्यै पर्दैन। भाइरस त्यस्ता स्थानमा लामो समय टिक्छ भन्ने त प्रमाणित भइसकेकै कुरा हो। नेपालमा भने त्यस्ता संरचना नै छैन ।

नेपालमा प्राय यातायातका साधनहरूमा भिडभाड भए पनि घामको प्रकाशमै हिँड्ने खालका रहेको र सार्वजनिक यातायातमा विदेशीहरू चढ्दै नचढ्ने गरेकाले सङ्क्रमण कम भएको हुन सक्ने उनको तर्क छ।

युरोप – अमेरिकातिर हेर्दा चिटिक्क तर पानीको खासै प्रयोग नहुने खालका शौचालयहरू पनि प्रयोगमा हुने गर्छन्।

त्यसले पनि सङ्क्रमण फैलाउन भूमिका खेलेको हुन सक्छ। हाम्रोमा त चिटिक्क नभए पनि शौचालयमा पानी अनिवार्य चाहिन्छ।

सङ्क्रमण फैलाउन भाइरसलाई कति बेरसम्म बचाएर राख्न सक्ने खालका पूर्वाधार छन् भन्नेले पनि भूमिका खेल्ने उनको दाबी छ।

बीबीसी

भिडियोहरु हेर्नुहोस्

प्रकाशित भएको : April 19th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु