प्रधानमन्त्रीको निर्णयमा प्रदीप ज्ञवाली पनि असहमत

 

नेकपाको आन्तरिक शक्ति–सन्तुलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सुरुदेखि नै प्रधानमन्त्री केपी ओलीका निकट नेता मानिन्छन् ।

तर, सोमबार मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीले ल्याएको अध्यादेशमा मन्त्री ज्ञवालीले समर्थन जनाएनन् ।

पूर्वमाओवादी समूहका मन्त्री वर्षमान पुन र माधव नेपाल निकट मन्त्री घनश्याम भुसालले असहमति जनाउनु अनौठो होइन ।

तर, ओली समूहकै नेताले प्रधानमन्त्रीको निर्णयलाई असान्दर्भिक बताउनुचाहिँ निकै नै गम्भीर विषय हो ।

नेकपाको उच्च स्रोतका अनुसार सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले ल्याएको दल त्यागसम्बन्धी ऐन संशोधनसम्बन्धी अध्यादेशमा मन्त्री ज्ञवाली, भुसाल र पुनले असान्दर्भिक भएको भन्दै असहमति जनाएका थिए ।

ओली समूहका नेता ज्ञवालीले अहिलेको अवस्थामा यस्तो अध्यादेश ल्याउनुको औचित्य पुष्टि नहुने बैठकमा बताएका थिए ।

तर प्रधानमन्त्रीले अरुको त कुरा सुनेनन्, आफ्नै समूहका मन्त्री पनि सुझावलाई वास्ता गरेनन् ।

बैठकमा पूर्वएमाले समूहकै अर्का मन्त्री घनश्याम भुसालले पनि अध्यादेशको विरोध गरे ।

प्रधानमन्त्री ओलीले दल त्यागसम्बन्धी अध्यादेश अहिले ल्याए पनि नेकपाका लागि नभएको र यसबारे पछि संसदमा बहस हुन सक्ने बताएका थिए ।

मन्त्री भुसालले जसका लागि खने पनि यो बाटोले भड्खालोमा पुर्‍याउँछ भन्दै आपत्ति जनाएका थिए ।

पूर्वमाओवादी खेमाका मन्त्री वर्षमान पुनले प्रधानमन्त्रीले ल्याएको अध्यादेशमा आफ्नो समर्थन नरहेको बताएका थिए ।

शंकर पोखरेलको बचाउ

उता, प्रदेश ५ का मुख्यमन्त्रीसमेत रहेका नेकपा नेता शंकर पोखरेलले भने प्रधानमन्त्रीको निर्णयको बचाऊ गरेका छन् ।

सरकारले ऐन ल्याउँदैमा पार्टी फुट्दैन भन्दै उनले अनुशासित र जिम्मेवार बन्नुपर्ने बताएका छन् ।

मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ऐनले पार्टी फुट्ने नि होइन, ऐनले पार्टी जुट्ने पनि होइन ।

४० प्रतिशतको प्रावधान लोकतान्त्रिक विशेषता नै हो । अनुशासित बनौं, जिम्मेवार बनौं।’

मुख्यमन्त्री पोखरेल अहिले किन यस्तो अध्यादेश ल्याउन जरुरी थियो भन्ने विषयमा चाहिँ मौन देखिएका छन् ।

अनलाइनखबर

प्रकाशित भएको : April 20th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु