राहत वितरणमा कालोबजारी गरेको अभियाेगमा नगर प्रमुख र वडाध्यक्षसहित ९ जना पक्राउ

 

राहत वितरणमा कालोबजारी गरेको अभियाेगमा प्रहरीले कलैया उप-महानगरपालिकाका नगर प्रमुख र पाँच जना वडाध्यक्षसहित नौ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

कोरोना महामारीबाट बच्न सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका घर-परिवारलाई उप-महानगरपालिकाले वितरण गरेको दाल अखाद्य भएको प्रमाणित भएपछि प्रहरीले त्यसमा संलग्न रहेको आरोपमा नगर प्रमुख राजेश राय यादवसहित वडाध्यक्षहरुलाई पक्राउ गरेकाे हो ।

प्रहरीले नगर प्रमुख यादवलाई बयानका लागि बोलाएर पक्राउ गरेकाे हो ।

प्रहरीले कलैया उपमहानगरपालिका १ का वडाध्यक्ष हरिओम साह सोनार, वडा नम्बर ७ का वडाध्यक्ष सर्फुल्लाह अन्सारी, वडा नम्बर ११ का वडाध्यक्ष सर्वनारायण चौधरी, वडा नम्बर १३ का वडाध्यक्ष राजन पटेल र वडा नम्बर २६ का वडाध्यक्ष महेश यादवलाई यसअघि नै पक्राउ गरिएकाे छ ।

राहत वितरणमा अखाद्य सामग्री वितरण गरिएको पाइएको र त्यसमा नगर प्रमुखसहित केही वडाध्यक्षको संलग्नता देखिएकाले पक्राउ गरिएकाे प्रहरी उपरीक्षक (एसपी) कृष्ण पंगेनीले बताउनुभयो ।

प्रहरीले उनीहरुविरुद्ध कालोबजारी ऐन अन्तर्गतको मुद्दामा कारबाहीको प्रक्रिया अगाडि बढाएको हो । प्रहरीले वीरगञ्जमा रहेको धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण शर्मालाई पनि पक्राउ गरिसकेको छ ।

कलैया उपमहानगरपालिका ७ को यादव कोल्ड स्टोरमा भण्डार गरी राखिएको अखाद्य दाल विभिन्न वडा कार्यालयले खरिद गरी राहत वितरण गरेका थिए ।

गएको चैत्र २७ गते प्रहरीले कलैया उपमहानगरपालिका २० बाट अखाद्य दाल बरामद गरी अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले कोल्ड स्टोरका प्रवन्धक कृष्ण यादव, कलैया उपमहानगरपालिका १० का वडा सचिव खेदु मियाँलाई पनि पक्राउ गरिएकाे छ ।

कलैया उपमहानगरपालिकाको कार्यपालिका बैठकले राहत वितरणको अधिकार वडा कार्यालयलाई दिएको थियो ।

प्रहरीले नियन्त्रणमा लिएका केही वडाध्यक्षको बयानका आधारमा नगर प्रमुख यादवलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक पंगेनीले बताउनुभयो ।

नेपाली कांग्रेसले भने नगर प्रमुख यादवलाई सुनियोजित ढङ्गले स्थानीय प्रहरी प्रशासनले फसाएको आरोप लगाएको छ ।

नेपाली कांग्रेसका सभापति जयचन्द्र चौरसिया नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारीलाई भेटेर वडा कार्यालयले खरिद गरेको काममा नगर प्रमुखलाई सुनियोजित ढङ्गले फसाउन खोजिएकोले बिना शर्त रिहाइ गर्न माग गरेको हो ।

केही राजनीतिक दलको दबावमा आएर कलैया उप-महानगरपालिकाका नगर प्रमुख यादवलाई गर्दै नगरेको काममा फसाउन खोजिएको नेपाली कांग्रेसको दाबी छ ।

भिडियोहरु हेर्नुहोस्

प्रकाशित भएको : April 21st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु