तेलको मूल्य शुन्यभन्दा पनि कम, नेपाललाई फाइदा कि बेफाईदा ?

 

काठमाडौं । सोमबार विश्व तेल बजारमा कच्चा चेलको मूल्यमा नाटकीय रुपमा गिरावट आयो ।

सो दिन अअमेरिकाको वेस्ट टेक्सस इन्टरमिडियट (डब्लुटीआई) मा कच्चा तेलको मूल्य ऐतिहासिक गिरावट आएर मूल्य शुन्य डलर भन्दा पनि तल झरेको हो ।

तर, बजारमा तेलको मूल्य नकारात्मक हुनुको अर्थ तेल लिनेलाई तेलसँगै पैसा दिएर पठाउने भन्ने चाहिँ होइन ।

न त यसको अर्थ तपाईं हामीले नै भोलिदेखि तेल निःशुल्क प्राप्त गर्न सक्छौं भन्ने हो । यद्यपि, यो मूल्यले विश्वकै खुद्रा मूल्यलाई असर पार्छ ।

सोमबार अमेरिकी बजारबाट कच्चा तेलको कारोबार गर्ने रिफाइनरी उद्योगहरुको मौज्दात ज्यादै उच्च विन्दुमा पुग्यो ।

विश्वभरी नै घोषणा गरिएको ‘स्टे एट होम’ अर्डरका कारण खुद्रा बजारमा तेलको बिक्रीसँगै मागमा निकै गिरावट आएको थियो ।

त्यसैदे खुद्रा बजारमा बिक्री गर्ने बिक्रेताले तेलको माग गर्न छाडे ।

बजारबाट माग नआएकै कारण रिफाइनरी उद्योगले पेट्रोलियम पदार्थको रिफाइन गर्न समेत छाडे ।

ती उद्योगहरुको मौज्दात पनि अहिले पूर्ण क्षमतामा भरिएर बसेको छ ।

सोमबार तेल उत्पादक कम्पनीले तेलको कच्चा तेल बिक्रीमा राखे ।

तर, कुनै पनि रिफाइनरी उद्योगहरु यसलाई किन्न तयार भएनन् ।

त्यो मूल्य नकारात्मक हुँदै रुपमा –३७.६३ डलर विन्दुसम्म पुग्यो ।

तर त्यति मूल्यमा समेत किन्न कोही तयार भएनन् । त्यसैले यो कुनै वास्तविक कारोबार मूल्य नभएर सौदाबाजी मूल्य मात्रै हो ।

तर, मंगलबार भने तेलको मूल्य सकारात्मक भएको छ ।

तेलको मूल्यमा ऐतिहासिक गिरावटसँगै रिफाइनरी उद्योगहरुले रिफाइन केही बढाएको र खुद्रा बजारले समेत तेलको माग बढाएका कारण तेल उद्योगबाट प्रशोधन कम्पनीहरुले केही मात्रामा भए पनि तेल उठाउन तयार भएका छन् ।

नेपाललाई छैन फाइदा

तर अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा यति ठूलो गिरावट आए पनि नेपाललाई भने खासै फाइदा छैन ।

त्यसको दुईवटा कारण छ । पहिलो कारण हो बजार र दोस्रो कारण हो नेपालको स्टक क्षमता ।

नेपाल आफैंले विश्व बजारबाट तेलको माग गर्दैन । न त नेपालको आफ्नै रिफाइनरी उद्योग नै छ ।

नेपालले लामो समयदेखि भारतीय आयल कर्पाेरेसनबाट तेल लिँदै आएको छ । यसैले भारतले पठाएको मूल्यसूची नै नेपालको तेलको मूल्यलाई प्रभाव पार्ने पहिलो आधार हो ।

भारतले प्रत्येक १५ दिनमा त्यस्तो मूल्य समायोजन गर्छ । त्यसैले नेपालले त्यसको उच्च लाभ प्राप्त गर्न सकिरहेको छैन ।

यद्यपि भारतले विश्व बजारबाटै तेल आयात गर्ने भएकोले यसको अप्रत्यक्ष प्रभाव भने रहन्छ । तर भारतले तेलको कारोबार गर्ने बजार डब्लूटीआई होइन, ब्रेन्ट हो ।

ब्रेन्ट बेलायती बजार हो भने डब्लुटीआई अमेरिकी बजार हो । ब्रेन्टमा तेलको मूल्य डब्लुटीआई जस्तो नकारात्मक छैन ।

यो बजारमा तेलको मूल्य अहिले पनि प्रतिब्यारेल २० डलर भन्दा बढीको मूल्यमा कारोबार भइरहेको छ ।

दोस्रो, विश्वमा तेलको मूल्यमा उच्च गिरावट आउँदा नेपालले ठूलो मात्रामा तेल किनेर स्टक गर्न सक्थ्यो ।

तर नेपालसँग त्यसको लागि क्षमता छैन । सामान्य अवस्थामा अहिले नेपाल आयल निगमसँग करिब १ महिनालाई धान्ने पेट्रोलियम पदार्थ छ ।

खाना पकाउने ग्यास भने भान्सामा रहने बाहेक २ दिनको बिक्रीका लागि मात्रै पर्याप्त छ । तर अहिले लकडाउनका कारण पेट्रोलियमको खपत निकै कम छ ।

आयल निगमले कम्तीमा ३ महिनाको माग धान्नसक्ने स्टोरेज क्षमता बनाउनेगरि अघि बढेको छ ।

तर त्यो पूरा हुन नसक्दा विश्व बजारको मूल्य गिरावटबाट नेपालले फाइदा लिन सकिरहेको छैन ।

भिडियोहरु हेर्नुहोस्

प्रकाशित भएको : April 21st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु