अध्यादेश पास पछि पहिलो पटक मुख खोले नेकपाका दुई अध्यक्षले , यस्तो छ विज्ञप्ति

 

नेकपाको आन्तरिक एकता सुदृढ तुल्याइन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ तुल्याइने बताएका छन् ।

नेकपा स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा वक्तव्य जारी गर्दै ओलीले यो दिवसले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ तुल्याउन र विगत दुई वर्षदेखि जारी एकता प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्याउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

उनले बितेका यी वर्षमा नेकपाले निरन्तर रुपमा जनतालाई जागृत र संगठित गर्दै आएको तथा अनेकन् आरोह–अवरोह र हण्डर–ठक्करको सामना गर्दै संघर्षको नेतृत्व गरिरहेको स्मरण गरेका छन् ।

अप्रिल २२ (वैशाख १० गते), ७१ वर्ष पहिले आजकै दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो ।

आजकै दिन विश्वमा परिवर्तनको नेतृत्व गर्ने ऐतिहासिक व्यक्तित्व भी.आई. लेनिनको जन्म भएको थियो ।

नेपालमा २००६ साल वैशाख १० गते पुष्पलालको नेतृत्वमा नेकपाको स्थापना भएको थियो भने वर्तमान सत्ताारुढ नेकपाको गत २०७५ जेठ ३ गते एकता भएको थियो ।

‘सात दशकको अवधिमा लेनिनले स्थापना गरेको सोभियत संघ विघटन भयो तर लेनिनवादी सिद्धान्तको आलोकमा हुर्किएको हाम्रो नेकपा, स्थापनाको सात दशकभित्रै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी शासनको सर्वोच्च स्थानमा नेपाली जनताको अधिकार स्थापित र संस्थागत गर्ने ऐतिहासिक दायित्वको नेतृत्व गर्ने तहमा पुग्यो,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘पार्टीमा हुर्किएको गुटबन्दी, विभाजन र अराजकतामाथि बिराम लगाउँदै एकता, पुनर्गठन र सुदृढ एकताको महान अभियानलाई अघि बढायो ।’

सिद्धान्तको अन्धानुकरण र यान्त्रिक प्रयोगको सट्टा सिर्जनात्मक प्रयोग मार्फत मौलिक एवम् सही विचारको विकास र अवलम्बन गर्दै सामन्ती, प्रतिगामी, निरंकुश र जनविरोधी शक्तिसँग जुधेर नै नेपाली कम्युनिष्ट आन्दोलनले आजको उचाइ हासिल गरेको ओलीको भनाइ छ ।

कम्युनिष्ट पार्टीले लोकप्रिय मतमार्फत दुई तिहाईभन्दा बढी स्थानमा विजय हासिल गरी मुलुकको प्रमुख र निर्णायक शक्तिका हैसियतमा शासन संचालनको नेतृत्व गर्ने भूमिका पाउनु असाधारण उपलब्धि भएको उल्लेख गर्दै ओलीले पार्टी स्थापनाको यस अवसरमा संस्थापक सदस्यका साथै अग्रणी विचारकप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।

देशी–विदेशी शक्ति नेकपालाई कमजोर पार्ने प्रयत्नमा : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेको बताएका छन् ।

उनले पार्टीलाई अझ सुदृढ गर्न आ–आफ्नो ठाउँमा सकारात्मक पहल गर्न नेकपाका सम्पूर्ण नेता–कार्यकर्तालाई अपील समेत गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ७१ औं स्थापना दिवसको अवसरमा प्रेस वक्तव्य जारी गर्दै प्रचण्डले प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार भएको बताएका छन् ।

‘ऐतिहासिक पार्टी एकतापछि देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेका छन् ।

प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार हो,’ प्रचण्डले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

नेकपा स्थापनाको ऐतिहासिक अवसरमा पार्टी एकताको महत्वलाई बुझ्न र पार्टीलाई अझ सुदृढ गर्न आ–आफ्नो ठाउँमा सकारात्मक पहलका लागि प्रचण्डले सम्पूर्ण नेता–कार्यकर्ताहरुलाई अपील गरेका छन्

प्रचण्डले भनेका छन्, ‘पार्टीभित्र खुला र जनवादी छलफल गरी तथ्यद्वारा सत्यको अन्वेषण गर्ने विधिमार्फत् पार्टी एकतालाई थप सुदृढ बनाउन सकिन्छ ।

यस दिशामा सकारात्मक र रचनात्मक योगदानका लागि पनि सम्पूर्ण नेता–कार्यकर्तालाई अपील गर्दछु ।’

सामन्तवाद र साम्राज्यवादका विरुद्ध जनवादी क्रान्तिको पूर्णतामार्फत् समाजवाद एवं साम्यवादसम्म पुग्ने महान् लक्ष्यसहित २२ अप्रिल, १९४९ मा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो ।

७१ वर्ष लामो राजनीतिक संघर्षका दौरान कम्युनिष्ट आन्दोलनले नेपाली राजनीतिलाई गुणात्मक दिशानिर्देश मात्र नगरेको बरु विश्व कम्युनिष्ट आन्दोलनलाई नै नयाँ र मौलिक सन्देश पनि दिएको प्रचण्डले उल्लेख गरेका छन् ।

कठोर संघर्षकै बलमा संघीय गणतन्त्रात्मक शासन प्रणाली, समावेशी लोकतन्त्र, समाजवादउन्मूख संविधान, सामाजिक न्याय लगायतका महत्वपूर्ण उपलब्धीहरु हासिल भएका प्रचण्डको भनाइ छ ।

‘प्राप्त उपलब्धीलाई संस्थागत गर्दै समाजवादी क्रान्तिको तयारीका लागि गरिएको ऐतिहासिक पार्टी एकताले हामीलाई लक्ष्यप्रति समर्पित हुन थप प्रेरणा र ऊर्जा दिएको छ,’ प्रचण्डले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘ यस ऐतिहासिक अवसरमा पार्टी एकताको महत्वलाई बुझ्न र पार्टीलाई अझ सुदृढ गर्न आ–आफ्नो ठाउँमा सकारात्मक पहल गर्न म नेकपाका सम्पूर्ण नेता–कार्यकर्तालाई अपील गर्दछु ।’

विश्वव्यापी महामारीका रुपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) मानव जातिकै लागि नयाँ चुनौतीका रुपमा उभिएको भन्दै प्रचण्डले सरकारको प्रयाससँग सहकार्य गरी विज्ञहरुले सुझाएका सुरक्षाका उपायहरुलाई दृढतापूर्वक अवलम्बन गर्दै कोभिड–१९ विरुद्ध एकतावद्व संघर्षमा होमिन नेकपाका सम्पूर्ण नेता–कार्यकर्ता, शुभेच्छुक र जनसमुदायमा अपील गरेका छन् ।

सशस्त्र र शान्तिपूर्ण आन्दोलनहरुमा आफ्नो जीवन उत्सर्ग गर्ने शहीदहरुप्रति श्रद्धाञ्जली तथा बेपत्ता र घाइते योद्धाहरुप्रति सम्मान व्यक्त गर्दै प्रचण्डले नेकपाको ७१ औं स्थापना दिवसका सन्दर्भमा सम्पूर्ण सर्वहारा÷श्रमजीवी वर्ग र आम जनसमुदायमा शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित भएको : April 22nd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु