
दक्षिण अमेरिकी महादेशको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता कोपा अमेरिकामा शनिबार बिहान दुई सर्वाधिक सफल टोली उरुग्वे र अर्जेन्टिना आमने सामने हुँदै छन्।
समूहगत चरणको आ-आफ्नो दोस्रो खेलमा यी दुई टोली भिड्न लागेका हुन्। पहिलो खेलमा अर्जेन्टिना चिलीसँग १-१ गोलको बराबरीमा रोकिएको थियो भने उरुग्वेले भेनेजुएलासँग गोलरहित बराबरी खेलेको थियो।
प्रतियोगितामा उरुग्वे सर्वाधिक १५ पटकको विजेता हो। १४ पटक जितेको अर्जेन्टिना, उरुग्वेपछि सर्वाधिक सफल टोली हो।
अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिना १४ खेलयता अपराजित रहेको छ। यसबीचमा उसले सात जित र ७ बराबरीको नतिजा निकालेको छ। तर पछिल्ला लगातार तीनवटा खेल बराबरी खेलेको छ। यी खेलमा उसले पहिलो हाफमै गोल गरेर पनि अंक बाँड्न पुगेको थियो।
सन् २०१९ को कोपा अमेरिकाको सेमिफाइनलमा ब्राजिलसँग २-० गोलको हार व्यहाेरेयता अर्जेन्टिनाले खेलेका कुनै पनि खेलमा हार व्यहाेरेको छैन।
अर्जेन्टिनाले पछिल्ला चार खेलयता उरुग्वेसँग पनि हार व्यहाेरेको छैन। यसबीचमा उसले दुई जित र दुई बराबरी खेलेको छ। यी दुई टोलीबीच भएका पछिल्ला दुई खेल बराबरीमा सकिएका छन्।
उरुग्वेले अर्जेन्टिनालाई अन्तिमपटक सन् २०१३ मा भएको विश्वकप छनोटमा पराजित गरेको थियो, ३-२ गोलले।
प्रतिकृया दिनुहोस्