के हो कोभिड सम्बन्धी तनाव र चिन्ताको कारण?

 

काठमाडौँ–

कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै संक्रमितको संख्या एकाएक बढ्यो। दैनिक रुपमा थपिदै गएका नयाँ संक्रमितले रेकर्ड कायम गर्दैै गए। बिरामीले अस्पलाल भरिन थाले। जताततै बेड अभाव हुन थाले। संक्रमितको स्वास्थ्यमा जटिल समस्या बढ्दै जाँदा अधिकांशलाई अक्सिजनको सहायतामा उपचार सुरु गर्नुपर्‍यो।

अस्पतालमा बिरामीले बेड नपाइरहेका बेला फेरि अर्को समस्या थपियो अक्सिजन। अस्पतालमा अक्सिजनको हाहाकार मच्चिन थाल्यो। अस्पताल पुगेका बिरामीलाई आफूहरू अक्सिजन जोहो गर्न नसक्ने भन्दै घर फर्काइरहेका थिए।

त्यही बेला विस्तारै देशमा संक्रमणका करण ज्यान गुमाउनेको संख्या पनि बढ्दै गयो। यो संख्याले दैनिक नयाँ–नयाँ रेकर्ड कायम गरिरहेको थियो। संक्रमणको पहिलो लहर सुरु भएदेखि संक्रमणबाट ज्यान गुमाएकाहरूको शव जलाउँदै आएको पशुपतिस्थित विद्युतीय शवदाह गृहले भार थेग्न सकेन।

जसकारण विद्युतीय शवदाहको पछाडिपट्टि बाग्मती किनारमा रहेको खाली ठाउँमा बाहिरै राखेर शव जलाउन थालियो। यी सबै घटनाबारे सबैभन्दा धेरै लेखिए। अनि सबैभन्दा पढिए र हेरिए पनि। सञ्चारमाध्यमले यस्ता समाचार प्रकाशन तथा प्रसारण गर्दै गर्दा मानिसको मनमा एक प्रकारको डर पैदा गरायो।

उपचारका लागि अस्पताल लैजाँदै गरेका बिरामीले बाटोमै प्राण त्यागे। कतिले अस्पताल पुगे पनि बेड र अक्सिजन नपाउँदा मृत्युलाई रोजे।

अनि कतिले होम आइसोलेसनमै ज्यान गुमाए। यो सबै हेर्न बाध्य थिए, उनीहरूका आफन्त। आफन्तको पीडालाई नियाले। उनीहरूको छटपटीलाई अझ नजिकबाट महसुस गरे।

एक्कासी आइपरेका यी विभिन्न घटनाले धेरै मानिसको मनमा भय उत्पन्न भयो। जसले गर्दा उनीहरूलाई मानसिक स्वास्थ्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा असर गर्ने पाटन अस्पतालका मनोचिकित्सक डा. गौरव भट्टराईले बताए।

उनका अनुसार यो अवस्थामा भोग्नुपरेका विभिन्न कुराले गर्दा मानसिक समस्या एन्जाइटी, डिप्रेसन अनिद्राको समस्या भइरहेको छ।

‘दोस्रो लहरमा धेरै परिवार संक्रमित भए। कसैले आफन्त गुमाउनुपरेको छ। लामो समयसम्म दर्दनाक अवस्थमा गुज्रनुपरेको छ। मानिसले भोग्नुपरेका आघातजन्य घटना जसले गर्दा पछि पिटिएसडीको समस्या देखिन सक्छ। यो पहिला भूकम्पको बेला धेरैलाई देखिएको थियो’, डा. भट्टराईले भने, ‘यसमा विशेष गरी आफन्तमा गाह्रो भएको अवस्था वा मृत्युजस्ता आघातजन्य घटना पछि देखिने मानसिक रियाक्सनलाई पिटिएसडी भन्छौँ। त्यसका लक्षण देखिने सम्भावना बढी छ।’

विज्ञहरूका अनुसार सञ्चारमाध्यमले सम्प्रेषण गर्दै गरेका समाचार सँगसँगै लोमो समयदेखि घरभित्रै बन्द भएर बसिरहँदा धेरैको मानसिक स्वास्थ्यमा गम्भीर असर पर्ने देखिएको छ।

कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै मानसिक स्वास्थ्यमा पार्ने असरका विषयमा चर्चा गर्न जरुरी रहेको उनीहरू बताउँछन्।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मानिसहरू सामान्य जीवन बिताउन पाइरहेका छैनन्।

उनीहरूले नचाहँदा नचाहँदै पनि घरभित्रै बन्द भएर बस्नुपर्ने बाध्यता छ। महामारीमा उत्पन्न हुने विभिन्न समस्याका कारण मानसिक स्वास्थ्यमा पार्ने असरका विषयमा उल्लेख गरिनुपर्ने मनोविद्हरूले बताउँदै आएका छन्।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मानिसहरू सामान्य जीवन बिताउन पाइरहेका छैनन्। उनीहरूले नचाहँदा नचाहँदै पनि घरभित्रै बन्द भएर बस्नुपर्ने बाध्यता छ। महामारीमा उत्पन्न हुने विभिन्न समस्याका कारण मानसिक स्वास्थ्यमा पार्ने असरका विषयमा उल्लेख गरिनुपर्ने मनोविद्हरूले बताउँदै आएका छन्।

उनीहरूका अनुसार मानिस स्वस्थ हुन मानसिक रूपमा स्वस्थ हुन अत्यन्तै आवश्यक हुन्छ। कोही व्यक्ति मानसिक रूपमा स्वस्थ भएन भने विभिन्न समस्यासँग जुध्नुपर्ने हुन्छ।

यो बेलामा अझ पहिलेदेखि नै मानसिक समस्या खेपिरहेका व्यक्तिमा जटिल समस्या उत्पन्न हुन सक्ने डा. भट्टराई बताउँछन्।

उनी भन्छन्, ‘पहिलादेखि नै औषधिको सेवन गरिरहेका व्यक्तिलाई लकडाउनका कारण औषधि छुटेको छ वा घटाएर खानुपर्ने अवस्था छ। यस कारणले गर्दा रोग बल्झिने देखिएको छ।’

मानसिक समस्याबाट बच्नका लागि यथार्थ परक स्रोत प्रयोग गर्न अत्यन्तै आवश्यक भएको उनी बताउँछन्।

डा. भट्टराईले भने, ‘आफूलाई चाहिने सूचना धेरैले सोसल मडियाबाट लिनुहुन्छ। यो हामीले पहिलो लकडाउनका बेला गरेको अध्ययनले पनि देखाएको थियो। सोसल मिडिया भनेको रिलायबल सोर्स हुँदै होइन। धेरै अफवाह फैलिरहेका हुन्छन्। नकारात्मक कुरालाई बढावा दिइएको हुन्छ। त्यसैलाई आधार मान्ने व्यक्तिलाई मानसिक समस्या भएको हामीले पाएका थियौँ। सोसल मिडियालाई सूचनाको स्रोत भनि पनि त्यसले गर्दा धेरै नकारात्मक प्रभाव परेको देखिएको थियो। समस्या उत्पन्न गराइरहेको छ।’

उनका अनुसार यसका लागि आफैँ सचेत हुन आवश्यक छ। सोसल मिडियामा भ्रामक सूचनालाई रोक लगाउन सकिँदैन। तर, आफैँ सचेत भएर आफूलाई चाहिएकोबाहेक अनावश्यक कुरालाई बेवास्ता गर्नुपर्छ।

अहिलेको अवस्थामा धेरै मानिस चिन्ता तथा तनावसँग जुधिरहेका छन्। जसकारण आत्तिने, दिक्दारीपन आउने, बेचैन हुने, डर पैदा भइरहने, निद्रा गड्बडी हुने, उकुसमुकुस भएजस्तो हुने, काम गर्न नसक्ने जस्तो अवस्था पैदा हुने डा. भट्टराई बताउँछन्।

‘मानसिक रूपमा स्वस्थ हुन सबैभन्दा पहिला शारीरिक रूपमा स्वस्थ हुन जरुरी छ। जसका लागि व्यायाम गर्ने, आराम गर्ने, रमाइलो गर्ने, स्वस्थकर खानेकुरा खानुपर्छ’, उनले भने।

आफूलाई आवश्यक सूचना कुनै पनि निश्चित स्रोतबाट मात्रै लिनुपर्ने उनले बताए। ‘कोरोना भाइरससम्बन्धी सूचना लिन विश्वसनीय मिडिया, स्वास्थ्य मन्त्रालय, डब्लुएचओजस्ता आधिकारिक वेबसाइट मात्रै हेर्ने गर्नुस्। त्यसबाहेक आफूलाई खुसी राख्न साथीभाइसँग कुराकानी गर्न सकिन्छ। खेल खेल्न सकिन्छ। परिवारसँग बसेर विभिन्न विषयमा कुराकानी गर्न सकिन्छ वा विभिन्न परिकार बनाएर खान पनि सकिन्छ’, उनले थपे।

डा. भट्टराईका अनुसार अहिले बन्द भएका कारण धेरै मानिस आफ्नो समस्या लिएर अस्पतालसम्म पुग्ने अवस्था छैन।

बन्द खुलिसकेपछि असलमा बिरामी कति बढे भन्ने थाहा पाउन सकिन्छ।

प्रकाशित भएको : June 21st, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु