प्रहरीले जाहेरी लिन नमानेको कारण यस्तो , अब के गर्ला समाजवादी ?

 

आफूलाई सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद र पूर्वप्रहरी महानिरीक्षकले अपहरण गरी काठमाडौं ल्याएको किटानी जाहेरी दिन सांसद सुरेन्द्र यादव आइतबार महानगरीय प्रहरी परिसर टेकु पुगे।

नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ किसान तथा पूर्वआइजिपी सर्वेन्द्र खनालले महोत्तरीबाट आफूलाई अपहरण गरी काठमाडौं ल्याएको भन्दै पूर्वमन्त्रीसमेत रहेका यादवले किटानी जाहेरी दिएका हुन्।

यादव राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादीका सांसद हुन्। उनी समाजवादी पार्टीबाट महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए।

समाजवादी पार्टी फुटाउने प्रयोजनका लागि केही दिनअघि यादवलाई महोत्तरीबाट काठमाडौं ल्याएको आरोप छ।

आफूलाई अपहरण तथा शरिर बन्धकमा राख्न संलग्न रहेको भन्दै यादवले नेकपाका सांसदहरू बस्नेत, श्रेष्ठ र पूर्वआइजिपी खनालविरूद्ध किटानी जाहेरी दिएका हुन्।

किटानी जाहेरी दिन टेकुस्थित महानगरीय प्रहरी परिसरमा जनता समाजवादीका शीर्ष नेताहरू बाबुराम भट्टराई, उपेन्द्र यादव, शरदसिंह भण्डारी, राजेन्द्र महतो, अशोक राई, राजेन्द्रकुमार श्रेष्ठ, हिसिला यमीलगायत पुगेका थिए।

उनीहरू अपरान्ह ३ बजे प्रहरी परिसर पुगेका थिए। एसपी सोमेन्द्रसिंह राठौरले कार्यालय प्रमुख एसएसपी श्याम ज्ञवाली बाहिर रहेको भन्दै करिब दुई घन्टा जाहेरी लिन आलटाल गरे। पौने पाँच बजे एसएसपी ज्ञवाली परिसर आइपुगे।

एसएसपी ज्ञवालीले जनता समाजवादीका शीर्ष नेताहरूसँग छलफल गरे। तर प्रहरीले जाहेरी लिन मानेन।

अपरान्ह पाँच बजेपछि परिसरबाट जनता समाजवादीका नेताहरू बाहिरिए। पत्रकारहरूसँग छोटो प्रतिक्रिया दिएका पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले एसएसपी ज्ञवालीले जाहेरी ठाडै अस्वीकार गरिदिएको बताए।

‘सांसद अपहरण गरेको यो घटना सरकारवादी मुद्दा बन्नुपर्ने हो। कुनै जाहेरी नलिइकन पनि राज्यले नै मुद्दा अघि बढाउनुपर्ने हो,’ भट्टराईले भने, ‘उहाँले जाहरी ठाडै अस्वीकार गर्नुभयो।

हामी प्रहरीलाई दोषारोपण गर्न चाहँदैनौं। उहाँका बाध्यता छन्। माथिको आदेश छ। देशमा ओलीतन्त्र छ यसले मूल्य मान्यता, विधिविधान, कानुन सबै लत्याएको छ। राज्यको अपराधिकरण गरेको छ।’

भट्टराईले प्रधानमन्त्री आफैं अपहरणजस्ता काण्डमा मुछिएको पनि आरोप लगाए।

‘उहाँहरू आफैं संलग्न भएर अपहरणजस्ता काण्डमा मुछिनुभएको छ। यसले सम्पूर्ण कर्मचारी, प्रहरी र प्रशासनलाई पनि आतंकित पारेको छ,’ भट्टराईले भने।

प्रहरीले कुरा नबुझेर वा कानुन नबुझेर भन्दा पनि बुझिबुझी जाहेरी नलिएको भट्टराईको भनाइ छ।

‘प्रहरीले बुझ्दाबुझ्दै पनि कानुनको पालना गर्न सक्नुभएको छैन,’ भट्टराईले भने, ‘जाहेरी इन्कार गरेकोले यो घटना झन् गम्भीर बनेर गएको छ।’

भट्टराईले यस्ता गतिविधिले देश संकटतर्फ जाने र प्राप्त उपलब्धिहरू पनि गुम्ने खतरा रहेको बताए।

उनले प्रश्न गरे, ‘राज्यकै अपराधिकरण भइसकेपछि नागरिकको जीवन सुरक्षा कसरी हुन्छ?’

अब के हुन्छ?

भट्टराईले आफूहरू जाहेरी लिएर राज्यका अन्य निकायमा जाने बताएका छन्।

‘धेरै तर्कवितर्कभन्दा पनि सम्बन्धित निकायमा हामी जान्छौं,’ उनले भने।

जनता समाजवादीका नेताहरू सोमबार सरकारी वकिल कार्यालयमा जाहेरी लिएर जाने तयारीमा छन्। सरकारी वकिलले पनि जाहेरी नलिए अदालत जाने पनि उनीहरूको भनाइ छ।

सांसद यादवले कानुन बमोजिम छानबिन गरी दोषीउपर कारबाही गर्नुपर्ने बताए।

‘हामीले दिएको जाहेरी लिन प्रहरीले मानेन,’ उनले भने, ‘जाहेरी लिएर प्रहरीले अनुसन्धान गर्नुपर्छ। दोषीलाई कारबाही गर्नुपर्छ।’

समाजवादी र राजपाको दल दर्ता रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी

सत्तारुढ नेकपाको भातृ संगठन युवा संघले संघीय समाजवादी पार्टी र राजपा नेपालको एकता प्रक्रिया रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएको छ।

युवा संघका केन्द्रीय सदस्य अमित लामाले उजुरी दर्ता गराएका हुन्। उनी तत्कालीन एमाले भातृ संगठन युवा संघको केन्द्रीय कोषाध्यक्ष थिए।

‘हामीले दुई दलबीचको सहमति पत्रमा बहु राष्ट्रिय राज्य कायम गर्ने उल्लेख भएको र सो व्यवस्था संविधान प्रतिकुल भएको उल्लेख गरेर निर्वाचन आयोगमा उजुरी गरेका हौँ’, लामाले भने, ‘हाम्रो निवेदन १३९० नंम्बरमा दर्ता भएको छ।’

समाजवादी पार्टीले युवा संघका पूर्व अध्यक्ष समेत रहेका महेश बस्नेत सहित पूर्व आईजिपी सर्वेन्द्र खनाल र नेकपाका अर्का सांसद किसान श्रेष्ठ विरुद्ध अपहरणको जाहेरी दिएसँगै दल दर्ता विरुद्ध निवेदन दर्ता भएको हो।

‘नयाँ दलको उद्देश्य नेपालमा बहु राष्ट्रिय राज्य काम गर्ने भनी उल्लेख गरिएको छ’ निवेदनमा भनिएको छ, ‘छुट्टै देश अर्थ झल्कने गरी दल दर्ता गर्न प्रस्ताव गरिएकाले नेपालको संवधानको धारा २६९ को ५ विपरित प्रस्ताव गरिएकाले उक्त दल दर्ता प्रक्रिया रोकी पाउन यो निवेदन पेश गरेका छौँ।’

प्रकाशित भएको : April 26th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु