प्रहरीलाई सजिलो छैन : एकातिर जनताको आक्रोस , अर्कोतिर १८ घण्टा डिउटि अनि काखको बच्चाको याद

 

लकडाउनको बेला दिनहुँ १८ घण्टा खटिन्छन् प्रहरी

कोरोना भाइरसको सम्भावित जोखिम नियन्त्रणका लागि सरकारले लकडाउन आह्वान गरेको एक महिना पूरा भएको छ । लकडाउनमा सर्वसाधारणलाई घरमै राख्नका लागि चोकचोकमा प्रहरी परिचासलित छन् ।

सम्भावित जोखिम नियन्त्रणका लागि प्रहरीले दैनिक १८ घण्टा ड्युटी गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राई बताउँछन् । ‘हाम्रो ड्युटी दैनिक १८ घण्टा गर्नुपर्छ,’ राई भन्छन्, ‘सामान्य अवस्थामा १२ घण्टा हो ।’

सीमित जनशक्ति भएका कारण बिहानदेखि रातिसम्म एउटै प्रहरीले काम गर्नु पर्ने उनी बताउँछन् । मोरङमा १ एक हजार २ सय प्रहरी छन् ।

लकडाउनमा सीमित सुरक्षाका सामाग्री प्रयोग गरी काम गर्नुपर्ने उनी बताउँछन् । मास्क सेनिटाइजरलगायत केही सुरक्षा सामाग्री प्रयोग गरेर ड्युटी गर्ने गरेको उनी बताउँछन् ।

प्रदेशमा ८ हजार जनशक्ति, नाकामा ११ सय

लकडाउनमा प्रदेश १ मा ८ हजार ४ सय बढी प्रहरी जनशक्ति परिचालन गरिएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएसपी सुमनकुमार तिम्सिनाका अनुसार नाकामा मात्र एक हजार एकसय बढी जनशक्ति खटाइएको छ ।

लकडाउनका कारण प्रहरीलाई दिइने विदा पनि कटौती भएको उनले बताए । ‘सुत्केरी र किरियाबाहेक अन्य विदा पाउँदैनन्,’ उनले भने ।

प्रदेशको जनशक्तिलाई आधार मान्दा एक जना प्रहरीले दैनिक १६ घण्टा भन्दा बढी काम गर्नुपरेको उनको भनाइ छ । ‘नाकामा त चौबीसै घण्टा ड्युटी हुन्छ,’ उनी भन्छन्, ‘लकडाउनले प्रहरीको व्यस्तता बढेको छ ।’

कोरोनाका कारण ज्यान गुमाए ५० लाख

कोरोना नियन्त्रणको फ्रन्टलाइनमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी छन् । कोरोना महामारीसँग जुध्न १ नम्बर प्रदेशमा ६ हजार ३ सय बढी स्वास्थ्यकर्मी परिचालित छन् ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले सबै स्वास्थ्य क्षेत्रका जनशक्ति परिचालन भएको बताए ।

कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिएकाहरुको प्रोत्साहन बढाउन प्रदेश सरकारले कोरोनाकै कारण ज्यान गुमाएमा उनीहरुको परिवारलाई ५० लाख राहत दिने घोषणा गरेको छ ।

कोरोनाको उपचारमा खटिने चिकित्सक, सरकारी वा गैर सरकारी अस्पतालमा प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, निजामती कर्मचारी वा अन्य कुनै पदाधिकारीको कोरोना संक्रमणबाट भएर मृत्यु भएमा उनीहरुका परिवारले ५० लाख रुपैयाँ राहत पाउने छन् ।

काखका बच्चा छाडेर ड्युटीमा खटिएका महिला प्रहरी

‘दिदी बाबुको ख्याल गर्नुहोला, म हिँडे,’ यति भनेर दुर्गा भट्ट अरू दिन जस्तै आज पनि ड्युटी गर्न हिँडिन्।

शरीरमा बर्दी छ। काखमा बच्चा। जागिरसँगै आमाको जिम्मेवारी बहन गर्न तैनाथ हुने प्रहरीहरू मध्येकी दुर्गा पनि एक हुन्।

आजभोलि उनको ड्युटी पहिलेजस्तो छैन। कोरोनाको जोखिम बढेपछि कार्यालयले भित्रका कर्मचारीलाई भित्रै र बाहिरकालाई बाहिरैबाट काममा जाने आउने व्यवस्था मिलाइदिएको छ। दुर्गा डेराबाट आउँछिन्। कार्यालयभित्र प्रवेश नगरी सहकर्मीहरूसँगै खटाइएको ठाउँमा जान्छिन्।

कोरोनाबाट फ्रन्टलाइनमा रहेर काम गर्नुपर्ने उनीहरू कहिले सीमा त कहिले सडक र वस्तीहरूमा पहरा दिन जान्छन्।

यसरी नै प्रहरी भएर काम गर्ने रहर भने उनको सानै देखिको हो।

हाम्रो समाजका धेरै आमाबुवाको सपना हुन्छ- छोरीले राम्रो केटा पाओस्, पाले पुण्य मारे पाप भन्दै कन्यादान गर्न पाइयोस्। आमाबुवाको सपना अनुसार चल्दा धेरै छोरीले आफ्ना सपना पुरा गर्न पाउँदैनन्। २१ वर्षकै उमेरमा दुर्गाको पनि बिहे गरिदिए। विहेपछि दुर्गाले भने आफ्नो सपना पुरा गर्न पाइन्।

केटा प्रहरीमा काम गर्छन् भन्ने थाहा पाएपछि उनले बिहे गर्न मानेकी थिइन्। बिहेपछि आफू पनि प्रहरी बन्छु भन्दा श्रीमानले सहयोग गरे।

‘श्रीमानको सपोर्टले गर्दा सानैदेखिको सपना पूरा गरेँ, जसरी रहर मानेर यो पेशामा आएँ, त्यसरी नै सेवा गर्न जस्तोसुकै परिस्थितिमा पनि पछि पर्ने छैन,’ उनले भनिन्।

उनको परिवार बैतडीमा बस्छन्। उनी र श्रीमान बच्चासहित धनगढीमा डेरा गरी बस्छन्। कोरोनाको यो समयमा उनका श्रीमानले कार्यालयभित्रको काम गर्नेमा परेका छन्। उनी उतै बस्छन्। छोरा हेर्ने जिम्मा भने दुर्गालाई परेको छ। उनको दिदीनजिकै बस्छिन्। त्यसैले उनलाई छोरा छोडेर हिँड्ने गरेकी छन्।

उनको बच्चा भएकाले सजिलो होस् भनेर बिहानको ड्युटी पारिदिएको छ अफिसले। त्यसका लागि उनी ६ बजे डेराबाट निस्किन्छिन्।

आजभोलि लकडाउनको पालना गर्न अनुरोध गर्ने, सडकमा आएका मानिसलाई सम्झाउने, केही काम नभएर सडकमा निस्किनेलाई माथि रिपोर्ट गर्ने जस्ता काम उनी गर्छिन्।

बिहानको नास्ता अफिसबाट आउँछ। ड्युटीसकेपछि डेरा पुगेर खाना आफैं बनाएर खान्छिन्। खाना खानेबेला श्रीमानको याद आउँछ जो अचेल व्यारेकमै बस्छन्। पहिलेपहिले उनीहरू सँगै ड्युटी जान्थे, सँगै फर्किन्थे। अहिले त भेटघाट पनि छैन। कुरा गर्न परे फोनको सहारा लिन्छन्।

‘उहाँको कार्यालय भित्र नै ड्युटी हुन्छ। म बाहिर। मलाई खाना खाँदा याद आउँछ। उहाँलाई म बाहिर फेर ड्युटी गर्दा चिन्ता लाग्छ। अनि हामी फोनबाटै एकअर्कालाई सम्झाउँछौं,’ उनले भनिन्, ‘मैले त छोरा पनि हेर्नुपर्छ। ड्युटी समय र घरको समय मिलाएर अहिले काम गरिरहेकी छु।’

उनका श्रीमानले उनलाई बेला बेला सम्झाइरहन्छन्- भिडमा नजानु, जनतासँग व्यवहार राम्रो गर्नु।

‘यसरी सम्झाउँदा मेरो मन बलियो हुन्छ र काम गर्ने जाँगर बढ्छ। घरबाट पनि राम्रै सपोर्ट छ,’ परिवारको साथ भएन भने प्रहरी हुन निकै गाह्रो हुने उनले बताइन्।

‘परिवारले साथ दिए जुन बेला पनि देश र जनताका लागि सुरक्षा दिन तयार हुने आँट आउँछ, बल मिल्छ,’ उनले भनिन्।

कैलालीको कैलारी गाउँपालिका घर भएकी सुनिता चौधरी पनि प्रहरी जवान हुन्। देशको सेवा गरौं भन्ने भावना उनमा पनि थियो। बुवाले पनि पुलिसको जागिर खानु भन्थे रे।

२०७३ मा उनी प्रहरी सेवामा प्रवेश गरिन्। कोरोनाकालमा उनी पनि फ्रन्ट लाइनमा काम गर्ने मध्येकी एक हुन्। पहिलेपहिले बिदाको समय मिलाएर महिनामा एक-दुईपटक घर पुग्ने गरेकी थिइन्। अहिले भने दुई महिना पुग्न लाग्यो, घर गएकी छैनन्।

उसो त उनको समुदायबाट सरकारी जागिर गर्नेहरू कमै थिए। प्रहरीमा जागिर गर्न अप्ठ्यारो हुन्छ, भनसुन गरिदिने मान्छे चाहिन्छ भन्ने मानसिकता उनको समाजमा पनि थियो।

‘केटी मान्छेले प्रहरीमा जागिर खादा अप्ठ्यारो हुन्छ, डुल्नुपर्छ, कुरा काट्छन् भन्थे। वास्तवमा आफैंले जागिर गरेपछि लाग्यो महिलालाई फरक अप्ठ्यारो हुन्छ भन्ने हुँदैन। आफूले गर्न सके जे पनि राम्रो हुन्छ,’ उनले भनिन्।

६ घण्टा दिउँसो, राति ४ घण्टा र परेको बेला ड्युटीमा जान उनी तयार रहनुपर्छ।

खासगरी प्रहरी चेकिङ र हेल्प डेस्कमा बढि खटिनुपर्छ उनी। यस्तै कोरोना महामारी आएपछि सीमा-नाकामा, लकडाउन पालना गराउन र महिलासँग सम्बन्धित घटनामा पनि उनी काम गर्छिन्।

प्रहरी सहायक निरीक्षक गिता स्वर्णकार पनि दुर्गा र सुनिता जस्तै जिल्ला प्रहरी कार्यालयमा कार्यरत छन्। २० वर्ष पूरा भयो उनले प्रहरी सेवा सुरू गरेको। २०५६ तिर उनी प्रहरीमा आउँदा देशमा संकटकाल थियो। अहिले कोरोना महामारीमा पनि उनी प्रहरी सेवामै छन्। लकडाउनमा चहलपहल र पसल जथाभावी नखोल्नु भन्ने नियम पालना गराउने काम उनको पनि हुन्छ।

‘कार्यालयबाट घर फर्किँदा पनि पहिलेजस्तो सहज छैन,’ उनले भनिन् ‘ड्युटीबाट आएपछि पहिला जस्तो सहजै घरभित्र पस्न, बच्चा समात्न हुँदैन। अलग बस्नुपर्छ।’

राज्यका तर्फबाट प्रहरीका लागि बीमा लगायतका सुविधा दिने भनिएपछि काम गर्न ऊर्जा मिलेको उनी बताउँछिन्। तर स्वास्थ्य सामग्री उपलब्ध हुनुपर्ने उनीहरूको माग छ।

‘यति बेला पञ्जा, मास्क र स्यानिटाइजर जस्ता सामग्री अफिसबाट दिने गरिएको छ,’ उनले भनिन्, ‘सबैलाई पुग्ने हुँदैन। आफैंले किनेर प्रयोग गर्छौं।’

प्रकाशित भएको : April 26th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु