कोटेश्‍वरमा माधव र ओली समूहको वार्ता, खुमलटारमा प्रचण्ड र झलनाथ

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली अल्पमतबाट जोगिन माधव नेपाल समूहलाई फकाउने अन्तिम प्रयास गरिरहेका छन्।

सोमबार बिहान प्रधानमन्‍त्री ओलीले नेपाललाई बालुवाटार बोलाएर मिलेर अघि जान तयार रहेको प्रस्ताव गरेका थिए। नेपालले अरु साथीहरूसँग पनि छलफल गर्नुपर्ने बताएर फर्केका थिए। त्यसपछि अहिले अपरान्ह फेरि नेपाल निवास कोटेश्‍वरमा ओली र नेपाल समूहको छलफल भइरहेको छ। ओलीका तर्फबाट उपप्रधान तथा रक्षामन्‍त्री इश्वर पोखरेल र शंकर पोखरेलगायत कोटेश्वर निवास पुगेका छन्।

आइतबार नेपाल निवासमा भएको भेलाले पार्टी र सरकार दुवैतिर ओलीको नेतृत्व असफल भएकोले विकल्प खोज्‍नुपर्ने निश्कर्ष निकालेपछि बालुवाटार झस्किएको हो। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डभन्दा नेपाललाई नै आफ्नो क्याम्पमा ल्याएर आफूलाई बलियो र सुरक्षित बनाउने बालुवाटारको नयाँ रणनीतिअनुसार नेपालसँग सम्वाद बढाइएको एक नेताले बताए।

कोटेश्‍वरमा नेपाल र ओलीसमूहबीच छलफल चलिरहँदा खुमलटारमा प्रचण्ड, झलनाथ र वामदेवबीच छलफल चलिरहेको छ। पछिल्लो समय सत्तारुढ नेकपाभित्रको आन्तरिक विवादले जटिल मोड लिएको छ।

खासगरी अध्यादेश जारी तथा फिर्ता प्रकरणपछि पार्टीभित्र ओलीविरुद्धको मत बलियो बन्दै गएको छ। ओलीको विकल्प खोज्‍न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम समूह एकै ठाउँमा उभिएपछि यो समिकरणलाई जसरी नै भत्काउने प्रयासमा बालुवाटार जुटेको छ।

यसका लागि नेपाललाई उपयोग गर्ने रणनीतिअनुसार उनलाई फकाउने प्रयास भइरहेको छ। ओली कुनै पनि हालतमा हट्न तयार नहुने अवस्था र विरोधी पक्षको सक्रियताका कारण कुनै बेला नेकपाभित्र दुर्घटना हुनसक्‍ने चिन्ता पार्टी पंक्तिमा छाएको छ।

स्थायी समितिको बैठक बोलाउन र त्यसमै ओलीको विकल्पबारे छलफल गर्न प्रचण्ड, माधव, झलनाथ र गौतम समूह सक्रिय भएपछि ओली स्थायी समितिलाई जसरी पनि टार्ने रणनीतिमा छन्प्रचण्ड र नेपाल समूहका २० सदस्यले यही वैशाख १० मा दुवै अध्यक्षलाई पत्र लेखेर स्थायी कमिटी बैठक बोलाउन माग गरेका थिए। विधानतः एकचौथाइ सदस्यले बैठक माग गरेको १५ दिनभित्र बोलाउनुपर्ने हुन्छ।

स्थायी समितिमा ओली स्‍पष्ट अल्पमतमा छन्। नेकपाको ४४ सदस्यीय स्थायी समितिमा प्रचण्ड र नेपाल समूहका ३२ सदस्य छन्। ओली पक्षमा जम्मा १२ जना मात्रै छन्।

ओली पक्षमा ईश्वर पोखरेल, किरण गुरुङ, छविलाल विश्वकर्मा, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, विष्णुप्रसाद रिमाल, सत्यनारायण मण्डल, शंकर पोखरेल र सुवासचन्द्र नेम्बाङ मात्रै छन्। महासचिव पौडेल मझधारको भूमिकामा देखिएका छन्। अध्यादेश ल्याउँदा प्रधानमन्त्रीनिकटकै परराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवाली विपक्षमा देखिएका थिए।

ओलीलाई कमजोर बनाएर आफ्नो समूह बलियो बनाउनका लागि प्रचण्डले कहिले वामदेव गौतम निवास भैंसेपाटीमा त कहिले नेता नेपाल निवास कोटेश्वरमा छलफल तीब्र पारेका थिए। केही दिन अघि वामदेव निवास भैंसेपाटीमा बहुमत सचिवालयसँग छलफल गरेर ओलीलाई अल्पमत पारेका प्रचण्डले आइतबार मात्रै नेपाल निवास कोटेश्वरमा छलफल गरेर ओलीलाई आफु बलियो भएको सन्देश दिएका थिए।

त्यसोत प्रचण्डले छलफल तीब्र पारेपछि ओली समूहले पनि पोखरेलको नेतृत्वमा छलफललाई तीब्र गरिरहेको छ। केही दिनअघिदेखि नेपाल र वामदेव समूहसँग ओली समूहले निरन्तर छलफल गरिरहेका छ।

सो छलफलमा वरिष्ठ नेता झलनाथ खनाल भने प्रचण्ड समूहतिर साथ दिइरहेका छन्। भैंसेपाटी छलफलबाट स्थायी कमिटीको बैठक बोलाउनुपर्ने निष्कर्ष प्रचण्ड समूहको थियो। आइतबार कोटेश्वर र खुमलटारमा भएको दुवै बैठकले ओलीको विकल्प खोज्‍नुपर्नेमा जोड दिएको थियो।

पार्टीमा एक व्यक्ति एक पद नेपाल समूहको पूर्वसर्त हो। यो सर्तमा शुरुदेखि नै ओलीले सहमति गर्न सकेका छैनन्। सो पदमा ओली समूहले सहमति गरेमा ओलीले समेत कि प्रधानमन्त्री कि अध्यक्ष पद छाड्नुपर्ने अवस्था हुन्छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र प्रदेश ५ काम मुख्यमन्त्री शंकर पाखरेललाई समेत नेपाल समूहको उक्त सर्त कार्यन्वयन भएमा झड्का लाग्नेछ। तर ओली समूह नेपाल समूहको उक्त सर्त कार्यन्वयन गर्न शुरूदेखि नै अनिच्छुक छ।

प्रकाशित भएको : April 27th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु