प्रचण्ड छाडेर मन्त्री भट्टको प्रधानमन्त्रीलाई साथ

 

नेकपा स्थायी कमिटी सदस्य एवम् उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले अहिले स्थायी कमिटी बैठक बस्ने समय नभएको बताएका छन्।

सेतोपाटीसँग कुरा गर्दै मन्त्री भट्टले दुई अध्यक्ष बसेर समस्या समाधान गरेपछि मात्रै अरु प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका छन्।

‘पहिला त दुईजना हस्ताक्षरकर्ता बस्नुपर्छ। एकअर्काप्रतिको अविश्वासलाई हटाउनुपर्छ त्यसपछि सचिवालय भन्ने छ, त्यो बस्न पर्ने होला’, उनले भने, `छलफलको एउटा आधार तयार भएपछि स्थायी समिति र परिआएमा केन्द्रीय समिति बैठक पनि बस्न सक्छ।’

पार्टी एकता हुँदा कुन शर्त र मनोविज्ञानका आधारमा हस्ताक्षर भएको थियो भनेर दुई अध्यक्षले गम्भिर छलफल गर्नुपर्ने उनको भनाइ छ।

‘दुवै अध्यक्षका कमीकमजोरी के हुन् सचिवालय सदस्यका कमी कमजोरी के हो, त्यो सबै छलफल हुनुपर्छ। त्यसपछि बल्ल स्थायी कमिटीमा आउनुपर्छ। एउटाको मात्र कमजोरी देखाएर अर्को बच्ने कम्युनिष्ट विधि पद्धति होइन।’

उनले अहिले वर्तमान प्रधानमन्त्रीलाई हटाउने समय नभएको जिकिर गरे।

‘ठाँउठाँउमा कोठे बैठक बसिराखेका छन्। कहिले भैसेपाटी अनि कहिले कता भेला पनि भइरहेका छन्’, उनले भने,’यो ओली हटाउने बेला होइन। कोरोनाबाट विजय प्राप्त गरेपछि प्रधानमन्त्रीमा समस्या छन् भने पार्टीमा छलफल गर्ने हो बाहिर बजारमा हल्ला गर्ने होइन।’

उनले अहिले कोरोनाका कारण खस्किएको अर्थन्त्रसँग लड्न जरुरी रहेको समेत बताए।

‘आफ्नो महत्वकांक्षा पुरा गर्न फोहोरी खेल खेल्ने प्रवृत्ति रोक्नपर्छ। अहिले नीति कार्यक्रम ल्याउने बेला हो। नीति कार्यक्रममा लाग्ने की कोठे बैठकमा लाग्ने?’

कुनैपनि हालतमा सरकार फेर्ने अनि पार्टी फुटाउने काम गर्नै नहुने समेत उनले बताए।

अहिले कोरोनासँग लड्न राष्ट्र एक हुने अनि विपक्षीलाई पनि एक ठाउँमा ल्याउने बेला भएको भन्दै उनले पूर्व एमाले र माओवादी भन्ने भावना त्याग्नुपर्ने बताए।

‘अहिले पूर्व पश्चिम भन्ने बेलै होइन। यही सरकारको नेतृत्वमा कोरोना नियन्त्रणका काम गर्न जरुरी छ’, उनले भने, ‘यो सरकार ढालेर अब बन्ने सरकारले पनि काम गर्न सक्छ भन्ने के ग्यारेन्टी रहन्छ? अहिलेको सरकारलाई असहयोग गर्नेहरु सरकारमा गए भने फेरी बाहिर रहनेहरुले असहयोग गर्छन्, अनि यो गलत नजिर बस्छ।’

जनवादी केन्द्रियताको सिद्धान्त अनुसार नेताहरु बसेर सबैले आफ्ना कमजोरी सच्याएर जानु नै अहिलेको उत्तम विकल्प रहेको उनको तर्क छ।

तपाईं त पुर्व माओवादी नेता तर तपाईंलाई प्रचण्डलाई छाडेर प्रधानमन्त्री निकट भएको भन्न थालेका छन् भन्ने प्रश्नमा भट्टले भने, `सत्य कुरो बोल्दाखेरी कसको निकट वा कहाँ पुगे भन्ने कुरा जनताले मुल्यांकन गर्ने कुरा हो। मैले सत्य बोलेको हो, अहिलेको आवश्यकता बोलेको हो।´

आफ्नो बानी सत्यका पक्षमा बोल्ने रहेको भन्दै उनले भने, `जातिय राज्यको विरुदध प्रचण्डसँगै पनि लडेको हुँ, सत्यका पक्षमा बोल्दा मन्त्री पद नै जान्छ भने ठुलो कुरा होइन।´

भट्ट पूर्व माओवादी कोटाबाट वर्तमान सरकारमा सहभागी भएका मन्त्री हुन्। उनी गत मंसिरमा पुनर्गठन भएको मन्त्रिपरिषदमा मन्त्री बनेका हुन्।

भट्ट कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन। लामो समय प्रचण्डसँग रहेर काम गरेका भट्ट नेकपाभित्रको पछिल्लो विवादमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीसँग नजिकिएका छन्।

यसअघि भट्ट २०६५ सालमा बनेको प्रचण्ड नेतृत्वको सरकारमा श्रम मन्त्री थिए भने २०६८ मा बनेको बाबुराम भट्टराई नेतृत्वको सरकारमा वाणिज्य तथा आपर्ति मन्त्री बनेका थिए।

पार्टीको आन्तरिक समिकरणमा फेरबदल आएको हो भन्ने सेतोपाटीको प्रश्नमा भट्टले भने, ´आन्तरिक समिकरणमा फेरबदल आइरहनु ठुलो कुरा होइन।’

प्रकाशित भएको : April 28th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु