कोरोना संक्रमित युवालाई भैरहवा छाडेर किन ल्याइयो बुटवल?

 

रूपन्देहीको कोटहिमाइका एक युवामा कोरोनाभाइरस संक्रमण देखिएपछि उनलाई उपचारका लागि बुटवल ल्याइयो।

भैरहवामा कोरोना संक्रमितलाई उपचार गर्ने कोरोना विशेष अस्पताल निर्माण गरे पनि ती युवालाई बुटवल ल्याएपछि उक्त अस्पतालको क्षमतामाथि प्रश्न उठेको छ।

दिल्लीबाट गत वैशाख ५ गते कोटमाइस्थित घर आएका २५ वर्षीय ती युवामा शुक्रबार कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो।

उनलाई गाउँपालिकाले क्वारेन्टाइमा राखेको थियो। स्वाब परीक्षणबाट उनमा कोरोना देखिएपछि उनलाई बुटवल धागो कारखानामा स्थापना गरिएको कोरोना विशेष अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

कोरोना संक्रमितको उपचार गर्न प्रदेश नम्बर ५ सरकारले रूपन्देही, दाङ र बाँकेमा आइसोलेसन अस्पताल सञ्चालन गरेका छन्। तीमध्ये भैरहवाको भीम अस्पताल र बुटवलको लम्बिनी प्रादेशिक अस्पताल कोरोना विशेष अस्पताल हुन्।

सामाजिका विकास मन्त्री सुदर्शन बरालका अनुसार भैरहवामा निर्माण गरिएको अस्पताल कोभिड लेभल वान भनिएको अस्पताल हो। सरकारले कोरोना विशेष अस्पताल बनाउने भनेदेखि नै उनी भैरहवाको भीम अस्पतालमा प्राथमिकताका साथ खटेका थिए।

कोरोना संक्रमित युवाको गाउँबाट भैरहवास्थित अस्पताल १५ किमीको दूरीमा छ भने बुटवल २२ किमी टाढा पर्छ।

मन्त्री बरालकै नेतृत्वमा बनाएको अस्पताल नजिक हुँदाहुँदै संक्रमितलाई २२ किलोमिटर टाढा रहेको बुटवलको आईसोलेसन अस्पतालमा ल्याएपछि अस्पतालको औचित्य र क्षमतामाथि प्रश्न उब्जिएको छ।

कोटहीमाईमा रहेको क्वारेन्टाइन व्यवस्थापन हेर्दै आएका नुरुल हुसेन खानले प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशन बमोजिम नै ती युवालाई भैरहवा नराखेर बुटवल लगिएको बताए।

‘संक्रमण पुष्टि हुने वित्तिकै प्रदेश स्वास्थ्य निर्देशनालयले विरामीलाई बुटवल पठाइदिन भनेपछि हामीले उतै पठायौं,’ उनले सेतोपाटीसँग भने।

प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डाक्टर उमाशंकर चौधरीले जहाँ उपचार गरे पनि हुने बताए।

‘बुटवल र भैरहवा २०/२२ किलोमिटरको दूरी हो। जहाँ उपचार गरे पनि यो ठूलो कुरो होइन’ उनले थपे।

तर सामाजिक विकास मन्त्री बरालको नेतृत्वमा बुटवलभन्दा पहिले तयार गरेको अस्पतालमा विरामी नराखेर अन्यत्र लैजानुमा स्वास्थ्य सामग्री अभावजस्ता समस्या हुनसक्ने भैरहवाका स्थानीय भरत पोखरेलले बताए।

शुक्रवार फेला परेका संक्रमितमा स्वाब रिर्पोट पोजेटिभ देखिएको भएपनि उनको स्वास्थ्य अवस्था सामान्य रहेकोले त्यस्ता विरामीलाई बुटवल नै ल्याइहाल्नु पर्ने अवस्था नरहेको लुम्बिनी प्रादेशिक अस्पतालका एक चिकित्सकले सेतोपाटीलाई बताए।

‘भैरहवाको कोरोना विशेष आइसोलेसन अस्पताल कि स्तरिय छैन, कि कोरोना संक्रमित विरामी भर्ना गरेर हुने जोखिम र जवाफदेहिताबाट उम्किन खोज्यो,’ उनले थपे।

Setopati

प्रकाशित भएको : May 2nd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु