एसएलसी पास नगरेका सभासद हुने देशमा पिएचडी गरेका वडाध्यक्ष

 

भक्तपुर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष हरिराम सुवाललाई अचेल बेग्लै खुसी छ।

नयाँ-नयाँ नम्बरबाट फोन आउँछ।

कोरोनाभाइरस संक्रमणले देश नै आक्रान्त छ। दैनिक ज्यालामजदूरी गर्नेहरू हातमुख जोर्न सकेका छैनन्। राहत माग्दै अध्यक्षलाई आउने फोनको कुरा हामी गरिरहेका छैनौं। सुवाललाई त बधाई दिनेहरूको फोन आइरहेका छन्।

किनभने उनले विद्यावारिधि गरेका छन्। त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबाट सुवालले हालै पिएचडि पूरा गरे।

नामका अगाडि डाक्टर लेख्न सुरू गरेका अध्यक्षलाई बधाई दिनेका फोन आउने नै भए।

‘भाइभा सकेर मैले सर्टिफिकेट नै लिइसकें,’ अध्यक्ष सुवालले सेतोपाटीसँग भने, ‘नामको अगाडि डाक्टर लेखिसकें।’

४३ वर्षीय सुवालले ‘भक्तपुर नगरका ज्यायु जातिका नेवारहरूको लोकसंस्कृति सम्बन्धी ऐतिहासिक अध्ययन’ विषयमा पिएचडी गरेका हुन्।

उनले यो विषयमा विद्यावारिधिका लागि लामो समय अध्ययन गरेका थिए। ‘राजनीतिशास्त्रमै विद्यावारिधि गर्न चाहेको थिएँ, मिलेन,’ उनले भने, ‘इतिहासमा विद्यावारिधि गरें।’

यसका लागि छ वर्ष अध्ययन गर्नु परेको उनले जानकारी दिए। उनले यसअघि २०६० र ०६३ सालमा राजनीतिशास्त्र र इतिहासमा त्रिविबाटै स्नातकोत्तर तह उत्तीर्ण गरेका थिए।

२०५० सालमा भक्तपुरकै बासु माध्यमिक विद्यालयबाट प्रथम श्रेणीमा सुवालले एसएलसी उत्तीर्ण गरेका थिए। त्यसछि उनले कानून विषय पढे।

कानून विषय पढ्दापढ्दै उनी नेपाल मजदूर किसान पार्टीको भातृ विद्यार्थी संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संगठनमा सक्रिय हुन थाले।

०५५ सालमा उनी नेपाल ल क्याम्पस प्रदर्शनीमार्ग काठमाडौंमा स्ववियू सह-सचिवमा उठे तर जितेनन्।

‘चुनाव हारे पनि मैले राजनीति छाडिनँ। बरू पढाइ र राजनीतिलाई सँगै अगाडि बढाएँ,’ अध्यक्ष सुवालले सेतोपाटीसँग भने।

स्ववियू चुनाव हारेको १९ वर्षपछि उनले फेरि उस्तै चुनावको सामना गरे- भक्तपुर नगरपालिका ६ बाट। उनले नेकपाका उम्मेदवारलाई पछि पार्दै अध्यक्ष जिते।

सुवाल अहिले पनि नेमकिपाको भक्तपुर वडा समिति सचिव छन्।

‘मैले पढेको पनि राजनीतिशास्त्र हो, गरेको पनि राजनीति नै छ। त्यसैले म खुसी छु,’ उनले सेतोपाटीसँग भने।

उनले विद्यावारिधिलाई त्यति ठूलो उपलब्धिका रूपमा आफूले नलिएको पनि सुनाए।

‘मलाई नर्मल नै लागेको छ। पिएचडी गरें। नामको अगाडि डाक्टर लेख्न थालिसकें,’ उनले भने, ‘यो खासै ठूलो कुरा त होइन।’

उनले भविष्यमा पनि आफूले राजनीतिमा नै निरन्तरता दिने सुवालको भनाइ छ। ‘रिसर्चतिर भन्दा पनि म राजनीतिमै लाग्छु। जनताको सेवा गर्छु,’ उनले थपे।

Setopati

प्रकाशित भएको : May 4th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु