पार्टीमा रडाको मच्चाउने योजनामा को लाग्दैछ?: नारायणकाजी श्रेष्ठ

 

नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको रक्षा गर्दै कमजोरी सच्याएर जानुपर्ने उल्लेख गरेका छन्।

उनले केही दिनअघि बसेको सचिवालय बैठकले गरेका निर्णयअनुसार अगाडि बढ्नुपर्ने उल्लेख गर्दै कमजोरीहरूलाई सच्याएर नयाँ शिराबाट काम गर्ने सहमति भएको पनि उल्लेख गरेका छन्।

तर उक्त सहमति विपरीत झुठा र भ्रमात्मक खबरहरू प्रचार हुन थालेको भन्दै प्रवक्ता श्रेष्ठले मंगलबार ट्वीट गर्दै असंतुष्टि जनाएका छन्।

‘हाम्रो पार्टीमा पार्टी एकताको रक्षा गर्दै कमजोरीहरूलाई सच्याएर नयाँ शिराबाट काम गर्ने सहमति भएपछि हिजोदेखि फेरि झुठा, भ्रमात्मक समाचारहरू प्रचारित हुन थालेका छन्,’ श्रेष्ठले उल्लेख गरेका छन्, ‘पार्टीमा रडाको मच्चाउने योजनामा फेरि को लाग्दैछ? सचेत होऔं।’

उनले वैशाख २० गतेको सचिवालय बैठकको निश्कर्ष लागू गर्नुपर्ने पनि उल्लेख गरेका छन्।

प्रवक्ता श्रेष्ठको घरमा नेकपाका शीर्ष नेताहरू स्थायी कमिटी बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे सोमबार छलफल गरेको विषयमा खबरहरू आएका थिए। नेकपाले वैशाख २५ गतेका लागि स्थायी कमिटी बैठक राखेको छ।

प्रकाशित भएको : May 5th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु