१७ लाख नेपाली कार्यरत खाडी र मलेसियाकाे काेराेना अपडेट : कति नेपाली संक्रमित ? कतिकाे मृत्यु ?

 

कोरोनाभाइरसले विभिन्न व्यवसाय बन्द हुन पुग्दा विदेशमा रहेका कैयौँ नेपालीलाई प्रत्यक्ष प्रभाव परेको छ । वैदेशिक रोजगारका लागि विदेश पुगेका थुप्रै नेपालीहरूले रोजगारी गुमाएका छन् ।

अहिले ४० लाखभन्दा बढी नेपाली कामदार वैदेशिक रोजगारीमा कार्यरत रहेको अनुमान गरिन्छ । तर यकिन तथ्यांक भने छैन ।

नेपाली श्रमिकका मुख्य रोजगार गन्तव्य भनेकाे खाडीका ६ देश र मलेसिया हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रारम्भिक आँकडामा अनुसार खाडीका देश र मलेसियामा १७ लाख नेपाली युवाहरु कार्यरत छन् ।

त्यहाँ अवैध रूपमा काम गर्ने नेपालीहरू पनि ठूलो संख्यामा रहेकाे बताइन्छ ।

खाडीका देश र मलेसियामा कोरोना भाइरस सङक्रमितको संख्या दिनहुँ बढिरहेको पाइन्छ । जसले गर्दा लाखौं नेपालीहरु जोखिमपूर्ण अवस्थामा छन् ।

कतिपय नेपालीहरूले राेजगारी गुमाइसकेका छन् । कतिपय नेपाली श्रमिकहरु काममा नै खटिएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार खाडीका देश र मलेसियामा ५ हजार ८ सय २२ जना नेपालीहरू कोरोनाबाट संक्रमित भएका छन् भने काेराेनका कारण ७ जनाले ज्यान गुमाएका छन् ।

कतार

कतारमा चार लाखभन्दा बढी नेपाली श्रमिक कार्यरत छन् । पछिल्लो समय त्यहाँ कोरोना संक्रमणको दर उच्च रहेको पाइएको छ ।

अहिलेसम्म त्यहाँ २३ हजार ६ सय २३ जना कोरोनाबाट संक्रमित भएका छन् भने १४ जनाकाे मृत्यु भएको छ । साेमबार मात्रै त्यहाँ १ हजार १ सय ३ जना काेराेना संक्रमित भेटिएका छन् ।

२ हजार ३ सय नेपाली पनि काेराेना संक्रमित रहेकाे एनआरएनएले जनाएकाे छ । अहिलेसम्म काेराेनाका कारण त्यहाँ कुनै पनि नेपालीले ज्यान गुमाउनु परेकाे छैन ।

कतारले आप्रवासी कामदारको प्रमुख बासस्थान रहेको सनैया क्षेत्रमा लगाइएको लकडाउन झन्डै डेढ महिनापछि बुधाबारदेखि खुला गरेकाे छ ।

कतारको सञ्चार कार्यालय अनुसार सनैया क्षेत्रमा भित्रिने र बाहिरिने सम्बन्धी नयाँ मापदण्ड लागू गरी लकडाउन हटाइएको हो ।

सनैयाको केही क्याम्पमा कोरोना संक्रमित भेटिएपछि लकडाउन गरिएको थियो ।

जोखिमूर्ण रुपमा रहेका ६ हजार ५ सय कामदारलाई क्वोरन्टाइनमा राखेपछि कतारले भित्रिने र बाहिरिने सम्बन्धी नयाँ मापदण्ड गरी सनैयालाई सुचारु गर्न थालिएको हो ।

यूएई

संयुक्त अरब इमिरेट्स (यूएई) मा पनि नेपाली कामदारको ठूलो हिस्सा हरेकाे छ । त्यहाँ अहिलेसम्म १ सय ४९ जनामा नेपाली काेराेना संक्रमित भएका छन् ।

शनिबार मात्रै त्यहाँ सारहजको सफाइ कम्पनीमा कार्यरत ६१ संक्रमित मध्ये २२ जनामा संक्रमण पुष्टि भएको थियाे ।

यूएईमा काेराेनाका कारण ६ जना नेपालीकाे मृत्यु भइसेकाे एनआरएनएले जनाएकाे छ ।

संक्रमितमध्ये २७ जना भने पूर्णरूपमा निकाे भएका छन् । बाँकी ११६ जनाकाे भने उपचार भइरहेकाे छ ।

अहिलेसम्म यूएई १८ हजार ८ सय ७८ जना काेराेना संक्रमित भएका छन् भने काेराेनाका कारण मृत्यु हुनेकाे संख्या २ सय १० पुगेकाे छ ।

कुल संक्रमितमध्ये ५ हजार ३ सय ८१ जना भने पूर्णरूपमा निकाे भइसकेका छन् ।

बहराइन

नेपालीको प्रमुख श्रम गन्तव्य रहेको बहराइनमा हालसम्म २ सय ४५ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमणबाट एक जना नेपालीकाे मृत्यु भएकाे छ ।

हालसम्म बहराइनमा काेराेना संक्रमितकाे संख्या ५ हजार २ सय ३६ पुगेकाे छ भने मृत्यु हुनेकाे संख्या ८ पुगेकाे छ ।

संक्रमितमध्ये २ हजार १ सय ५२ जना भने पूर्णरूपमा निकाे भइसकेका छन् ।

कुवेत

पछिल्लो समय कुवेतमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । साेमबार मात्रै कुवेतमा ५ सय ९८ जना काेराेना संक्रमित भेटिएका छन् ।

याे सँगै कुवेतमा काेराेना संक्रमित हुनेकाे संख्या ९ हजार २ सय ८६ पुगेकाे छ ।

कुवेतमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या भने ६५ पुगेकाे छ । त्यहाँ साेमबार मात्रै ७ जनाकाे मृत्यु भएकाे वर्ल्डो मिटर्स डट इन्फोले जनाएकाे छ ।

कुल संक्रमितमध्ये २ हजार ९ सय जना भने पूर्णरूपमा निकाे भइसकेका छन् ।

त्यहाँ अहिलेसम्म ७९ जना नेपालीमा काेराेना पुष्टि भएकाे छ भने काेराेनाका कारण अहिलेसम्म कुनै पनि नेपालीकाे मृत्यु भने भएकाे छैन ।

कोरोना भाइरसको सङ्क्रमण बढेपछि कुवेतमा मे १० आइतबारदेखि तीन हप्तासम्म पूर्ण रुपमा लकडाउन गरिएकाे छ । अत्यावश्यकबाहेक सामान ओसारपसारको कामसमेत गर्न पनइने छैन ।

साउदी अरब

हालसम्म साउदी अरबमा ३० नेपालीमा काेराेना संक्रमण भएकाे एनआरएनएले जनाएकाे छ । त्यहाँ पनि काेराेनाका कारण कुनै पनि नेपालीकाे ज्यान भने गएकाे छैन ।

अहिलेसम्म त्यहाँ काेराेना संक्रमितकाे संख्या १४ हजार ४१ पुगेकाे छ भने काेराेनाबाट मृत्यु हुनेकाे संख्या २५५ पुगेकाे छ ।

साेमबार मात्रै त्यहाँ १ हजार ९ सय ६६ जना काेराेना संक्रमित भेटिएका छन् भने ९ जनाकाे मृत्यु भएकाे छ ।

कुल संक्रमितमध्ये १२ हजार ७ सय ३७ जना भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ २८ हजार २२ जनामा काेराेना सक्रिय रहेकाे छ ।

ओमान

ओमानमा मंगलबार बिहानसम्म ३ हजार ५ सय ७३ जनामा कोरोना सङ्क्रमण भएको छ ।

जसमध्ये १ हजार २ सय ५० जना निको भएका छन् । २ हजार ३ सय ६ जनाको अस्पतालमा उपचार भइरहेको छ भने १७ जनाको ज्यान गएको छ ।

तर ओमानका कार्यरत नेपालीमा सङ्क्रमण भए, नभएकोबारे दूतावासमा जानकारी छैन । ओमानले कोरोना सङ्क्रमितको राष्ट्रियता नखुलाउने नीति लिएको छ ।

दूतावासका अनुसार ओमानमा झण्डै १७ हजार नेपाली श्रमिक कार्यरत छन् ।

यस्तै, ओमानमा कोरोनाको कारण समस्यामा परेका नेपाली श्रमिकको दूतावासले तथ्याँक सङ्कलन गर्न थालेको छ । ओमानमा मे २९ सम्म लकडाउन छ ।

मलेसिया

करिब ५ लाख नेपाली कामदार कार्यरत मलेसियामा अहिलेसम्म काेराेनाबाट संक्रमित हुनेकाे संख्या ६ हजार ७ सय २६ पुगेकाे छ । त्यहाँ १ सय ९ जनाकाे मृत्यु भइसकेकाे छ ।

साेमबार मात्रै त्यहाँ ७० जना काेराेना संक्रमित भेटिएका छन् भने १ जनाकाे मृत्यु भएकाे छ ।

त्यहाँ ४९ जना नेपालीमा पनि काेराेना संक्रमण भएकाे छ । मलेसियामा काेराेनाकाे कारण अहिलेसम्म नेपाली मृत्यु भने भएकाे छैन ।

मलेसियाले कोरोना सङ्क्रमण रोकथामका लागि लकडाउनको अवधि जुन ९ सम्म पुर्‍याएको छ ।यसअघिकाे लकडाउन आज (मे १२) सकिँदैछ ।

मलेसियाले कोरोना सङ्क्रमण रोकथामका लागि मार्च १८मा लकडाउन घोषणा गरिएकाे थियाे ।

मे ४ देखि भने लकडाउन केही खुकुलो बनाइएको छ । मलेसियामा आर्थिक गतिविधि लगभगजसो सुरुवात भइसकेको छ ।

होटल, कलकारखाना लगायतका क्षेत्रहरु खुलेका छन् । तर निश्चित सुरक्षा सतर्कता अपनाइएको छ ।

प्रकाशित भएको : May 12th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु