विदेशबाट आउन चाहने नेपालीको लर्को छ तर तत्काल व्यवस्थापनमा समस्या : परराष्ट्रमन्त्री

 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशबाट आउन चाहने नेपाली नागरिकको लर्को लागेपनि व्यवस्थापनमा समस्या भएको प्रष्ट पार्नु भएको छ ।

उहाँले केही मुलुकले आफै ल्याइदिने बताएको जानकारी दिदै तत्काल ल्याउँदा उनीहरुलाई मुलुकमा व्यवस्थापन गर्न समस्या भएको बताउनुभएको छ ।

संसदको राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा मन्त्री ज्ञवालीले संयुक्त अरब इमिरेट्स यूएईबाट दुई वटा विमान आउने जानकारीसहित पत्र आएको जानकारी गराउनुभएको छ ।

उहाँले युएईले आफ्नै विमानबाट नेपाली नागरिक ल्याइदिने बताएको जानकारी समेत बैठकलाई दिनुभयो ।

उहाँले तयारी नगरी यूएईले भनेको मितिमा विमान आउन दिने अवस्था नरहेको पनि प्रष्ट पार्नु भयो । श्रम गन्तव्य मुलुकहरुबाट २ लाख १० हजार ८७१ जना तुरुन्तै फर्काउनुपर्ने अवस्था रहेको समेत उहाँले जानकारी गराउनु भयो ।

भारत बाहेकका मुलुकबाट ३ लाख २५ हजार ५ सय ३० नेपाली स्वदेश फर्किन चाहेका विदेशस्थित दूतावास, गैरआवासीय नेपाली संघलगायतबाट संकलित तथ्यांकमा उल्लेख भएको बताउदै उहाँले त्यसोत, छिमेकी राष्ट्र भारतबाट पनि साढे २ लाख नेपाली स्वदेश फर्किन चाहेका जानकारी गराउनुभयो ।

उहाँले वास्तवमा नै संकटमा परेका नेपालीलाई ल्याउन सरकारले आवश्यक तयारी गरिरहेको जानकारी दिदै तत्काल ल्याउने व्यवस्थापनमा समस्या हुने दोहोर्याउनु भयो ।

प्रकाशित भएको : May 12th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु