‘नारायणी अस्पतालमा काेराेनाका थप संक्रमित राख्ने ठाउँ छैन’

 

मंगलबार थपिएका पर्साका ३९ जना र बाराका एकजना गरी ४० जना कोरोना संक्रमितलाई वीरगन्जस्थित नारायणी अस्पतालमै राख्न व्यवस्था मिलाइँदैछ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार अहिले थप २० वटा आइसोलेसन बेड तयार गर्ने काम भइरहेको छ।

‘बेड राख्ने काम भइरहेको छ। बेलुकासम्म संक्रमित सबैलाई भर्ना गरिसक्छौं,’ उनले भने।

अहिले अस्पतालमा ५० वटा आइसोलेसन बेड छ। जसमा २९ जना संक्रमित उपचाररत छन्।

थप ४० जना संक्रमितलाई भर्ना गर्नुपर्ने भएपछि २० वटा बेड राख्ने काम भइरहेको छ।

डा. उपाध्यायले अब थप संक्रमितलाई अस्पतालमा राख्न नसकिने बताए। ‘अब थप संक्रमित राख्ने ठाउँ छैन।

विस्तार गर्न सकिने जति आजै बेड थप्दैछौं’ उनले भने, ‘अब प्रदेश र केन्द्रले नयाँ संक्रमित थपिने कहाँ राख्ने भन्ने व्यवस्था मिलाउनुपर्यो।’

उनका अनुसार अझैं साढे तीन सय व्यक्तिको नतिजा आउन बाँकी छ।

त्यसैले संक्रमित संख्या बढ्नसक्ने अनुमान गरिएको छ। आज ३ सय जनाको परीक्षण गर्दा ४० जनाको पोजेटिभ देखिएको हो।

अहिले प्रदेश २ मा देखिएका सबै संक्रमितको नारायणी अस्पतालमै उपचार हुँदै आएको छ।

सोमबार पुष्टि भएका सप्तरीका १८ वर्षीय संक्रमित युवकलाई भने राजविराजको गजेन्द्रनारायण अस्पताल भर्ना गरिएको छ।

प्रकाशित भएको : May 12th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु