एकैदिन ३९ संक्रमित देखिएपछि पर्सामा निषेधाज्ञा जारी, सेनाले गस्ती गर्ने

 

एकैदिन ३९ जना कोरोना संक्रमित थपिएपछि पर्सामा मंगलबार बेलुका ८ बजेबाट लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ।

औषधि उपचार लगायत अत्यावश्यक सेवा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाउने गरी निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।

यस्तै जोखिमयुक्त वस्तीहरूमा गस्ती गर्नलाई सेना परिचालन गरिने भएको छ।

वीरगन्जको छपकैया वस्ती संक्रमणको उच्च जोखिम भएको ठाउँ हो।

साथै शान्ति, सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, संचार, भन्सार, आइसीपि, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधी जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय सेवा बन्द हुने भएको छ।

यस्तै स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ।

सीमा नाकाहरू वा जुनसुकै स्थानबाट यात्रुहरूको आवागमन निषेध गरिएको र लुकिछिपि मानिसहरूको आवागमन रोक्न सुरक्षाकर्मीको व्यापक गस्ती समेत बढाइने र अन्य जिल्लाबाट आउने मानिसहरुलाई जेठ ५ गते सम्मको लागि रोक लगाउने निर्णय गरिएको छ।

प्रकाशित भएको : May 12th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु