लुकिछिपी नेपाल भित्रिएका थिए रुपन्देही र कपिलवस्तुमा आज भेटिएका १७ संक्रमित

 

रुपन्देही र कपिलवस्तुमा मंगलबार भेटिएका संक्रमित लुकिछिपी नेपाल प्रवेश गरेको खुलेको छ।

भारतको मुम्बईबाट आएका उनीहरु उनीहरु लुकेर नेपालको सीमा प्रवेश गरेका थिए। प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीका अनुसार संक्रमित मध्ये कपिलवस्तु नगरपालिकाका ८ र लुम्बिनी साँस्कृतिक नगरपालिकाका ९ जना छन्।

उनीहरु करिब १० दिनअघि नेपाल आएका हुन्।

लुकिछिपी नेपाल प्रवेश गरेका उनीहरु क्वारेन्टाइनमा बसेका थिए।

प्रदेश पाँचमा आज थपिएका १७ सहित संक्रमितको संख्या ७० पुगेको छ। तीमध्ये ४७ जना लुकिछिपी नेपाल प्रवेश गरेका हुन्।

पछिल्लो तीन दिनमा कपिलवस्तु र रुपन्देहीमा करिव १५ सय नागरिक नेपाल छिरेको बताइएको छ।

तीमध्ये अहिलेसम्म करिव साढे तीन सय जनाको कोरोना परीक्षण भएको छ। कतिपय नागरिक कहाँ छन् भन्ने समेत पत्तो छैन।

लुम्बिनी साँस्कृतिक नगरपालिकाले लुम्बिनीस्थित श्रीलंकन गेष्टहाउस र लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रावासमा क्वारेन्टाइन बनाएको छ।

श्रीलंकन गेष्टहाउसमा रहेको क्वारेन्टाइनमा ७८ र विश्वविद्यालयको छात्रावासमा रहेको क्वारेन्टाइनमा ४३ जना व्यक्तिहरु छन्।

त्यसैगरी सोमबार नगरपालिकाका विभिन्न विद्यालयहरुमा क्वारेन्टाइन स्थापना गरी थप १ सय ३० जनालाई राखिएको नगरपालिकाले जनाएको छ।

सरकारले लकडाउन गरेपनि प्रदेश ५ का तराईका जिल्लाहरुमा दैनिकजसो सयौं व्यक्तिहरु रातको समयमा लुकेर नेपाल आउने गरेका छन्।

पछिल्लो तीन दिन यता सीमानाकाबाट ११ सयको हाराहारीमा लुकिछिपी कपिलवस्तुमा प्रवेश गरेको प्रदेशसभा सदस्य विष्णु पन्थीको दावी छ।

तर आजसम्म कपिलवस्तुमा ८ सय ८१ जनामात्रै क्वारेन्टाइनमा रहेका छन्।

जिल्लामा रहेका क्वारेन्टाइनको क्षमता भन्दा बढी व्यक्तिहरु भारतबाट एकैपटक भित्रिँदा व्यवस्थापन गर्न समेत समस्या हुने गरेको छ।

साथै बाहिरबाट आएकाहरु सिधै क्वारेन्टाइनमा जाने र घरमै पनि सुरक्षित रुपमा बस्ने भन्दा टोल छिमेक तथा गाउँघरमा डुलिरहँदा संक्रमणको जोखिम बढेको हो।

प्रदेश ५ का १२ वटा जिल्लामा १३ हजार २ सय २३ जना क्षमताका क्वारेन्टाइन बेड छन्।

ति क्वारेन्टाईनमा हालसम्म ५ हजार ३ सय ५१ जना व्यक्ति रहेको प्रदेश ५ को स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित भएको : May 12th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु