सरकारी विज्ञहरुले निकाले कोरोना बारे डरलाग्दो निष्कर्ष

 

पछिल्लो दुई दिनमा नेपालमा ८१ जनामा कोरोना भाइरस -कोभिड-१९) पोजेटिभ देखियो । जबकी कोभिड-१९ संक्रमणको पहिलो केस देखिएको ५८ दिनपछि मात्र दोस्रो केस देखिएको थियो भने यो संख्या बढेर ३० जना पुग्दा नेपालमा कोरोना संक्रमण देखिएको तीन महिना नाघिसकेको थियो ।

त्यसपछि भने एकाएक संक्रमणको ग्राफ उकालो लाग्यो । वैशाख ५ गते उदयपुर र चितवनमा गरी १४ जनामा संक्रमण देखिएपछि संक्रमणको दर स्थिर रहेन । र, मंगलबार साँझसम्म नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ । जसमध्ये १३१ वटा केस यही महिना र ५७ मंगलबार मात्र देखिएको छ ।

यो संङख्या तीव्र गतिमा बढ्नसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुको आंकलन छ ।

अहिले सरकारले उदयपुरको भुल्के, वीरगञ्ज, नेपालगञ्ज, रुपन्देही र कपिलवस्तुलाई कोभिड-१९ को हटस्पट मानेको छ । यसबाहेक भारतसँग सिमाना जोडिएका सबै जिल्लालाई कोभिड-१९ को रेड जोनमा राखिएको छ ।

स्वास्थ्य मन्त्रालयका एक विज्ञकाअनुसार प्रदेश नम्बर २ र ५ लाई डेन्जर जोन मानिएको छ । त्यहाँ क्रमशः ७३ र ७० जना संक्रमित छन् । त्यहाँ खुला सीमाका कारण भारतबाट रातको समयमा नेपालीहरु लुकिछिपी आउने गरेका छन् । र, कतिपय काठमाडौं उपत्यकामा पनि प्रवेश गर्ने गरेका मन्त्रालयमा रिपोर्टिङ छ । तर कुन ठाउँबाट कति मानिस आए भने यकिन तथ्याकं छैन ।

यसरी आएका मानिसहरुकै कारण कोरोनाको जोखिमपूर्ण क्षेत्र अझ बढ्ने एक विज्ञले सुनाए । ‘एक जनाले १० र १० ले सयलाई संक्रमित गराउन सक्छ,’ नाम उल्लेख गर्न नचाहने मन्त्रालयका एक विज्ञ भन्छन्, ‘हरेक नागरिक सतर्क भएन भने कोरोना हाम्रो नियन्त्रणभन्दा बाहिर जानेमा दुई मत छन् ।’

स्वास्थ्य मन्त्रालयका अर्का विज्ञ पनि त्यसमा सहमत देखिए । नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘पछिल्लो घटनाक्रम र मन्त्रालयमा भएको रिपोर्टिङले त्यस्तै देखाउँछ । सीमा नाका कडाई गर्न सक्यौं भने अझै पनि नियन्त्रण बाहिर गइसकेको छैन । अहिलेको जस्तै अवस्था रहृयो भने भन्न सकिन्न ।’

उनकाअनुसार पर्सामा भेटिएका केही संक्रमित र कपिलवस्तुका २९ जनामा भाइरसको लोड अति धेरै देखिएको छ । भाइरसको लोड बढी देखिएकाले उनीहरुले अरुलाई संक्रमण गराउने सम्भावना हुन्छ । ‘भारतबाट छिरेका, तर पहिचान हुन बाँकी कति संक्रमित छन् भन्न सकिन्न,’ उनी भन्छन्, ‘भारतबाट छिर्न लागेकाहरुलाई कि त रोक्नुपर्‍यो कि व्यवस्थित रुपमा ल्याउनुपर्‍यो ।’

कोरोनाको हटस्पट मानिएको क्षेत्रमा समुदाय स्तरमा परीक्षण नगरेकाले पनि कोरोना नियन्त्रण बाहिर गएको एक विज्ञले बताए । संक्रमितको कन्ट्याक ट्रेसिङ गर्ने र तिनीहरुको मात्र परीक्षण गर्नाले पनि धेरै संक्रमितहरु छुटेको उनको अनुमान छ । ‘तत्काल नयाँ रणनीति बनाएर अगाडि बढिएन भने कोरोनासामू आत्मसमर्पण गर्नुको विकल्प हुन्न,’ उनी भन्छन्, ‘अब कोरोनाबाट बच्च सरकार मात्र लागेर हुन्न, जनताहरुले पनि साथ दिनुपर्छ ।’

सरकारको पूर्वतयारी र अन्य देशको भयावह तथ्यांक हेर्दा सरकारी विज्ञहरुले भने जस्तै कोरोना नियन्त्रण कठिन छ । तर टेष्ट र ट्रेसिङको दायरा बढाएर सम्भावित संक्रमितलाई आइसोलेट गर्न सकियो भने नियन्त्रणमै राख्न असम्भव नरहेकोे जनस्वास्थ्य विज्ञहरु सुनाउँछन् । यसो गर्दा संक्रमणको दर घट्दै जानेछ ।

के छ सरकारी आंकलन ?

स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्की संक्रमणको ग्राफ बढेसँगै उपचारको मोडल फरक हुने बताउँछन् । अहिले तोकिएका हब अस्पतालले धान्न नसक्ने अवस्थामा अन्य अस्पतालमा कोभिड-१९ का बिरामी उपचार गरिनेछ । ‘अहिलेसम्म देखिएका संक्रमितमा गम्भिर लक्षण छैन् र उनीहरुलाई आईसीयू र भेन्टिलेटर चाहिएको छैन’ उनले अनलाइनखबरसँग भने, ‘यही कारण संक्रमित बढेपनि उपचार धान्न सक्ने अवस्था छ ।’

मन्त्रालयका आपत्कालीन व्यवस्थापन महाशाखाका प्रमुख डाक्टर गुणराज लोहनीकाअनुसार मन्त्रालयको विज्ञ टिमले गरेको अध्ययनमा दुई हजार संक्रमित पुगेको अवस्थामा १६ सय जनालाई मात्र आइसोलेसनमा राख्नुपर्ने देखिएको छ । उनीहरुमध्ये तीन सयलाई अक्सिजन सपोर्ट र एक सय जनालाई आईसीयू चाहिनसक्छ । मन्त्रालयले यसलाई पहिलो चरणको उपचार रणनीति भनेको छ ।

यस्तै दुई हजारदेखि पाँच हजारसम्म संक्रमित पुग्यो भने दोस्रो चरणको उपचार रणनीति लागू हुनेछ । उनीहरुमध्ये ४ हजार जनालाई आइसोलेसनमा राख्नुपर्ने अवस्था आउनसक्छ भने ७५० जनालाई अक्सिजन सपोर्ट र २५० जनालाई आईसीयू केयर चाहिने स्वास्थ्य मन्त्रालयको आंकलन छ ।

यस्तै ५ हजारदेखि १० हजार संक्रमित पुगेको अवस्थामा मन्त्रालयले तेस्रो चरणको उपचार रणनीति लागू हुनेछ । यसमा ८ हजारलाई आइसोलेट गर्नुपर्ने हुनसक्छ भने १५ सयालाई अक्सिजन सपोर्ट र पाँच सयलाई आईसीयू चाहिनसक्छ ।

१० हजारभन्दा बढी मानिसमा संक्रमण भएको अवस्थामा मन्त्रालयले सबै अस्पतालमा कोभिड-१९ को बिरामी राख्ने योजना बनाएको छ । त्यसबेला १५ सयभन्दा बढीलाई अक्सिजन चाहिन सक्छ भने ५ सयभन्दा बढीलाई आईसीयू चाहिन सक्छ । यो चौथो चरणको रणनीति हो ।

संक्रमितको सङख्या बढ्दै गएपछि सबैलाई अस्पतालमा राख्न नसकिने मन्त्रालयका एक विज्ञ बताउँछन् । त्यसबेला बिरामीको अवस्था, शरीरमा भाइरसको सक्रियता र जोखिम अध्ययन गरेर घरमै राख्ने व्यवस्था समेत गरिन्छ ।

र, २ हजारभन्दा बढी संक्रमण भएको अवस्थामा वैकल्पिक उपचारबारे सोचिनेछ । ‘अन्य देशमा गम्भिर लक्षण भएका र भेन्टिलेटर चाहिने बाहेक सबैलाई घरमै आइसोलेसनमा बस्न भनेको छ’ एक विज्ञ भन्छन्, ‘हाम्रोमा त्यो अवस्था नआउला, तर हामी त्यो अवस्था आयो भने स्वास्थ्यकर्मीको निगरानीमा राखेर वैकल्पिक आइसोलेसन बनाउन पनि सक्छौं ।’

कस्तो छ अस्पतालको अवस्था ?

स्वास्थ्य मन्त्रालयले आंकलन गरेको अनुसार संक्रमितको सङख्या बढ्यो भने आइसोलेट गर्नदेखि आईसीयूमा भर्ना गर्न हाम्रो स्रोत साधन र तयारी कस्तो छ त ?

मन्त्रालयको तथ्यांकअनुसार देशभर निजी र सरकारी अस्पतालका कुल बेड सङख्या २६ हजार ९३० हो । यसमा ३ हजार ७६ आइसोलेसन बेड छन् । यसमा कोभिड-१९ बाहेकका अन्य बिरामीहरुको पनि उपचार गराउनुपर्ने हुन्छ । यस्तै देशभरका अस्पतालमा १ हजार ५९५ आईसीयू वेड छन् भने ८४० भेन्टिलेटर छन् ।

१९४ वटा अस्पताल आईसीयूको सुविधा छ ।

मन्त्रालयकाअनुसार लेभल-१ अस्पताल १३ वटा छ भने लेभल-२ अस्पताल १२ वटा छ । यस्तै लेभल-३ अस्पताल तीन वटा छन् ।कोरोनाका संक्रमित बढ्न सक्ने स्वास्थ्य मन्त्रालयको आंकलन र अस्पतालहरुको अवस्था हेर्दा सन्तोषजनक छैन । किनकि सरकारले डेन्जर जोन मानेको प्रदेश २ र ५ मा झनै अस्पताल र त्यहाँको पूर्वाधार निकै कमजोर छ ।

स्वास्थ्य मन्त्रालयको एक अधिकारी दाबी गर्छन्, ‘यो त भवितव्य आयो भने उपचार गर्ने पूर्वतयारी हो । हामी यो अवस्था आउन दिन्नौं ।’

संक्रमणसँगै अलमल बढ्दो

जेठ ५ गतेसम्म लकडाउन थप भएसँगै सरकारले नयाँ रणनीतिमा काम गर्ने भनिएको थियो । संक्रमण फैलिएको क्षेत्रको समुदायस्तरको कोरोना परीक्षण गर्ने प्रमुख रणनीति थियो । त्यहीबेला पीसीआर किटको अभावका कारण लक्ष्यअनुसार परीक्षण हुन सकेन । यसले संक्रमण फैलिने सम्भावना झनै बढ्यो । परीक्षणको दायरा बढ्नासाथ संक्रमणको ग्राफ पनि उकालो लागेको छ ।

स्वास्थ्य मन्त्रालयको एक अधिकारीका अनुसार पछिल्लो समय कपिलवस्तु र रुपन्देहीमा भेटिएका संक्रमितहरु लकडाउनकै समयमा भारतबाट लुकिछिपी नेपाल आएका थिए । भारतबाट यसरी प्रवेश गरेकाहरु अन्य भागमा पनि पुगेका छन् । ‘सीमा नाकामा कसरी कडाई गर्ने भन्ने अलमल बढेको छ’ उनी भन्छन्, ‘सीमापारी अलपत्र परेकाहरुलाई नल्याउँदा लुकिछिपी आउने खतरा बढ्यो । आउन दिने निर्णय पनि हुन सकेको छैन । सरकार निकै अलमलमा परेको छ ।’

भारतले रेल्वे सेवा सञ्चालन गरेसँगै सीमा नाकामा आइपुग्ने नेपालीहरुको संख्या बढ्नेछ । यसले नेपालमा कोरोना संक्रमण नियन्त्रण बाहिर जाने खतरा बढ्दो छ ।

प्रकाशित भएको : May 12th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु