सरकारलाई नारायणकाजीले भने : ‘मलाई सुरक्षाका लागि दिएका प्रहरी फिर्ता लैजाउ’

 

काठमाडौं, । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता लैजान सरकारलाई आग्रह गरेका छन् । उनले बुधवार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै यस्तो अनुरोध गरेका छन्।

श्रेष्ठले बुधवार ट्वीटर मार्फत राज्यको आवश्यकताका आफुले लिएको सेवा फिर्ता लैजान अनुरोध गरेका हुन् । नयाँ पत्रिकाले सुरक्षाकर्मी अभाव भइरहँदा सशस्त्र प्रहरी नेताको अगुवा पछुवा भन्ने समाचार प्रकाशित गरेपछि नेता श्रेष्ठले यस्तो लेखेका हुन् । कोरोनाको प्रभाव एकातिर छ भने सिमा सुरक्षाका लागि पनि सुरक्षाकर्मी खटिनुपर्ने अवस्था छ । यस्तो अवस्थामा नेताको सुरक्षाका लागि भन्दै ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सोही विषयलाई लिएर पत्रिकाले समाचार प्रकाशन गरेको थियो ।

श्रेष्ठले आफ्नोभन्दा राष्ट्रको सुरक्षा महत्वपूर्ण हुने भन्दै पछुवा फिर्ता लैजान आग्रह गरेका हुन्।उनी लेखेका छन्, ‘म पछुवा नियमित प्रयोग गर्दिन। मैले आफूलाई सुरक्षा खतरा महसुस गरेको छैन। राज्य संयन्त्रले त्यस्तो आँकलन गरेको छ भने पनि मेरोभन्दा राष्ट्रको सुरक्षा महत्वपूर्ण हुन्छ। त्यसैले राज्यको आवश्यकताका लागि कुनै पनि क्षण फिर्ता लैजान अनुरोध छ।’

उनले यसबाट राज्यलाई अप्ठेरो परेको भए क्षमायाचना पनि गरेका छन्। उनले पहिले आफूले सुरक्षाकर्मी नलिएको र गत चुनाव अघि राज्यको सुरक्षा संयन्त्रले सुरक्षाको कारणले राख्न अनुरोध गरेकाले पछुवा राखेको पनि उल्लेख गरेका छन्। श्रेष्ठले १२ सुरक्षाकर्मी लिँदै आएका छन्।

‘मैले पूर्वगृह मन्त्रीले लिनेगरेको गाडी र तेल सुविधा शुरुदेखि नै लिइन। सशस्त्र बलको पछुवा गाडी र सुरक्षाकर्मी आवश्यक नभएको ठानी केही समयपछि मैले नै जोड गरेर फर्काएँ। तर गत चुनावअघि राज्यको सुरक्षा संयन्त्रले सुरक्षाको कारणले राख्न अनुरोध गरेकाले राखिएको हो,’ उनले प्रष्ट पारेका छन्।

प्रकाशित भएको : May 13th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु