अमेरिकी वायुसेनाले प्रक्षेपण गर्‍याे एउटा ‘गोप्य अन्तरिक्ष विमान’

 

अमेरिकी वायुसेनाले आफ्नो एउटा गोप्य अभियानअन्तर्गत अन्तरिक्ष विमान प्रक्षेपण गरेकाे छ ।

आइतबार उक्त ‘एक्स-३७ बी’ नामक अन्तरिक्ष विमान बोकेको ‘एट्लस भी’ रकेट अमेरिकाले सफलतापूर्वक प्रक्षेपण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

शनिबार नै प्रक्षेपण गर्ने याेजना रहे पनि मौसम खराबीका कारण प्रभावित भएकाे थियाे ।

उक्त रकेट केप कन्याभरलबाट अन्तरिक्षतर्फ प्रक्षेपण गरिएको बिबिसीले जनाएकाे छ । ओर्बिटल टेस्ट भीइकल (ओटीभी) भनिने अन्तरिक्ष विमानले अन्तरिक्षमा एउटा भू-उपग्रह छोड्ने र ऊर्जासम्बन्धी एउटा प्रविधि परीक्षण गर्ने बताइएको छ । यस विमानको अन्तरिक्षमा यो छैटौँ यात्रा हो ।

रकेट प्रक्षेपण कोरोनाभाइरस महामारीमा अग्रपङ्क्तिमा काम गर्ने र प्रभावित व्यक्तिहरूका लागि समर्पण गरिएको थियो। रकेटमा ‘अमेरिका स्ट्रङ’ (सबल अमेरिका) भन्ने सन्देश पोतिएको थियो । गोप्य राखिएका कारण एक्स-३७बी बारे धेरै जानकारी उपलब्ध गराइएकाे छैन ।

यसअघि अमेरिकाले एक्स-३७ बी कार्यक्रम सन् १९९९ मा आरम्भ गरेको थियो । यो विमान सन् २०११ देखि प्रयोग बन्द गरिएको मानव बोक्ने अमेरिकी अन्तरिक्षयानको सानो स्वरूपजस्तो देखिन्छ । पृथ्वीको वायुमण्डलमा प्रवेश गरेपछि एक्स-३७ बी धावनमार्गमा विमानजस्तै रोकिन सक्छ ।

बोइङ कम्पनीले बनाएको यो विमान अन्तरिक्षमा रहँदा सौर्य ऊर्जाबाट चल्छ । यसको लम्बाइ २९ फीट र चौडाइ १५ फीट तथा तौल ४,९८९ किलोग्राम रहेकाे बताइन्छ ।

प्रकाशित भएको : May 18th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु