बजारमा नयाँ ग्यास नबेच्न आपुर्ति मन्त्रालयको व्यवसायीलाई आग्रह

 

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव डा.बैकुण्ठ अर्यालले नयाँ ग्यास सिलिन्डर नबेच्न व्यवसायीलाई आग्रह गरेका छन् ।

बजारमा ग्यास अभाव हुन नदिन नयाँ ग्यास सिलिन्डर नबेच्न उनले आग्रह गरेका हुन् ।

नेपाल चेम्बर अफ कमर्सले मंगलबार काठमाडौंमा आयोजना गरेको कारोना भाइरसको सन्दर्भमा आपूर्ति व्यवस्थाका विद्यमान स्थिति बारे अन्तरक्रियामा अर्यालले बजारमा हल्ला चलाइएको जस्तो ग्यासको अभाव नरहेको र अभाव सिर्जना हुन नदिन नयाँ ग्यास सिलिन्डर नबेच्न समेत आग्रह गरे ।

‘विश्वमा कोरोना भाइरसको संक्रमण बढिरहेको भन्दै नागरिकहरुमा त्रास छन् ।

कोरानाको त्राससँगै बजारमा उपभोग्य सामान पनि अभाव हुने होकि भन्ने पनि चिन्ता समेत बढेको छ’ सचिव अर्यालले भने, ‘बजारमा ग्यासको अभाव छैन, अभाव हुन दिदैनौं, उपभोक्ताहरुले पनि भण्डारण गर्ने गरी नयाँ सिलिण्डर नकिन्नुहोला ।’

उनले बजारमा उपभोग्य सामानको कृत्रिम अभाव सिर्जना गर्नेलाई सरकारले कारबाही गर्दै आएको बताए ।

हाल बजारमा विशेष गरी माक्सको मात्र अभाव रहेको बताउँदै उनले अन्य दैनिक उपभोग्य वस्तुको अभाव नरहेको जानकारी दिए ।

प्रकाशित भएको : March 10th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु