गोकुल बाँस्कोटाको अडिओ सार्वजनिक गर्ने मिश्रमाथि सुरक्षा ‘थ्रेट’, प्रहरीमा दिए निवेदन

 

पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले घुस मागेको अडिओ सार्वजनिक गरेका विजयप्रकाश मिश्रले सुरक्षा माग गर्दै प्रहरीमा निवेदन दर्ता गराएका छन्।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा दिएको निवेदनमा उनले सांसदहरू गोकुल बाँस्कोटा, प्रेमबहादु आले र सूर्य पाठक लगायतबाट असुरक्षा भएको उल्लेख गरेका हुन्।

मिश्रले आफ्नो घर भएको ठाउँ टोखा नगरपालिका वडा ११ मा वैशाख ३० गते चार जना शंकास्पद व्यक्तिले अवलोकन गरेको निवेदनमा उल्लेख गरेका छन्।

त्यसरी अवलोकन गर्नेमध्ये दुई जना भारतीय मूलका रहेको उनीहरूले सगरमाथा अञ्चलको मोटरसाइल प्रयोग गरेको मिश्रले उल्लेख गरेका छन्।

आफ्नो घर अगाडि ढल निर्माण भैरहेको र ढल निर्माण गर्ने कामदारले आफूलाई केही व्यक्तिले घरको फोटो खिचेको सूचना दिएको मिश्रले बताए।

मिश्रले आफूले बाँस्कोटाको अडिओ सार्वजनिक गरेको कारण सुरक्षाको चुनौती भएको उल्लेख गरेका छन्।

‘मलाई तत्कलीन सूचना प्रविधि तथा सञ्चार मन्त्री बाँस्कोटाका मान्छेहरूले विभिन्न किसिमका प्रलोभन र दबाब पनि दिइरहेका छन्।

विभिन्न प्रलोभन दिइ प्रस्ताव समेत पठाइरहेका छन्’, मिश्रले निवेदनमा उल्लेख गरेका छन्, ‘यो उनीहरूले रचेको षड्यन्त्र हो।

गोकुल बाँस्कोटा, सांसदहरू प्रेम आले र सूर्य पाठक, सुरक्षा मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल र मेरोबारेमा सूचना दिने साथै घर देखाउने चित्रबहादुर कुताल र उनका भाइ घनबहादुर कुताल जो लमजुङ सुन्दरबजार नगरपालिका वडा नं ७ मा नायब सुब्बाका रूपमा कार्यरत छन्।

उनले नै मेरो सम्पूर्ण ठेगाना र वतको बारेमा गवकुल बाँस्कोटालाई जानकरी दिएका हुन्। यो मलाई नै मार्ने किसिमले गरेको पूर्व नियोजित षड्यन्त्र हो भन्ने लागेको छ।’

उनले निवेदनमा राष्ट्रिय मानव अधिकार आयोगलाई समेत बोधार्द्ध दिएका छन्।

सेतोपाटीसँगको कुराकानीमा मिश्रले आफूले एक साथीसँग लिफ्ट मागेर रानीपोखरी पुगि निवेदन दिएको बताए।

प्रकाशित भएको : May 19th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु