तरकारी बोक्ने गाडीमा काठमाडौं आएका थिए मकवानपुरका संक्रमित

 

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ११ टिष्टुङ देउरालीका एकजना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार गरेको नियमित पत्रकार सम्मेलनमा मकवानपुरको एकजनामा संक्रमण पुष्टि भएको भनिएका व्यक्ति टिष्टुङकै भएको थाहा भएको छ ।

सवारी चालकको पेशा गर्दै काठमाडौं बाफलमा बस्दै आएका पुरुषलाई कोरोना पुष्टि भएको छ । योसँगै मकवानपुर स्थायी घर भई जिल्ला बाहिर बस्दै आएका दुई जनालाई कोरोना संक्रमण भैसकेको छ ।

ती संक्रमितको घरमा रहेका दुई बालिका र एक महिलालाई पीसीआर परीक्षणका लागि राति नै हेटौंडा पठाइएको डाक्टर उदय रोकाले जानकारी दिए ।

थाहा नगरपालिकाका डाक्टरहरु, सुरक्षाकर्मी सबैको सहयोगमा उनीहरुलाई ६ जेठ राति ११ बजे परीक्षणका लागि हेटौंडा पठाइएको हो । संक्रमति परिवारका अरु सदस्यहरुमा कोरोनाको कुनै पनि लक्षण भने देखिएको छैन ।

काठमाडौंमा मार्बल ढुवानी गर्ने सवारी चालक पेशामा रहेका संक्रमित पुरुष लकडाउन शुरु भएलगत्तै ११ चैतमा घर फर्केका थिए । उनी २७ वैशाखमा पुनः काठमाडौं आएका थिए ।

उनी स्थानीय तरकारी ढुवानी गर्ने गाडीमा काठमाडौं आएका थिए । उनी थाहा–११ कै स्थानीय चालकले चलाएको तरकारी गाडीमा काठमाडौं प्रवेश गरेका थिए ।

परिवार पसल चलाउँछन्

संक्रमित पुरुषको गाउँमा सानो पसल पनि छ । पसलमा श्रीमती बस्थिन् । पसल सडक छेवैमा छ ।

देउराली क्यान्टिन डाँडामा पातलो बस्ती भए पनि परिवारका लागि थोरै आम्दानीको स्रोत त्यही पसलको भरथेग हो । त्रिभुवन राजपथसँगै जोडिएको शाखा सडकमा किराना पसल छ ।

किराना सामान र चिया समेत बेच्ने उक्त पसल लकडाउनकै बेला पनि आक्कल झुक्कल खुल्ने गरेको स्थानीयहरु बताउँछन् ।

‘पसलको सेवा प्रभावित क्षेत्र पातलो बस्ती भएकाले, गाउँ नै ट्रेसिङ गर्न पनि सकिने अवस्था छ,’ डाक्टर उदय रोकाले भने, ‘हामी हेटौंडाको रिपोर्ट कुर्दै कन्ट्रयाक्ट ट्रेसिङलाई अघि बढाइरहेका छौं ।

प्रकाशित भएको : May 20th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु