एमाले केन्द्रीय सदस्यमा नअटाएपछि आक्रोश: कर्णाली प्रदेशमै असन्तुष्टि चुलियो

 

काठमाडौं ।

सुदर्शन खबर

कर्णाली प्रदेशबाट कम्तीमा एउटा पदाधिकारी पाउनुपर्छ भन्ने कर्णालीका एमाले नेताहरूको अभियान असफल भएको छ । प्रदेशका सिनियर नेता यामलाल कँडेललाई अध्यक्ष केपी ओलीले पदाधिकारी नसमेटेपछि अब कम्तीमा स्थायी कमिटीका लागि प्रयास भइरहेको छ । महाधिवेशनस्थल जानुअघि अध्यक्ष केपी ओलीलाई बालकोटमा भेटेर कँडेलले सचिव बनाईदिन आग्रह गरेका थिए ।

उनी एक्लैमात्र होइन्, कर्णालीका महाधिवेशन प्रतिनिधिहरूलाई पनि पठाएका थिए । तर, त्यो अभियानले काम नगरेपछि कँडेल अहिले स्थायी कमिटीका लागि प्रयास गरिरहेका छन् ।

स्थायी कमिटीमा अहिलेसम्म नपरेका कँडेल स्थायी कमिटी भएर प्रदेश इञ्चार्ज हुन खोजिरहेको एमाले स्रोत बताउछ। कर्णाली प्रदेशमा अहिलेसम्म एमालेले बाहिरी प्रदेशबाट इञ्चार्ज पठाउने गरेको छ ।

त्यसैले अहिले जसरी पनि स्थायी कमिटीमा पर्ने र इञ्चार्ज हुने प्रयासमा लागेका कँडेललाई अन्य नेताहरूको दरिलो साथ भने देखिएको छैन । र, पदाधिकारीमा लुम्बिनीको वर्चश्व रहेका बेलामा कर्णाली भने रित्तो भएको छ ।

एमालेमा अर्को रोचक सन्दर्भ
यसैमा अर्को रोचक सन्दर्भ पनि जोडिएको छ । २०७४ को चुनावमा एमालेले जाजरकोटमा प्रदेशसभाका लागि निरज आचार्यलाई टिकट दिएको थियो । माधव नेपालको कोटाबाट आचार्यले टिकट पाएपछि उनी प्रचारमा लागिसकेका थिए ।

तर, उम्मेदवारी दर्ता गर्ने बेलामा एक्कासी आचार्यको टिकट खोसियो । उम्मेदारी दर्ता गराउने तयारी भइरहेका बेलामा अध्यक्ष केपी ओलीले आचार्यको टिकट खोसिएको पत्र नै पठाए ।

त्यो पत्र खोस्नेमा महासचिव रहेका ईश्वर पोखरेलको विशेष हात रहेको चर्चा पनि चल्यो । र, आचार्यको टिकट खोसेर त्यस क्षेत्रमा माओवादीको उम्मेदवारलाई टिकट दिईयो । आचार्यको कोटाको टिकट भने एमालेले हुम्ला लग्यो । महासचिवपोखरेलले आफ्नो कोटामा त्यो टिकट एनजीओकर्मी दल रावललाई दिए । रावलले सुरुमा टिकट पाएका थिएनन् ।

खड्कालाई अर्को झट्का
टिकट नपाएपछि काठमाडौंबाट रन्थनिएर सुर्खेत पुगेका रावललाई यामलाल कँडेलकै प्रयासमा ईश्वर पोखरेलले अन्तिम दिन टिकट दिलाए । तिनै रावल अहिले एमालेको केन्द्रीय सदस्य भएका छन् ।

कर्णालीबाट निरज आचार्यसँगै रावल पनि केन्द्रीय सदस्य भएपछि अहिले कर्णालीमा चर्चाको विषय बनेको छ । अर्कातिर, महिला कोटाबाट केन्द्रीय सदस्यको दावेदार थिए सुर्खेतका दुई महिला मोहनमाया ढकाल र पद्मा खड्का । ढकाल वीरेन्द्रनगर नगरपालिकाकी उपमेयर पनि हुन् । उपमेयरको टिकटका लागि पनि ढकाल र खड्काको प्रतिस्पर्धा भएको थियो र कँडेलले ढकाललाई टिकट दिएका थिए ।

पछि खड्कालाई प्रदेशसभा सदस्य बनाउने सहमति जुट्यो । प्रदेश सांसद भइन् । अहिले पनि केन्द्रीय सदस्यका लागि दुवैको दावी थियो । त्यसमा ढकालले बाजी मारिन । खड्कालाई अर्को झट्का लागेको छ ।

एमाले कर्णालीमा असन्तुष्टि चुलियो
भूगोलमा भूमिका नै नभएको र क्षमताको हिसाबले पनि कमजोर रहेकी दैलेखकी मिना रखाललाई केन्द्रीय सदस्य बनाएको पनि कर्णालीमा असन्तुष्टि छ । दैलेखकी दीपा शर्मालाई पनि केन्द्रीय सदस्य बनाइएको छ ।

महाधिवेशन प्रतिनिधि नै आउन नसकेकी शर्मालाई एमालेले अन्तिममा मनोनित गरेर प्रतिनिधि बनाएको थियो । मनोनित महाधिवेशन प्रतिनिधिलाई केन्द्रीय सदस्य बनाएको भन्दै दैलेख र बाँकेमा शर्माप्रति असन्तुष्टि भइरहेको छ ।

एमाले यो पनि आश्चर्य नै भयो !
एमालेका प्रमुख सचेतक विशाल भट्टराई, सांसद कृष्णभक्त पोखरेल, पदम गिरी, धर्मराज निरौला, नरेश खरेल, गोमा देवकोटालगायतका नेताहरू केन्द्रीय कमिटीमा नपरेपछि एमालेमा अर्को आश्चर्य मानिएको छ ।

भट्टराई अध्यक्ष ओलीका विश्वासपात्र मानिन्थे । आउँदो निर्वाचनमा पनि जित्न सक्ने उम्मेदवारका रुपमा भट्टराईलाई हेरिएको थियो । तर, नवौं महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य भट्टराई अहिले केन्द्रीय सदस्यको सूचीमै नपर्नुलाई आश्चर्य मानिएको हो । भट्टराईलाई केन्द्रीय कमिटीमा नराख्न अध्यक्ष ओलीलाई विष्णु पौडेल र शेरबहादुर तामाङले कन्भिन्स गरेको आरोप छ ।

भट्टराईसँगै पार्वत गुरुङ, सुमन प्याकुरेललाई पनि अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा नल्याउने प्रयास गरेका थिए । उनीहरूलाई प्रदेशमा काम गर्न आग्रह गरेका थिए । यस्तो प्रस्ताव प्याकुरेल र गुरुङले अस्वीकार गरेका थिए ।

तर, भट्टराई मौन बसेपछि अध्यक्ष ओलीलाई थप सजिलो भएको थियो । यता, घनश्याम भुसालनिकट नेताहरूलाई केन्द्रीय कमिटीमा पारिएको छैन । भुसालनिकट टंक कार्की केन्द्रीय कमिटीमै नपरेपछि सचिवमा उम्मेदवारीदिएका थिए भने कञ्चनपुरका सांसदका दीपकप्रकाश भट्टलाई पनि केन्द्रीय कमिटीमा अटाईएको छैन ।

त्यसो त, सुरेन्द्र पाण्डेको आग्रहमा एस छाडेर एमालेमै बसेका नरेश खरेल र उनकी श्रीमती पवित्रा खरेल, नुवाकोटका नारायण खतिवडालाई पाण्डेले केन्द्रीय कमिटीमा अटाउन सकेनन् ।

प्रकाशित भएको : December 6th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु