एमसीसीका पक्षमा कांग्रेस, विपक्षमा माओवादी गुरुङ र भुसालको बीचमा भनाभन

 

काठमाडौं ।

सुदर्शन खबर

मंसिर २८ गते बोलाईएको संसदको अधिवेशनमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता अनुमोदनका विषयमा छलफल हुने ठानिएको छ । तर एमसीसीको विषयमा सत्तारुढ गठबन्धनकै दलहरु विभाजित रहेका छन् ।

सोमबार संसदीय सुनुवाइ समितिमा अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीको सुनुवाइका क्रममा सत्तारुढ नेपाली कांग्रेस र सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका नेताले आपसमा विपरीत धारणा राखे ।

माओवादी केन्द्रका सांसद देव गुरुङले एमसीसी सम्झौता संशोधन बिना पास हुन नसक्ने जिकिर गरे । जबकी नेपाली कांग्रेसक संसदीय दलकी सचेतक पुष्पा भुसालले भने एमसीसी सम्झौता संसदबाट अनुमोदनमा ढिलाइ गर्न नहुने बताइन् । अन्यथा नेपालले अहिलेसम्म गरेको लगानी खेर जाने, नेपालको बाह्य सम्बन्ध र आर्थिक सहायतामा असर पर्ने उनले बताइन् ।

माओवादी नेतादेव गुरुङले ‘एमसीसी आईपीएस (इन्डो प्यासेफिक रणनीति) को पार्ट हो भने कुरा खण्डन हुनुपर्छ । सहायता हो भने संसदबाट पारित किन गराउनुपर्ने भन्दै प्रश्न गरे । एमसीसी सम्झौता संसदबाट पारित गर्नुपर्ने प्रावधानले शंका उत्पन्न गराएको भन्दै गुरुङले भने ‘नेपालको कानुनसँग बाझिए सम्झौता लागू हुने भनियो । यसो भनिएको हुनाले पनि एमसीसीमा केही न केही स्वार्थ छ, केही न केही रहस्य छ ।

तर कांग्रेस नेतृ भुसालले भने देव गुरुङको भनाईको खण्डन गरिन् । उनले भनिन्, ‘माननीय देव गुरुङले आफ्ना कुरा त राख्नुभो तर डकुमेन्टले प्रुभ गर्नुपर्ने हुन्छ । सतही टिप्पणीले विरोध गर्न हुन्न । एमसीसीको समयसीमा तोकिएको छ । यसलाई पनि ख्याल गर्नुपर्छ’ सचेतक भुसालले भनिन् । भुसालले एमसीसीबारे भ्रम रहेको पनि बताइन् ।

‘एमसीसीको एक्टका धेरै सूचना बाहिर नगएकाले पनि कतिपयमा भ्रम परेको छ ।’ नेतृ भुसालले समयमै एमसीसी पास नगर्दा के हुन्छ भन्ने विषयमा स्पष्ट गरिदिन प्रस्तावित राजदुत खत्रीलाई आग्रह गरिन् ।

प्रकाशित भएको : December 6th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु