भिडिओ कन्फरेन्स गर्ने मोदीको प्रस्तावको ओलीले गरे स्वागत

 

प्रधानमन्त्री केपी शर्मा ओली कोरोना भाइरसबारे सार्क राष्ट्रका शीर्ष नेतृत्वबीच भिडिओ कन्फरेन्स गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावको स्वागत गरेका छन्।

शुक्रबार दिउँसो ट्वीट गर्दै प्रधानमन्त्री ओलीले मोदीको प्रस्तावको स्वागत गर्दै त्यसका लागि नेपाल तयार रहेको बताएका हुन्।

उनले भनेका छन्- कोरोना भाइरसविरूद्ध सार्क राष्ट्रको नेतृत्वले बलियो रणनीति बनाउने प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावको म स्वागत गर्छु। मेरो सरकार यो प्राणघातक रोगविरूद्ध लड्न र हाम्रा नागरिकको सुरक्षा गर्न सार्क राष्ट्रहरूसँग मिलेर काम गर्न तयार छ।

यसअघि भारतीय प्रधानमन्त्री मोदीले भिडिओ कन्फरेन्स गर्न प्रधानमन्त्री ओलीलाई औपचारिक निम्तो नै पठाएका थिए।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली अहिले पनि अस्पतालमै छन्। उक्त भिडिओ कन्फरेन्स कहिले गर्ने हो भन्ने अझै टुंगो छैन।

शुक्रबार ट्वीट गर्दै मोदीले मोदीले विश्वभर फैलिरहेको कोरोना भाइरसबारे दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रहरूले साझा रणनीति बनाउनु पर्ने बताएका छन्।

दक्षिण एसियामा विश्वको ठूलो जनसंख्या बस्ने भएकाले यहाँका नागरिकलाई स्वस्थ राख्न कुनै कसर पनि बाँकी राख्न नहुने मोदीको भनाइ छ।

‘कोरोना भाइरसविरूद्ध लड्नका लागि सार्क मुलुकहरूले बलियो रणनीति बनाउनु पर्ने मेरो प्रस्ताव छ। हामी भिडिओ कन्फरेन्सका माध्यमबाट हाम्रा नागरिकलाई स्वस्थ राख्नेबारे छलफल गर्न सक्छौं,’ मोदीले ट्वीटमा लेखेका छन्,‘सँगै भएर हामीले दुनियाँलाई एउटा उदाहरण पेस गर्न सक्छौं र स्वस्थ विश्वका लागि योगदान गर्न सक्छौं।

मोदीको उक्त प्रस्तावको सार्क राष्ट्रका अरू सरकार तथा राष्ट्र प्रमुखहरूले पनि स्वागत गरेका छन्। भुटानका प्रधानमन्त्री माल्दिभ्स र श्रीलंकाका राष्ट्रपतिले पनि ट्वीटरमा मोदीको प्रस्तावको स्वागत गर्दै आफूहरू त्यसका लागि तयार रहेको बताएका छन्।

शुक्रबारसम्म भारतमा कोरोना भाइरसबाट ७५ जना संक्रमित भएका छन् भने १ जनाको ज्यान गएको छ।

दक्षिण एसियाली क्षेत्रका ८ मुलुकमध्ये नेपालमा अहिलेसम्म यो भाइरस १ जनामा देखिएको थियो। भाइरस संक्रमित ती व्यक्ति निको भइसकेका छन्।

भुटानमा पनि अमेरिकाबाट आएका एक जनामा कोरोना भाइरस देखिएको छ।

पाकिस्तानमा २० जनामा यो भाइरस देखिएको छ। माल्दिभ्समा ८ जना संक्रमित भएका छन् भने श्रीलंकामा दुई जनामा यो भाइरस देखिएको छ। बंगलादेशमा अहिलेसम्म तीन जना कोरोना संक्रमित भेटिएका छन् भने अफगानिस्तानमा सात जनामा संक्रमण देखिएको छ।

प्रधानमन्त्री मोदीले यसअघि राजनीतिक मुद्दाहरूमा सार्कलाई बेवास्ता गर्दै आएका थिए।

पाकिस्तानसँगको भारतको तिक्तताले इस्लामावादमा हुने भनेको सार्क सम्मेलन हुन सकेको छैन। मोदी सत्तामा आएपछि काठमाडौंमा एक पटक सार्क सम्मेलन भएको थियो।

पछिल्लो समय मोदीले अर्को संगठन विम्स्टेकलाई सक्रिय बनाउन जोड दिँदै आएका छन्। विम्स्टेकमा पाकिस्तान सदस्य छैन।

कोरोना भाइरसका प्रकोपबारे भने मोदीले विम्स्टेकलाई भन्दा सार्कलाई जोड दिएका छन्।

अन्तिम पटक अपडेट गरिएको : May 22nd, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु