ईद मुबारक ! अस्पतालमै मनाए कोरोना संक्रमितले ईद

 

वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमित ४० वर्षीय अदाफ र १६ वर्षीय सफिक (दुवै जनाको नाम परिवर्तन) सोमबार बिहानै उठे ।

दुवै जनाले आलोपाले गरेर नुहाईधुवाई गरी बिहानको नित्यकर्म सके । त्यसपछि दुवैजनाले आइसोलेसन वार्डको भुईं सफा गरेर रुमाल बिच्छ्याए ।

अनि अल्लाह (भगवान) को नाममा दुवै जनाले नमाज (प्रार्थना) पढ्न सुरु गरे ।

यसो गरिरहँदा अस्पतालका बेडमा रहेका अन्य संक्रमितले भने उनीहरुको क्रियाकलाप हेरेर बसिरहे ।

वीरगञ्ज–३ छपकैयाका अदाफ र रफिक नमाज पढेपछि मुस्लिम समुदायको मुख्य पर्व इदुलफित्र (ईद) को अवसरमा एक अर्कामा शुभकामना साटासाट गरे ।

त्यसपछि मात्रै थाहा भयो अन्य संक्रमितलाई पनि आज ईद पर्व रहेछ भनेर ।

प्रत्येक वर्ष परिवारको साथमा ईद मनाउँदै आएका दुवै जनाले यो पटक भने अस्पतालमै मनाएका छन् ।

ईद पर्वमा नयाँ लुगा लगाउने प्रचलन भए पनि योपटक भने उनीहरुले पुरानै पहिरनमा ईद मनाएका छन् ।

लकडाउनका कारण परिवारका सदस्यहरुले पनि योपटक नयाँ लुगा लगाउन नपाएको उनीहरुले बताए ।

ईदको अवसरमा अस्पतालले सेवइको व्यवस्था गर्दैछ भन्ने जानकारी पाएको अदाफले बताए ।

आजको दिन मासु, खिर, मिष्ठान्नलगायतका परिकार खाने–खुवाउने चलन रहे पनि यो पटक भने त्यसबाट वञ्चित हुनुपरेको उनले बताए ।

अदाफले भने, ‘इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु)ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् ।

मस्जिदमा सबै पुरुष भेला भएर सामूहिक नमाज पढ्ने परम्परा छ ।

तर यो पटक कोरोना संक्रमणको जोखिमका कारण घरमै बसेर सबैले ईद मनाइरहेका छन् भन्ने अस्पतालबाट थाहा पाएको छु ।’

उनले अगाडि भने, ‘बिहानै घरमा फोन गरेर परिवारका सदस्यलाई सम्झाएको छु ।

घरमा जे छ मिठो मसिना बनाएर खानू र ईद मनाउनू । बाहिर ननिस्कनू भनेको छु ।

कोरोनालाई जितेर म आउँछु मेरो चिन्ता लिनु पर्दैन । अर्को वर्षसँगै ईद मनाउँला भनेको छु ।

तर पनि घरको मुली भएकोले होला परिवारका सदस्यले कसरी पर्व मनाइरहेका होलान् भनेर चिन्ता लाग्दो रहेछ ।’

आफूले अघिल्लो पटकको ईद पनि परिवारसँग बसेर मनाउन नपाएको उनले स्मरण गराए ।

‘अघिल्लो वर्ष बुबा बिरामी भएका कारण भारतको एक अस्पतालमा ईद मनाएको थिएँ ।

तर यो पटक आफैं बिरामी भएर अस्पतालमा ईद मनाउनु परेको छ,’ अदाफले भने ।

१६ वर्षीय सफिक भने आमा–बुबासँगबाट पहिलो पटक टाढा रहेर ईद मनाउँदा बढी दुःखी बनेका छन् ।

उनले भने, ‘घरमा परिवारका सदस्य, साथीभाइसँग बसेर मनाउँदाको बेग्लै आनन्द थियो । नयाँ लुगा लगाउने, सेवई, मिस्ठान्न, मासु लगायतका परिकार खान्थ्यौं ।

साथीभाइसँग गला मिलाएर शुभकामना साटासाट गथ्र्यौं । तर यो पटक अस्पतालमा परिवार, आफन्त तथा साथीभाइसँग टाढा बसेर मनाउनुपरेको छ । नरमाइलो लागेको छ ।’

प्रकाशित भएको : May 25th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु