सरकारले विदेशमा अलपत्र नेपालीलाई ल्याउन पहल थाल्यो, १० दिन भित्र २५ हजारलाई ल्याइने

 

लकडाउनका कारण समस्यामा परेका भारतबाहेक तेस्रो मुलुकमा रहेका नेपाली नागरिकहरुलाई सरकारले स्वदेश फर्काउने भएको छ ।

शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको कोडिभ १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले प्राथमिकता अनुसार विदेशमा रहेका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउने भएको हो ।

उक्त बैठकले विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउनेसम्बन्धी कार्ययोजना पारित गरेको छ ।

सोही बैठकमा कस्तो अवस्थाका नागरिकलाई कुन–कुन चरणमा स्वदेश फर्काउने भन्ने विषयमा कार्ययोजना पनि प्रस्तुत भएको छ ।

अब परराष्ट्र मन्त्रालयले १० दिनभित्र स्वदेश फर्कन चाहने विभिन्न देशमा रहेका नेपाली नागरिकहरूको विवरण संकलन गरेर सूची तयार गर्ने जनाइको छ ।

त्यस्तै, सोही सूची अनुसार नागरिकहरुलाई स्वदेश फर्काइने जानकारी गराइएको छ ।

आज पेश गरिएको कार्ययोजनामा मन्त्रीहरुले दिएका सुभाव अनुसार थप परिमार्जन गरेर फाइनल गर्न मुख्य सचिव नेतृत्वको कार्यादललाई जिम्मा दिइएको बताइएको छ ।

यसै कार्ययोजनाको बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी दिनका लागि मन्त्रीहरु बालुवाटार पुगेका जनाइएको छ ।

यस अगाडि नै मन्त्रीपरिषद बैठकले छिमेकी राष्ट्र भारत लगायत तेस्रो मुलुकमा अलपत्र परेका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउने नीतिगत निर्णय गरिसकेको छ ।

अब सम्बन्धित गन्तव्य मुलुक र दूतावाससँग समन्वय गरी कोरोना महामारीका कारण समस्यामा परेका नेपाली नागरिकहरुलाई विभिन्न चरणमा स्वदेश पर्काइनेछ ।

एक सातादेखि १० भित्र २५ हजारलाई ल्याइने

सरकारले यसक्रममा प्राथमिकताका आधारमा २५ हजार नेपालीलाई एक सातादेखि १० दिन भित्र नेपाल ल्याउने भएको छ ।

बिभिन्न देशबाट झन्डै ६ लाख नेपाली तत्काल आफ्नो देश फर्किन चाहेको तथ्यांक सरकारसंग सुरक्षित छ ।

सरकारले प्राथमिकताको आधारमा ल्याउन लागेकाहरुमा संयुक्त अरब इमिरेट्स युएइ, कतार, मालदिभ्स तथा बंगलादेशमा रहेका विद्यार्थीहरु समेत छन् ।

युएइमा फकाईन लागेका २८ जना बढी गर्भवती महिला छन् भने कुवेतमा लडकडाउनकै अवधिमा माफी पाएर देश फर्किन बसेका २५ सयदेखि ३ हजार घरेलु कामदार समेत छन् ।

प्रकाशित भएको : May 29th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु