बिहीबार १२ घन्टामा झन्डै ९० हजारले छाडे राजधानी

 

पछिल्लो समय बर्दियाका धनबहादुर पुन मगरलाई दुई छोराको साह्रै चिन्ता थियो। कीर्तिपुर ‘एपिएफ’ स्कुलको होस्टल बसेर पढिरहेका छोरालाई कोरोना भाइरसले समात्छ कि भन्ने पिरमा थिए उनी। छोराको परीक्षा कहिले सकिन्छ भन्दै औंला भाँच्न थाले।

परीक्षा तालिका आउनेबित्तिकै उनले काठमाडौं आउने तरखर गरे। बुधबार परीक्षा सकिनासाथ मगर दम्पती छोराहरू लिन आए।

‘डर थियो, अब ढुक्क भए। सबै जना आज (बिहीबार) नाइट गाडीमा जाँदैछौं। स्कुलले एक महिनापछि फोन गर्न भनेको छ,’ धनबहादुरले हँसिलो अनुहार बनाउँदै भने।

सुर्खेतकी प्रतीक्षा खड्का पनि बिहीबारै घर जान कस्सिएकी छन्। बोर्ड परीक्षा नजिकिएकाले सबै किताब र नोट बोकेरै जान लागेको उनले सुनाइन्।

‘वैशाख ३० गतेसम्म छुट्टी छ। अब घरै बसेर पढ्छु। बोर्ड परीक्षाको सूचना आएपछि मात्रै काठमाडौं फर्किन्छु,’ उनले सेतोपाटीसँग भनिन्।

धनबहादुर र प्रतीक्षा प्रतिनिधि पात्र मात्रै हुन्। सरकारले सबै परीक्षा र जमघट रोकेपछि राजधानी छाड्नेको संख्या बढ्दो छ।

बिहीबार झन्डै ९० हजारले उपत्यका छाडेको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भिमप्रसाद ढकालले जानकारी दिए।

‘बिहीबार १२ घन्टामा उपत्यकाबाट १६ हजार ८ सय २४ सवारी साधनमा ८९ हजार ८ सय ४ जनाले उपत्यका छोडेका छन्,’ उनले भने। त्यस्तै १३ हजार ४ सय ५२ वटा सवारी साधनमा ५६ हजार ९ सय २५ यात्रु उपत्यका भित्रिएका पनि उनले जानकारी दिए।

काठमाडौंबाट बाहिरिने आँकडा सामान्य दिनभन्दा दुई गुणा धेरै भएको ढकाल बताउँछन्।

‘बुधबारसम्म त सामान्य थियो। बिहीबार अचानक यात्रु संख्या बढ्यो। हामीले ट्राफिक प्रहरीलाई बसपार्कदेखि नाकासम्म चनाखो राखेका छौं। ट्राफिक व्यवस्थापनमा समस्या हुँदैन,’ ढकालले भने।

यात्रु चाप मध्यनजर गर्दै यातायात व्यवस्था विभागले एक महिनाका लागि देशभर रूट पर्मिट खुला गरेको छ। विभागले सूचना जारी गर्दै चैत मसान्तसम्म सबै शैक्षिक प्रतिष्ठान बन्द हुने र परीक्षा स्थगित भएकाले विद्यार्थीहरू मुख्य सहरबाट एकैपटक घर जाने भएकाले वैशाख ३ गतेसम्म रुट परमिट खुला गरिएको जनाएको छ।

त्यस्तै विभागले सिट संख्याभन्दा धेरै यात्रु नचढाउन र सवारी साधनको सरसफाइमा विशेष ध्यान दिन यातायात व्यवसायीलाई निर्देशन समेत दिएको छ।

आपतको घडीमा सबैले सहयोग गर्नुपर्ने र यातायात क्षेत्र पनि सहयोग गर्न पछि नहट्ने यातायात व्यवसायी महासघंका महासचिव सरोज सिटौलाले बताए।

संसारभर कोरोना संक्रमण फैलँदासम्म सरकारले सबभन्दा जोखिमको यातायात क्षेत्रमा भने बेवास्ता गरेको उनको आरोप छ।

‘हामीले बारम्बार बसपार्क र नाकामा हेल्थ डेस्क राख्न भनेका थियौं। शुक्रबारबाट बल्ल सुरू गर्ने रे। मरेपछि औषधि गरेर त भएन नि,’ सिटौलाले भने, ‘गाडी सफा गर्ने भनेका छन्। गर्नु पर्छ तर स्यानिटाइजर अभाव छ, कहाँबाट ल्याउने? हामी आफैं किन्छौं बरू, सरकारले यातायात जस्तो संवेदनशील क्षेत्रलाई मास्क र स्यानिटाइजर उपलब्ध गराउनु पर्छ।’

अन्तिम पटक अपडेट गरिएको : April 1st, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु