विरोध पछि पोखरा भित्रिने तरकारी र फलफूलको मापदण्ड निर्धारण, कृषि उपज नष्ट गरिएको घटना प्रति कृषि मन्त्रालयको ध्यानाकर्षण

 

पोखरा भित्रिने फलफूल तथा तरकारीले कोरोना आउन सक्ने भन्दै लगाएको रोकमा लगाइएकोमा विरोधपछि पोखरा महानगरपालिकाले छुट्टै मापदण्ड तय गरेको छ ।

महानगरले सोमबार कास्की जिल्ला तथा महानगरपालिकाका प्रवेशद्वारहरुमा फलफूल तथा तरकारी भित्राउँदा अनिवार्य रुपमा चेकजाँच गर्नुपर्ने निर्देशनात्मक सूचना जारी गरेको छ ।

सूचनामा फलफूल तथा तरकारीहरुको खरिद दररेट मूल्य खुलेको सक्कल बिल भरपाइ अनिवार्य रुपमा पेस गर्नुपर्ने, महानगरको कुन स्थानमा झार्ने हो भने खुलाउनुपर्ने, तरकारी वा फलफूलको सवारी साधनमा चालक र सहयोगी गरी २ जनाभन्दा बढी चढाउन नपाइने उल्लेख छ ।


यसअघि महानगरको जेठ ११ गतेको सर्वपक्षीय बैठकले कोरोना महामारी भित्रिन सक्ने भन्दै पोखरामा बाहिरी जिल्लाबाट तरकारी र फलफूल ल्याउन नदिने निर्णय गरेको थियो ।

जसअनुसार काभ्रे, चितवन लगायतका जिल्लाबाट पोखरा भित्राइएको तरकारी पोखरा १५ र ३३ का स्थानीयले नियन्त्रण लिएर खाल्डो खनी गाडेका थिए ।

पोखरामा जस्तै कपिलवस्तुबाट अर्घाखाँची ढुवानी भएको तरकारी कोरोना सर्ने भन्दै प्रमुख जिल्ला अधिकारीकै निर्देशनमा नष्ट गरिएको थियो

यसैबिच एक जिल्लामा उत्पादन भएकाे तरकारी तथा फलफूल अर्को जिल्लामा बिक्री वितरण गर्न नदिई नष्ट गरिएको घटनाप्रति कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गम्भीर चासो व्यक्त गरेको छ ।

कृषि सचिव राजेन्द्रप्रसाद भारीले एक विज्ञप्ति जारी गर्दै स्वदेशी उत्पादन नष्ट गरेर किसानको मनोबल खस्काउने काम नर्गन सबैलाई अपिल गरेका छन् ।
‘स्वास्थ्यको मापदण्ड पालना गर्दै कृषि सामग्री तथा उपजहरुको ढुवानी तथा बिक्री वितरण सुचारु राख्न मन्त्रालयले गरेको पटक पटकको आग्रह अटेर गरी कृषि उपज नष्ट भएकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ मन्त्रालयले भनेको छ ।

कृषि उपज नष्ट गर्ने कार्यले कृषकको मनोबल खस्कने, उत्पादन घट्ने र पुनः आयातकै भर पर्नु पर्ने अवस्था आउन सक्ने भन्दै मन्त्रालयले यस्तो कार्य नगर्न सबै पक्षलाई आग्रह गरेको हाे ।

कृषि उपज ढुवानी, वितरण र बिक्री कार्यमा सहज वातावरण बनाईदिन कृषि मन्त्रालयले अन्य मन्त्रालयसँग आग्रह समेत गरेको छ ।

 

प्रकाशित भएको : June 2nd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु