प्रेस रिभ्यू : भारतसँग सीमा बन्द गर्न पत्र, लकडाउनको तयारी तर, प्रभावित देशका नागरिक निस्फिक्री नेपालमा घुम्दै

 

काठमाडौँ । आज चैत ७ गते शुक्रबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा कोरोना भाइरसको संक्रमणका बीच त्यसको रोकथामका लागि नेपालमा भइरहेको तयारीको बारेमा समाचारहरुले प्राथमिकता पाएका छन् ।

कोरोना संक्रमणको बढ्दो जोखिमसँगै दक्षिणी छिमेकी भारतसँगका सम्पूर्ण खुला सीमा निश्चित समयका लागि सिल गर्ने सहितको प्रस्ताव नेपालले भारतलाई पठाएको कान्तिपुर दैनिकमा छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संक्रमणको गाम्भीर्य र त्रासदीपूर्ण स्थितिमाझ नेपाल–भारत खुला सीमाबारे ‘थप गम्भीर’ हुनैपर्ने बताउँदै नेपालले सीमा व्यवस्थापनबारे साझा धारणा बनाउन भारतलाई पठाएको प्रस्तावमा ‘जवाफ नसकेको’ बताए ।

‘नेपाल र भारत दुवैतर्फ स्थिति भनरेबल बनिसकेको छ, खुला सीमामा कडाइका साथ व्यवस्थापन र अनुगमन हुनैपर्छ,’ मन्त्री ज्ञवालीले भने । यो सातादेखि सुनौली, काँकडभिट्टा, जोगबनी र गड्डाचौकी स्थल नाकाबाट मात्र दुईदेशीय नागरिक आवतजावत गर्न दिइने भनिए पनि निर्णय उपयोगी देखिन सकेको छैन ।

कान्तिपुर दैनिकले कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको सम्भावनालाई ध्यान दिँदै सरकारले आवश्यक परे लकडाउनसमेत गर्न चारवटै सुरक्षा निकाय र स्वास्थ्यकर्मी सम्मिलित मोडालिटीको गृहकार्य गरेको समाचार प्रकाशित गरेको छ ।

संक्रमण फैलन नदिन र नागरिकलाई सुरक्षित राख्न निश्चित अवधिसम्म ‘सेल्फ क्वारेन्टाइन’ को व्यवस्था मिलाउनुपर्ने आँकलन गर्दै गृह मन्त्रालयले यस्तो गृहकार्य गरेको हो ।

त्यसअनुसार संक्रमति भेटिए आवश्यकता अनुसार सम्बन्धित सहर वा निश्चित भूभागमा लकडाउन गर्न सकिने खाका बनाउन लागिएको हो ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बिहीबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा लकडाउन मोडालिटीबारे छलफल भएको थियो ।

बैठकमा सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीले सबैखाले तयारी गर्नुपर्ने सुझाव दिएका थिए ।

सार्क राष्ट्रबीच कोभिड–१९ विरुद्ध लड्ने बाचा कार्यान्वयन गर्न सार्कका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली सक्रिय भएको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

गत आइतबार सार्कका राष्ट्र एवम् सरकार प्रमुखले भिडियो कन्फरेन्समार्फत कोभिड–१९ विरुद्ध लड्ने बाचा गरेका थिए। राष्ट्र एवं सरकार प्रमुखले सहकार्यको बाचा गरेको एक साता पुग्नै लाग्दा पनि कुनै तयारी अघि नबढेपछि प्रधानमन्त्री ओली सक्रिय भएका हुन्।

उनले यसको तयारीबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र परराष्ट्र सचिव शंकरदास बैरागीसँग जानकारी मागेका छन्। छलफलका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महामारीको यो युद्ध सँगै लडेर दक्षिण एसियाली सहकार्यलाई दुनियाँमा नमुना बनाउनुपर्ने प्रस्ताव गरेका थिए। उनको प्रस्तावमा सबैले सहकार्य गर्ने बाचा गरेका थिए।

भिडियो कन्फरेन्सपछि परराष्ट्र सचिव स्तरमा लगातार छलफल गर्ने भनिएको थियो। तर यसबारे कुनै कार्य अघि बढ्न सकेको छैन।

प्रधानमन्त्रीको निजी सचिवालयका एक सदस्यले भने, ‘प्रधानमन्त्रीले सार्क कन्फरेन्सपछिको विषयमा चासो राख्नुभएको छ।

परराष्ट्रले यसमा झारा टार्न खोजेमा प्रधानमन्त्रीलाई सह्य हुँदैन।’ उनका अनुसार सार्कका बाचा कार्यान्वयनमा नजाने त होइन भन्ने प्रश्न उठेको छ।

भारतीय प्रधानमन्त्री मोदीको प्रस्ताव सबै सदस्य राष्ट्रले स्वीकार गरे पनि कर्मचारीतन्त्र बाधक हुन सक्ने एक कूटनीतिज्ञको भनाइ छ।

परराष्ट्र सचिव बैरागीले भने भारतीय प्रस्तावमा सहकार्य र छलफल भइरहेको जानकारी दिए। उनले भने, ‘हामी कसरी अघि बढ्ने भनेर छलफल गरिरहेका छौं। भारतीय राजदूत विनयमोहन क्वात्रा र सार्क महासचिवसँग छलफल भइरहेको छ,’ सचिव बैरागीले भने, ‘काम भइरहेको छ। हामी नयाँ योजनासहित छिट्टै आउनेछौं। ’ भारतीय दूतावासका प्रवक्ता अभिषेक दुवेले सार्क सहकार्यमा भारतको जोड रहेको स्पष्ट पारे। उनले भने, ‘कन्फरेन्सपछिको अवस्थाबारे आन्तरिक छलफल भइरहेको छ। सदस्य राष्ट्रलाई सहयोग गर्न भारत तयार छ।’

कोरोना भाइरस (कोभिड–१९) को त्रास बढिरहेका बेला ग्यास, मास्कलगायत दैनिक अत्यावश्यक वस्तुमा कालोबजारी गर्नेहरू धेरै भेटिएका छन्।

सरकारी निकायले कालोबजारी गर्नेलाई दैनिकजसो पक्राउ गर्न सफल भएको छ। समस्याबीचमा केही व्यक्ति भने पीडितलाई सहयोग गर्न स्वतःस्र्फूत रूपमा अघि सरेको नागरिक दैनिकमा समाचार छ । त्यस्तै व्यक्तिमध्येमा पर्छन्, कुलेश्वरका लालचन्द्र गौतम र उनकी पत्नी वन्दना।

विश्वव्यापी रूपमा महामारी बनेर फैलिरहेको कोरोनाबाट नेपाली पनि संक्रमित हुने खतरा देखिएपछि गौतम दम्पतीले कुलेश्वरको लिकरोडस्थित आफ्नो घरलाई ‘क्वारेन्टाइन’का रूपमा तयार पारेको छ। विदेशबाट आएका, काठमाडौंमा घर नभएका तथा परिवारसहित एउटै कोठामा बस्दै आएका व्यक्तिलाई लक्षित गरी उनले निजी घरलाई क्वारेन्टाइन बनाएका हुन्।

भक्तपुरकी विणा प्रजापतिले लन्डनबाट आउँदै गरेका भाइका लागि क्वारेन्टाइन खोजी गरेपछि बिहीबार साँझ चिराग गोयलले सिफलचौरस्थित आफ्नो घरको कोठा तयारी अवस्थामा राखेका छन्।

गोयलले पनि आशंकित कोरोना संक्रमित नौजनासम्म बस्न मिल्नेगरी घरलाई क्वारेन्टाइनमा रूपान्तरण गरेका छन्। उनले पनि कोरोना संक्रमण आंशका गरिएका व्यक्ति १४ दिनसम्म निःशुल्क बस्न मिल्ने बताए। एक साता अवधिमा तीनजनाले गोयलको घर प्रयोगसमेत गरिसकेका छन्।

करिब सय शड्ढयाको समता अस्पताल सञ्चालन गरिरहेका उत्तम सञ्जेलले पनि सहयोगका लागि तयार रहेको बताए। ‘संकटको बेला नकारात्मक मात्र होइन, शुभ कुरा पनि हुुनुपर्छ,’ उनले भने। उनले कोरोना संक्रमितका लागि आवश्यक परे समता अस्पताल एकरडेढ वर्ष नै सरकारलाई दिन तयार भएको बताए।

चीनको वुहानमा कोरोना फैलिएर विश्वको ध्यानाकृष्ट भएको ६० दिन पुग्दा हाम्रोमा एउटा पनि आइसियू बेड थपिएको छैन, अझै पनि भारत, चीन, थाइल्यान्ड, सिंगापुर र अमेरिकाबाट आउन रोकतोक छैन, आएकालाई पनि निष्फिक्री घुम्ने छुट छ, यो बीचमा इटलीलगायत सिंगो युरोप, इरान र अमेरिकाले असाधारण मूल्य चुकाएका छन्, तर मौका पाएर पनि हामी चुक्दै छौँ ।

नयाँ पत्रिका दैनिकले लेखेको छ । प्रभावित देशबाट आउने नेपालीलाई घरमै क्वारेन्टाइनमा बस्न भनिएको छ । तर, बसे–नबसेको अनुगमन छैन । त्यस्तै विदेशी पर्यटकलाई फारम भराएर उनीहरूले चाहेको होटेलमा बस्न भनिएको छ । होटेलबाट बाहिर ननिस्कन र घुमघाम नगर्न उनीहरूलाई अनुरोध गरिएको छ ।

तर, पर्यटकहरू काठमाडौं हुँदै चितवन, पोखराका रेस्टुरेन्टमा घुमिरहेका छन् । भारतका १७ राज्यमा कोरोना भाइरस फैलिएको छ । पछिल्लोपटक कोरोना देखिएको उत्तर प्रदेशको सीमावर्ती क्षेत्र लखिमपुर–खिरी नेपालका कैलाली र कञ्चनपुरबाट नजिक पर्छ ।

रुपेडिया नाका भएर भारतीय र नेपालीको लखनउ र नेपालगन्ज झन् बाक्लो आउजाउ हुन्छ । तर, सीमाका चेकपोस्टमा ज्वरो नाप्ने थर्मल गनसमेत नहुँदा नेपालमा जोखिम बढेको छ । कतिपय स्थानमा थर्मोमिटरबाटै चेकजाँच हुने गरेको छ ।

चीनमा कोरोना पैmलिएकै वेला अर्थात् १५ पुसदेखि फागुन अन्तिमसम्म नेपालमा दमलगायतका श्वासप्रश्वासका दुई हजार ६ सय २७ बिरामीलाई आइसियूमा राखेर उपचार गरिएको छ । यहीबीचमा श्वासप्रश्वासका कारण २० जनाको मृत्यु पनि भएको छ ।

श्वासप्रश्वासका बिरामीको यो संख्या नियमितभन्दा फरक र असाधारण होइन । तर, यसवेला संक्रमण पैmलिएकाले सतर्कताका लागि उनीहरूको पनि कोरोना टेस्ट गर्न स्वास्थ्य मन्त्रालयले नै निर्णय गरेको थियो । तर, अहिलेसम्म ती बिरामी कसैको पनि टेस्ट गरिएको छैन । मन्त्रालयले आफ्नै निर्णयको अनुगमनसमेत गरेको छैन ।

अन्तिम पटक अपडेट गरिएको : April 1st, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु