प्रधानमन्त्री ओलीले भनेजस्तै भारतमा छुट्टै प्रकारकाे कोरोना भाइरस फेला

 

केही समय अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट नेपाल भित्रिएकाे कोरोनाभाइरस (कोभिड-१९) चाहिँ अरू देशको भन्दा पनि खतरनाक भएको बताउनुभएको थियो ।

आर्थिक वर्ष ०७७/७८ लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले भन्नुभएको थियो, ‘चीनको उहावनबाट आएको भाइरस अलिक नरमै देखिएको थियो, इटालीबाट आएको पनि नरमै देखिएको थियो, दुवईबाट आएको पनि नरमै थियो तर भारतबाट आएको चाहिँ अलिक कडा देखियो ।’

प्रधानमन्त्री उक्त अभिव्यक्ति पछि भारतीय मिडियाले प्रधानमन्त्री ओलीको उक्त भनाइलाई ‘आधारहीन’ देखाउन कुनै कसर बाँकी राखेनन् ।

भारतका केही टेलिभिजन च्यानलले यस विषयमा ‘टक शो’ नै चलाए । उनीहरुले प्रधानमन्त्री ओलीले भारतलाई अपमानित गरेकाे निष्कर्ष निकालेका थिए ।

तर अहिले भारतीय वैज्ञानिकहरुले नै भारतमा कोरोना भाइरसको नयाँ प्रकार पाइएको पुष्टि गरेका छन् ।

नवभारत टाइम्सका अनुसार हैदरावादको सेन्टर फर सेल्युलर एन्ड मोलिक्यूलर बायोलोजी (सीसीएमबी) का वैज्ञानिकले भारतका कोरोना संक्रमितमा कोरोनाभाइरसकै नयाँ प्रकारको भाइरस पत्ता लगाएका हुन् ।

वैज्ञानिकहरूले उक्त काेराेनाभाइरसलाई ‘क्लेड ए३आई’ नाम दिएका छन् । यस्तो भाइरस भारतमा जीनोम (जीनहरुको समूह) सिक्वेन्सका ४१ प्रतिशत नमूनामा पाइएको छ । यस्तो भाइरस दक्षिणी राज्य तमिलनाडु र तेलंगानामा बढी पाइएको छ ।

वैज्ञानिकहरूकाे अनुसार २०२० फेब्रअरीमा ‘क्लेड ए३आई’ भाइरस सुरू भएकाे बताएका छन् ।

सीसीएमबीका निर्देशक तथा रिसर्च पेपरका सहलेखक राकेश मिश्राका अनुसार तेलंगाना र तमिलनाडुबाट लिइएका धेरैजसो नमूनामा ‘क्लेड ए३आइ’ पाइएको छ ।

भाइरसहरु म्युटेसन हुने सम्भावना रहन्छ । यसले गर्दा एउटै भाइरसको स्वरुप पनि परिवर्तन भइरहेको हुन्छ । कोरोनाभाइरसको म्युटेसनको बारेमा विश्वभर अध्ययनहरु भइरहेका छन् ।

प्रकाशित भएको : June 4th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु