सबैले चिन्नुहोस् मालपोतका घुस्याहा कर्मचारीहरु : ४८ लाख मागेर ८ लाख ५० हजार पक्रिदै थिए

 

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारका ६ जना कर्मचारी ८ लाख ५० हजार घुससहित पक्राउ परेका छन् ।

उनीहरुले ४८ लाख मागेको खुल्न आएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका विशेष टोलीले उनीहरुलाई घुस लिँदालिँदै पक्राउ गरेका हुन् ।

पक्राउ हुनेहरुमा मालपोत कार्यालयका शाखा अधिकृत रघुवंश कँडेल, नासु नवराज घिमिरे, नासु नारायण प्रसाद पोखरेल, नासु उद्धव प्रसाद सापकोटा, खरिदार दिपक खनाल, नासु गोपाल खड्का छन् ।

पक्राउ परेका कर्मचारीहरुले काठमाडौंका एक जग्गा धनीसँग कित्ताकाटका लागि घुस मागेका थिए ।

काठमाडौंका एकजना जग्गा धनीले जग्गा बिक्रीका लागि कित्ताकाट गर्न खोजेका थिए । सबै जग्गालाई २४ कित्तामा विभाजन गर्ने ती व्यक्तिको तयारी थियो । यही योजनाका साथ उनी डिल्लीबजार पुगे ।

डिल्लीबजार पुग्दा कर्मचारीले उनीसँग पैसाको ‘डिल’ गर्न खोजे । अख्तियारको फन्दामा परेका ६ जनाको समुहले सुरुमा ती व्यक्तिसँग प्रतिकित्ता २ लाख रुपियाँ मागे ।

२४ कित्तामा जग्गा विभाजन गरे बापत् उनीसँग ती कर्मचारीको समुहले ४८ लाख मागे ।

लगातारको छलफलपछि ती व्यक्ति र कर्मचारी समुहसँग १७ लाख रुपियाँ लिने दिने सहमति भयो ।

सोही अनुरुप आज मंगलबार ८ लाख ५० हजार अर्थात ५० प्रतिशत बुझाउने सहमति भयो ।

सोही सहमति अनुसार काठमाडौं सामाखुसी चोकमा रहेको एक पार्टी प्यालेसमा बसेर पैसाको कारोबार गर्ने सहमति भयो ।

बाँकी ५० प्रतिशत पैसा काम सकेर बुझाउने सहमति थियो । तर, यो कुरा यहीबीचमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीको कानमा पुग्छ ।

र, अनि अख्तियारको टोलीसँगको मिलेमत्तोमा ती कर्मचारीहरुलाई घुस लिँदालिँदै पक्राउ गरेका हुन् ।

News Source

प्रकाशित भएको : June 17th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु