
रुसी सैनिकको मुख्य कमान्डर हाम्रो गोलीको शिकार बनिसके : युक्रेन
सुदर्शन खबर \
फाल्गुन २५ , २०७८
एजेन्सी
रुसी सैनिकका उच्च कमाण्डर खार्किभ नजिकै भएको युद्धको क्रममा मारिएको युक्रेनले जनाएको छ ।
रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएको छ । युक्रेनका सैनिकले लगातार प्रतिरक्षा गर्दै आएका छन् ।
युक्रेनको दोस्रो ठूलो शहर खार्किभ लगातार रुसी सैनिकको निशानामा छ । त्यहाँ भएको भिडन्तको क्रममा रुसी सेनाका एक उच्च कमाण्डर मारिएको युक्रेनको रक्षा मन्त्रालय अन्तर्गतको गुप्तचर एजेन्सीले जनाएको हो ।
अहिलेसम्म रुसी अधिकारीले यसबारे केही बताएका छैनन् । तर युक्रेनको रक्षा मन्त्रालयले जारी गरेको वक्तव्य अनुसार रुसी सेनाका मेजर जनरल भिताली गिरासिमोभ मारिएका हुन् । उनी चिफ अफ स्टाफ तथा ४१ औँ आर्मी अफ द सेन्ट्रल मिलिटरी डिस्ट्रिक्ट अफ रुसका फर्ट डेपुटी कमाण्डर हुन् ।
यस्तै रुसी आर्मीका अरु केही उच्च अधिकारीहरु पनि मारिएको र घाइते भएको वक्तव्यमा उल्लेख छ ।
दोस्रो चेचेन युद्धमा सामेल भएका गिरासिमोभ सिरियामा भएको रुसी सैन्य अभियानमा पनि सहभागी रहेको यक्रेनी गुप्तचर निकायले बताएको छ । २०१४ मा क्राइमिया रुसमा गाभेपछि उनले मेडल पनि पाएका थिए ।
युक्रेनी अधिकारीले गिरासिमोभको तस्बिर ट्वीट गरेर समेत उनी मारिएको जानकारी दिएका छन्।
प्रतिकृया दिनुहोस्