कर्णाली प्रदेश अस्पतालको आकस्मिक कक्ष सिल, स्वास्थ्यकर्मी क्वारेन्टिनमा

 

कर्णाली प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका तीन जनामा कोभिड–१९ संक्रमण देखिएपछि अस्पतालको आकस्मिक कक्ष सिल गरिएको छ । यस्तै ४२ जना स्वास्थ्यकर्मीको टोली क्वारेन्टिनमा बसेको छ ।

३१ जेठमा सुर्खेतका एक जना र ३२ जेठमा दैलेखका दुई जना बिरामी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए । आकस्मिक कक्षमा भर्ना भएका सबै बिरामीको स्वाब संकलन गरेर कोरोना परीक्षण गर्दै आएकोमा बुधवार उनीहरु तीनै जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

तीनै जनामा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको नियमित परीक्षण र रेखदेखमा खटिएका स्टाफ नर्स र एचएसहित ४२ जना स्वास्थ्यकर्मीको टोली क्वारेन्टिन बस्नु परेको प्रदेश अस्पतालका निर्देशक डा. डमर खड्काले बताए ।

दैलेखका दुई जना विरामीमध्ये एक जना विगत आठ महिनादेखि टिबीको बिरामी थिए । दैलेख र सुर्खेतका अर्का एक/एक जनाले भने विष सेवन गरेपछि उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

मनाङमा पनि पुग्यो कोरोन, गण्डकी प्रदेशमा एकैपटक थपिए ४२ कोरोना संक्रमित

मनाङको चामे गाउँपालिकाका एक कर्मचारीसहित गण्डकी प्रदेशमा ४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय पोखराले बिहीबार बिहान दिएको जानकारीअनुसार पूर्वी नवलपरासीमा १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हिमाली जिल्ला मनाङमा कोरोना संक्रमण देखिएको पहिलो पटक हो । गण्डकी प्रदेशमा अब मुस्ताङबाहेक १० वटै जिल्लामा कोरोना संक्रमित फेला परेका छन् ।

४२ जना थपिएपछि गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या २८९ पुगेको छ ।

मनाङको चामे गाउँपालिकाका कर्मचारीमा कोरोना पुष्टि

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार मनाङको चामे गाउँपालिकामा कार्यरत एक जना पुरुष कर्मचारीमा कोरोना पुष्टि भएको छ । उनको स्थायी ठेगाना भने कपिलवस्तुको बाँणगंगा–१४ रहेको शर्माले जानकारी दिए ।

यसैगरी पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा १७ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु १७ देखि ४५ वर्ष उमेर समूहका पुरुष हुन् । डा. शर्माका अनुसार दुई जनाको भने उमेर खुलेको छैन ।

यसैगरी पूर्वी नवलपरासीकै गैंडाकोट नगरपालिकाका २८ वर्षीय एक जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

तनहुँका १२ संक्रमितमध्ये ऋषिङ गाउँपालिकाका ७, भानु नगरपालिकाका ४ र शुक्लागण्डकी नगरपालिकाका १ जना छन् । उनीहरु १८ वर्षदेखि ५२ वर्ष उमेर समूहका पुरुष हुन् ।

यस्तै गोरखाको पालुङटार नगरपालिकामा ७ जना र शहिद लखन गाउँपालिकामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पालुङटारमा २३ देखि ४६ वर्ष उमेर समूहका ६ जना पुरुष र ४० वर्षीया एक जना महिलामा संक्रमण देखिएको छ ।

गोरखाकै शहिद लखन गाउँपालिकामा ५४, ३१, ३८ र २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

प्रकाशित भएको : June 18th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु