भुटानमा कोरोना भाइरसको दोस्रो ‘केस’, तीनपटक परीक्षण गर्दा नेगेटिभ, चौथोमा पोजेटिभ

 

भुटानमा ७६ वर्षीय अमेरिकी नागरिकपछि उनकी श्रीमतीलाई पनि कोरोना संक्रमण देखिएको छ। भारतीय सञ्चारमाध्यम आउटलुकका अनुसार शुक्रबार जाँच क्रममा ५९ वर्षीया महिलालाई कोरोना संक्रमण देखिएको हो।

उनी भुटानमा पहिलो संक्रमण देखिएका अमेरिकी नागरिकसँगै आएकी थिइन्। श्रीमानलाई कोरोना संक्रमण देखिएपछि उनकी श्रीमतीलाई पनि क्वारेन्टाइनमा राखिएको थियो। भुटानका प्रधानमन्त्री लोटे छिरिङले ती महिला देशमै कोरोना संक्रमित दोस्रो व्यक्ति भएको पुष्टि गरेका आउटलुकले लेखेको छ।

फागुन २२ गते अमेरिकी पुरूषलाई कोरोना देखिएपछि उनीसँगै आएकी ती महिलालाई क्वारेन्टाइनमा राखिएको थियो। क्वारेन्टाइन अवधिमा उनको तीन पटक परीक्षण गरिए पनि कोरोना संक्रमण देखिएन। १५ दिन क्वारेन्टाइन सकेर चौथो पटक परीक्षण गर्दा बल्ल शुक्रबार उनमा कोरोना भएको देखिएको हो।

ती अमेरिकी दम्पत्ती फागुन १९ मा भारतको गुवाहटीबाट भुटान पुगेका थिए। उनीहरूसँग प्रत्यक्ष सम्पर्कमा आएका स्थानीय गाइड र चालकले पनि शुक्रबार क्वारेन्टाइन अवधि पूरा गरे। उनीहरूमा कोरोना संक्रमण पाइएको छैन। परीक्षण गरिएका अरू ४० जनामा पनि संक्रमण देखिएको छैन।

कोरोना देखिएका पुरुषलाई भने उपचारसँगै गत साता नै अमेरिका फिर्ता गरिएको बताइएको छ।

ती महिलालाई भने क्वारेन्टाइन सकेर अन्तिमको परीक्षणमा मात्र संक्रमण देखिएको प्रधानमन्त्री छिरिङले जानकारी दिएका छन्। यसअघिका सबै परीक्षण नकारात्मक देखिएका थिए।

प्रधानमन्त्रीका अनुसार ती महिलाको स्वास्थ्य अहिले राम्रै छ। उनलाई शुक्रबारदेखि नै आइसोलेसनमा राखेर निगरानी थालिएको छ।

भुटानको यो घटनासँगै कोरोना संक्रमण र परीक्षणबारे ध्यान दिनुपर्ने देखिएको भुटानी अखबार द भुटानिजका सम्पादक तेन्जिङ लम्साङले बताएका छन्। उनले ट्विटमार्फत् ती महिलाको परीक्षण र संक्रमणबारे जानकारी दिँदै भनेका छन्- भुटानको यो घटनाबाट सिक्न जरूरी छ।

उनले भनेका छन्- ‘भुटान आएको १९ औं दिनमा मात्र ती महिलालाई कोरोना भएको देखियो। जबकी उनीहरू दुवै जना असाममा कोरोना संक्रमितसँग सम्पर्कमा आएको २८ दिन भएको छ। पुरुषमा १९ दिनअघि नै संक्रमण देखिए पनि महिलामा बल्ल देखिएको छ। यो चिन्ताजनक विषय हो।’

फागुन २२ गते पहिलो संक्रमण देखिएपछि सानो मुलुक भुटानले रोकथामका लागि चालेका कदम भने उल्लेखनीय छन्।

भुटानले ती अमेरिकीबारे संकलन गरेका सूचना र तत्कालै चालेका कदमबाट कोरोनालाई सरकारले कति गम्भीरताका साथ लिनुपर्छ र सावधानी अपनाउनुपर्छ भन्ने देखिन्छ।

अमेरिकी नागरिकमा कोरोना देखिएपछि भुटानको प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भुटानमा उनले के-के गरे भन्ने विस्तृत खुलाइएको छ।

ती अमेरिकी दम्पती फागुन १९ मा भारतको गुवाहटीबाट ड्रुक एयरको फ्लाइट नम्बर केबी २४१ को जहाज चढेर पारो विमानस्थलमा पुगेका थिए। फागुन ६ गते वासिङ्टनबाट यात्रा सुरू गरेका उनीहरू फागुन ९ देखि १८ गतेसम्म भारत घुमे। पारो विमानस्थलमा उनीहरूको परीक्षण गरिए पनि ज्वरो देखिएको थिएन।

यो दम्पती गुवाहटीबाट पारो आउँदा चढेको विमानमा १० जना मात्र यात्रु थिए, बाँकी ८ जना भारतीय नागरिक हुन्। त्यही दिन दिउँसो राजधानी थिम्पु पुगेपछि पेट ढुस्स भएर अप्ठ्यारो भएको भन्दै उनी एक अस्पतालको ओपिडीमा जँचाउन गएका थिए। रक्तचापको समस्या भएका नियमित त्यसको औषधि खाइरहेका थिए।

अस्पतालमा पनि उनलाई ज्वरो देखिएन।

अस्पतालबाट फर्केर उनीहरू ले मेरिडियन भन्ने होटलमा बसे। अर्को दिन पनि उनीहरू बिहानभरि होटलमै बसेर दिउँसो पेट दुख्यो र पखाला लाग्यो भनेर जचाउन अस्पताल पुगे। त्यो दिन पनि उनलाई कोरोना देखिएन।

अर्को दिन उनीहरू पुनाखा भन्ने ठाउँ गए। बाटोमा उनीहरू चिया र बिहानको खाना खान दुई ठाउँमा रोकिए। साँझ उनीहरू डेन्सा बुटिक रिसोर्टमा बसे। साँझ हिँडेर बजामसम्म पुगे र रिसोर्टमा फर्किए।

अर्को दिन थिम्पु आएर उनी फेरि अस्पतालमा देखाउन गए। त्यो दिन उनलाई ज्वरो, घाँटीमा समस्या, खोकी र सास फेर्न अप्ठ्यारो भएको थियो।

त्यसपछि उनलाई कोरोना भाइरसका लागि बनाइएको अस्पतालमा लिएर निगरानीमा राखियो। र नमूनाहरू संकलन गरेर जाँचका लागि पठाइयो। परीक्षणबाट उनलाई कोरोना देखिएपछि आइसोलेसन वार्डमा राखेर उपचार गरियो। उनलाई कृत्रिम अक्सिजन पनि दिइयो।

ती अमेरिकीलाई कोरोना देखिएपछि राष्ट्रिय तयारी तथा प्रतिरक्षा योजनाअनुसार तत्काल काम थालियो। राजा आफैं कसरी काम भइरहेको छ भनेर अनुगमन गर्न निस्किए।

‘स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले रातभरि काम गरे। राजा स्वयं पनि काम कसरी भइरहेको छ भनेर हेर्न आउनुभयो,’ अर्को दिन भुटानको सरकारी रेडियोलाई नेपाली भाषामा अन्तर्वार्ता दिँदै प्रधानमन्त्री छिरिङले भने, ‘म पनि रातभरि सुतेको छैन। हामीले अहिले सबै काम सकेका छौं।’

नागरिकहरूलाई सरकारको तयारीबारे जानकारी दिन र आश्वस्त रहन प्रधानमन्त्री छिरिङ आफैं सरकारी रेडियोमा पुगेका हुन्।

भुटानले ती अमेरिकीसँग सम्पर्कमा आएका ९० जनाको रेकर्ड तयार पारेको छ। स्वास्थ्य अधिकारीहरूले अरू मानिसको पनि खोजी गरिरहेका छन्। उनको भ्रमण विवरण हेरेर पारो विमानस्थलदेखि पुनखासम्म पुग्दा उनीसँग को-को भेटिए भन्ने पत्ता लगाइएको हो।

उनीसँग सबैभन्दा नजिक उनकी पत्नी, चालक र गाइडलाई क्वारेन्टाइनमा राखिएको थियो। जहाजमा उनीसँग आएका ८ जना भारतीयलाई पनि क्वारेन्टाइनमा राखिएको छ।

स्वास्थ्य मन्त्रालयले उक्त जहाजका चालक दलका सदस्य, ती अमेरिकी बसेका होटल र रिसोर्टका कर्मचारीलाई घरमै क्वारेन्टाइनमा बस्न भनेको छ। उनीहरूलाई परिवारका सदस्यहरूसँग पनि सम्पर्क नगर्नू भनिएको छ।

उनीहरूलाई १४ दिनसम्म स्वास्थ्यकर्मीहरूले निगरानी गर्नेछन्।

कोरोनाका एउटा बिरामी देखिएपछि भुटानले देश अब ‘ओरेन्ज जोन’मा गएको भन्दै त्यहीअनुसार तयारी थालेको छ। थिम्पु, पारो र पुनाखाका सबै शिक्षण संस्था मार्च फागुन २३ गते देखि दुई साताका लागि बन्द गरिए। अभिभावकहरूलाई आफ्ना बच्चाहरूको स्वास्थ्यबारे विशेष चनाखो हुन भनियो।

दुई हप्ताका लागि विदेशीलाई भुटान प्रवेश रोक लगायो भने सरकारले आयोजना गरेका सबै अन्तर्राष्ट्रिय सभा सम्मेलन दुई साताका लागि रोकिए।

दुई सातासम्मको अवस्था हेरेर त्यसपछि सरकारले थप निर्णय गर्ने पनि बताइएको थियो।
Setopati

अन्तिम पटक अपडेट गरिएको : April 1st, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु