कोरोना भाइरस संक्रमित पुष्टि भएपछि आइसोलेसनबाटै संक्रमित भागे

 

डडेल्धुरा । डडेल्धुराको भित्री मधेस परशुरामस्थित आइसोलेसनमा रहेका ८ कोरोना भाइरस (कोभिड–१९) संक्रमित भागेका छन्।

परशुराम नगरपालिका–१२ मा रहेको सिद्धनाथ आधारभूत विद्यालयको आइसोलेसनमा रहेका ८ संक्रमित शनिबार भागेका हुन्।

वडा नं. ५ मा रहेको क्वारेन्टानमा रहेका उनीहरूमा शुक्रबार कोरोना पोजिटिभ पुष्टि भएको थियो।

कोरोना पुष्टि भएपछि उनीहरूलाई आइसोलेसनमा राख्‍ने भनेर सिद्धनाथ आधारभूत विद्यालयमा ल्याइएको थियो।

खान बस्‍न उचित व्यवस्थापन नभएको भन्दै उनीहरू त्यहाँबाट भागेका खुलेको छ।

भागेका संक्रमितलाई नियन्त्रणमा लिइसकेर उनीहरूलाई आइसोलेसनमा राखिएको डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

शुक्रबार राति र शनिबार दिनभरी भोकै राखेको र अन्य कोरोना पोजेटिभ गाउँमा नै बसेकाले आफूहरू भागेको एक संक्रमितले बताए।

खानाको समस्या भएर उनीहरू भागेको बुझिएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जगन्‍नाथ पन्तले जानकारी दिए।

‘आइसोलेसनमा खाना–बस्न व्यवस्था राम्रो भएनछ। त्यही भएर व्यवस्थापनलाई दबाब दिन उनीहरू भागेका रहेछन् प्रजिअ पन्तले भने, अहिले उनीहरूलाई प्रहरीले आइसोलेसनमा राखिसकेको छ।

डडेल्धुरा जिल्लामा दिनहुँ कोरोनाका बिरामी थपिइरहेका छन्। शनिबार मात्रै ३९ जना संक्रमित थपिएका छन्।

प्रकाशित भएको : June 21st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु