खरिपाटी क्वारेन्टाइनमा राखिएका ६३ नेपालीको खाना खर्च सरकारले नव्यहोर्ने

 

शनिबार अनुमतिबिना मलेसिया, युएई र जापानबाट आएका ६३ नेपालीलाई सरकारले भक्तपुरस्थित खरिपाटी क्वारेन्टाइनमा राखेको छ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार उनीहरूलाई दुईटा साझा बसमा क्वारेन्टाइनस्थल पुर्‍याइएको हो।

सुरूमा ६२ जनालाई क्वारेन्टाइनको लागि पठाइएकोमा फेरि एक जना थपिएको विमानस्थल अध्यागमन कार्यालय प्रमुख सागर आचार्यले सेतोपाटीलाई जानकारी दिए।

‘एक जना फेरि थपिनुभयो। उहाँलाई पनि क्वारेन्टाइनमा पठाउन व्यवस्थापन टोलीलाई जिम्मा लगाएका छौं,’ उनले भने।

यसपटक भने क्वारेन्टाइनमा बस्नेले खानाको खर्च आफैं व्यहोर्नुपर्ने भएको छ।

अध्यागमन विभागका निर्देशक ईश्वरराज पौडेलले भने, ‘यो कुरा उहाँहरू आफैंले बुझ्नुपर्ने हो। बसाइँको खर्च लाग्दैन तर खाना र उहाँहरूलाई चाहिने कुरा आफैंले व्यवस्था गर्नुपर्छ।’

उनले खानाको सप्लाइ त्यहाँ खटिएका कर्मचारीले गरिदिने र त्यसको खर्च क्वारेन्टाइनमा बस्ने आफैंले व्यहोर्नुपर्ने बताए।

नेपाली सेनाका अनुसार ६३ जनालाई नै बेलुकाको खाना विद्युत प्राधिकरणको क्यान्टिनमा व्यवस्था गरिएको छ।

प्रवक्ता पाण्डेले क्वारेन्टाइनस्थलमा सेनाको टोली तयारी अवस्थामा रहेको बताए।

‘नियमित स्वास्थ्य जाँच र अन्य व्यवस्थापनको लागि जनशक्ति खटिसकेका छन्,’ उनले भने।

सरकारले शुक्रबार राति १२ बजेपछि खाडी लगायत मलेसिया, दक्षिण कोरिया, जापान, इरान र युरोपबाट कुनै पनि यात्रु नेपाल आउन नपाउने गरी प्रतिबन्ध लगाएको थियो।

साथै, यी मुलुकबाट कुनै पनि देशलाई ट्रान्जिट बनाएर पनि नेपाल आउन नपाउने भनिएको थियो।

तर शनिबार थाइ एयर र एयर इन्डियाबाट ६३ यात्रु नेपाल आए। यो संख्या आइतबार रातिसम्मै बढ्न सक्ने भएकाले अध्यागमनले यो अवधिमा नेपाल आउने सबै नेपाली यात्रुलाई क्वारेन्टाइनमा पठाउने तयारी थालेको छ।

‘यो अविधिमा आउने नेपाली नागरिकलाई क्वारेन्टाइनमा पठाउँछौं तर विदेशीलाई भने उतै फर्काउँछौं,’ विमानस्थल अध्यागम कार्यालय प्रमुख आचार्यले भने।

आइतबार राति १२ बजेदेखि भने चैतको १८ गते राति १२ बजेसम्म सबै अन्तर्राष्ट्रिय उडानहरूलाई सरकारले प्रतिबन्ध लगाइसकेको छ।

अन्तिम पटक अपडेट गरिएको : April 1st, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु