कलंकीका एक घरबेटीले दिए तीन महिनाको डेराभाडा छुट

 

कोरोना भाइरस संक्रमणको डरले काठमाडौं छाडेर घर फर्कनेहरूको घुइँचो बढ्दो छ। अत्यावश्यक वस्तुको अभाव र मूल्य वृद्धिले सर्वसाधारण मर्कामा छन्। दैनिक कमाइ गरेर घर चलाउनुपर्नेलाई यो समय कठिन हुन्छ। कति त आम्दानी सुकेर घरभाडा तिर्न सक्दैनन्। यस्तो बेला घरबेटी र डेरावालको सम्बन्ध राम्रो नभए काठमाडौंमा बस्नै मुश्किल पर्छ।

यो संकटको घडीमा कलंकीका हरिहर लामिछाने काठमाडौंका हजारौं घरबेटीको निम्ति उदाहरण बनेका छन्। उनले आफ्नो घरमा डेरा बसिरहेका दुई परिवारलाई तीन महिनाको घरभाडा छुट दिने घोषणा गरेका छन्। दुवै परिवारले मासिक छ-छ हजार रूपैयाँ तिरिरहेका हरिहरले जानकारी दिए।

हरिहरले फेसबुक पोस्टमार्फत् सार्वजनिक रूपले यस्तो घोषणा गरेका हुन्।

उनी मकवानपुरबाट एसएलसी सकेर पढ्नलाई काठमाडौं आएका थिए। त्यस बेला कलंकीमै डेरा बसेका उनी नेपाल ल क्याम्पस भर्ना भए। निजी कार्यालयमा सानोतिनो काम गर्थे। तलब थोरै थियो। त्यसैबाट दुखजिलो गरेर काठमाडौंमा गुजारा गर्नुपर्थ्यो।

‘मेरो बुवा पण्डित हुनुहुन्थ्यो। काठमाडाैं बसेका छोराहरूलाई खर्च पठाइदिने उहाँको हैसियत थिएन। म र मेरो दाजु आफैंले जोहो गरेर बस्यौं,’ हरिहरले सेतोपाटीसँग भने, ‘कमाएको पैसा घरभाडा तिर्न ठिक्क हुन्थ्यो।’

उनले अगाडि भने, ‘डेरावालहरूको समस्या मलाई थाहा छ। म पनि कुनै समय त्यो समस्याबाट गुज्रेर आएको छु। आपतविपत पर्दा डेरा भाडा मात्र तिर्न नपरे पनि निकै सहज हुन्छ। आफूले पनि भोगेको समस्या भएकाले अहिलेको घडीमा सबैको दु:ख बाँडौं भनेर परिवारसँग सल्लाह गरी तीन महिना भाडा छुट दिने निर्णय गरेको हुँ।’

उनी झन्डै दस वर्षदेखि कलंकीको तीनतले घरमा बस्दै आएका छन्। भुइँतलामा चारवटा कोठा छन्। दुई–दुई कोठामा दुई परिवार बस्छन्। माथिल्ला दुई तलामा हरिहरको आफ्नै पाँच जनाको परिवार छ।

उनको घरमा चोलिन्द्रप्रसाद कट्टेलको परिवार झन्डै नौ वर्षदेखि र रणबहादुर सुवेदीको परिवार चार वर्षदेखि डेरा बस्दै आएका छन्।

यी डेरावालहरू हरिहरलाई ‘मनकारी’ घरबेटी मान्छन्। उनको घरमा बस्न पाउँदा निकै सजिलो र अरू ठाउँभन्दा आनन्द रहेको बताउँछन्। उनीहरूले बत्ती, इन्टरनेट, फोहोर र पानीको पैसा तिर्नुपर्दैन। यसपटक भने भाडा नै छुट पाएर निकै सहज भएको उनीहरूले बताए।

‘उहाँको परिवारमा सबै जनाको व्यवहार अरू घरबेटीभन्दा फरक छ। हाम्रो खानपिनको पनि ख्याल गर्नुहुन्छ,’ कट्टेलले भने, ‘हामी लामो समयदेखि सँगै छौं। एउटै परिवारजस्तो घनिष्ठ सम्बन्ध बनेको छ।’

ढुंगा खानीको प्रोजेक्टमा काम गर्ने कट्टेलको चार जनाको परिवार छ। सोलुखुम्बुका उनी एघार वर्षअघि काठमाडौं आएका थिए। दुई वर्षमा दुई ठाउँ कोठा सरे। हरिहरको घरमा आएदेखि अरू ठाउँ सर्ने सोच नआएको उनी बताउँछन्।

रौतहटका सुवेदीको पनि चारको परिवार छ। कामको सिलसिलामा सुर्खेत गइरहनुपर्छ। उनी नहुँदा उनको परिवारको जिम्मा हरिहरले नै लिने गर्छन्। ‘पन्ध्र दिन काठमाडौं, पन्ध्र दिन सुर्खेत हुन्छु। म नभएका बेला पनि राम्रो व्यवहार देखाउनुहुन्छ,’ सुवेदीले भने, ‘दाजुभाइको जस्तो सम्बन्ध छ। हाम्रो परिवारलाई निकै सहयोग गर्नुहुन्छ।’

कोरोना भाइरसको जोखिम बढेपछि सुवेदीको परिवार मिलेसम्म आफ्नै घर फर्कने सोचमा छ। कट्टेल भने हाल गाउँ नजाने बताउँछन्।

आफ्नै व्यवसायमा लागेका हरिहर केही महिनाको भाडा नलिँदा आफूलाई कुनै आर्थिक समस्या नपर्ने हुँदा यस्तो निर्णय लिएको बताउँछन्। ‘सानैदेखि बुवाले संकटमा परेकालाई सहयोग गर्नू भनेर सिकाउनुभएको थियो। म त्यही बाटो पछ्याउँदै छु,’ उनले भने।

२०७२ को भुइँचालोपछि पनि उनले ६ महिनाको भाडा लिएका थिएनन्। आफूहरू अन्तै पाल टाँगेर बसेको र डेरावाल घरमै बसेको उनले सुनाए। ‘उहाँहरूले कम्पाउन्डमै बस्छौं भन्नुभयो,’ उनले भने, ‘घरको रेखदेख पनि गरिदिनुभयो।’

कट्टेल र सुवेदी दुवै भन्छन्, ‘उहाँजस्तो घरबेटी कहाँ पाउनु?’
Setopati

अन्तिम पटक अपडेट गरिएको : April 1st, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु