ओलीमा अहंकार बढ्यो : ‘भ्रष्टहरूलाई कारबाही नगरे अब हामी समाप्त हुन्छौं’ -प्रचण्ड

 

काठमाडौ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार र पार्टी कामको निर्मम समीक्षा गर्नुपर्ने बताएका छन् ।

पार्टीको आजबाट सुरु भएको स्थायी कमिटीमा केपी ओलीपछि मन्तव्य राख्दै अध्यक्ष प्रचण्डले पत्रपत्रिकामा सरकारको भ्रष्टाचार, अनियमितता, घूसखोरी मात्रै समाचार बनेको भन्दै कमीकमजोरी नसच्याए पार्टी र कम्युनिस्ट आन्दोलन समाप्तीको दिशामा जाने बताएका हुन् ।

“यस्तै तरिकाले अघि बढ्ने हो भने हामी समाप्त हुन्छौं,” प्रचण्डले भनेको स्रोतले उद्धृत गर्दै भन्यो, “सरकार र पार्टीको कामको समीक्षा गर्छौं ।

भ्रष्टाचार, अनियमितता भएका छन् भने छानबिन गरौं । दोषी देखिए ती सबैलाई कारबाहीको दायरामा ल्याउँ ।”

उनले कोभिड रोकथाम र नियन्त्रणमा अहिलेसम्म सरकारले गरेका प्रयास फलदायी नरहेको निष्कर्ष निकाल्दै यसको पनि समीक्षा हुनुपर्ने औंल्याएका छन् ।

सरकार अलोकप्रिय हुँदै गएको रक्षात्मक बन्नुपरेको अवस्थाको पनि गहिराइमा पुगेर समीक्षा गरेर निष्कर्षमा पुग्नुपर्ने उनको मत थियो ।

“आज अध्यक्षहरूले बैठकको एजेन्डा प्रस्तुत गर्नुभएको थियो ।

उहाँहरूले मन्तव्य राख्नुभयो,” बैठकपछि स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले बाह्रखरीसँग कुरा गर्दै भने, “पार्टी एकतापछि हामीले अन्तरसंघर्ष धेरै ग¥यौं ।

एक–अर्काविरूद्ध हस्ताक्षर गर्ने तहसम्म पनि पुग्यौं । फर्किएर बैठकसम्म आइपुगेका छौं ।

कहाँ कमी–कमजोरी भए आत्मसमीक्षा गरेर तिनलाई सच्याउँ । हामीबीचको एकताको विकल्प छैन । हामी अहिले मिलेरै आएका छौं ।

मिलेर बैठक राखेका छौं । यही स्प्रिट कायम राखेर सरकार र पार्टीको समीक्षा गर्नुपर्छ ।”

‘ओलीले प्रस्तुत गरेका एजेन्डा अस्वीकृत भयो’

नेकपाका एकजना सचिवालय तहका नेताले पार्टी अध्यक्ष ओलीले बैठकमा प्रस्तुत गरेका एजेन्डा खारेज गरेर नयाँ एजेन्डा तय गरेको बताएका छन् ।

“बैठकको सुरुमा बोल्दै उहाँले कोभिड–१९ को रोकथाम नियन्त्रण, सीमा समस्यालगायत एजेन्डा प्रस्तुत गर्नुभएको थियो ।

एमसीसी प्रकरण पनि छलफल नगराउने मनशाय थियो ।

हामीले ती एजेन्डा मानेनौं र परिमार्जनसहित एजेन्डा प्रस्तुत गर्‍यौं,” उनको भनाइ छ ।

झन्डै १२ मिनेट बोलेका प्रधानमन्त्री ओलीको मन्तव्य निकै रक्षात्मक रहेको र सहयोगको याचना गरेजस्तो सुनिएको एक स्थायी कमिटी सदस्यले भने ।

त्यसपछि बोलेका प्रचण्ड आक्रामक शैलीमा प्रस्तुत भएका थिए ।

उनले अहिलेसम्म सरकार सञ्चालनमा उठेका प्रश्नको उत्तर नखोज्ने हो भने पार्टी समाप्त हुने दोहो¥याएका थिए ।

प्रचण्डले आलोपालो प्रधानमन्त्री हुने सहमति छाडेर गल्ती गरेँ भन्ने महसुस भएको टिप्पणी गरेका थिए ।

उनले प्रधानमन्त्री ओलीमा अहंकार बढेको निष्कर्षसमेत निकालेका छन् ।

बुधबारदेखि सुरु भएको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीमाथि कडा आक्रोश पोखे ।

बैठकमा प्रचण्डको कडा प्रस्तुति सुनिसकेपछि प्रधानमन्त्री ओलीले आफू निराश बनेको अनौपचारिक प्रतिक्रिया दिएका थिए ।

बैठक शुक्रबार १२ बजेलाई तय भएको पार्टीका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

उनका अनुसार शुक्रबारदेखि सदस्यहरूले बोल्ने क्रम सुरु हुन्छ ।

यसपल्ट राजनीतिक, सांगठनिक दस्तावेज केही पनि प्रस्तुत गरिएको छैन ।

प्रकाशित भएको : June 25th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु