
‘सानो केटाकेटी हुँदा धामीले भुत–प्रेत लाग्दैन भनेर जन्तर लगाइदिन्थे, अहिले कोरोना जन्तर लगाइदिए’ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले घाँटीमा भिरेको ‘भाइरस रिमुभिङ कार्ड’ देखाउँदै भने ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबारदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले केही नेतालाई ‘कोरोना जन्तर’ बाँडेका थिए ।
स्थायी कमिटी सदस्य न्यौपानेले नि यसबारे चासो राखेपनि नेता नेपालले उनलाई पनि एउटा लगाइदिए । ‘घाममा चाहिँ नदेखाउनु भन्ने रहेछ’ कोटले कार्ड छोप्दै न्यौपालेले बालुवाटारमा उपस्थित सञ्चारकर्मीहरुसँग भने, ‘यसले (कोरोना) उडाउँछ कि उडाउँदैन थाहा छैन । उहि बेसारको धुलो जस्तो हो कि…।’
न्यौपानेले भने जस्तै बुधबारकै बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातमा यो कार्ड देखिन्छ । नेता नेपाल आफैंले घाँटीमा भिरेका थिए । झलनाथ खनाल, ईश्वर पोखरेल लगायतका नेताहरुले पनि यो लगाएको देखिन्छ ।
नेता नेपालले स्थायी कमिटी सदस्यहरुलाई बाँडेको कोरोना जन्तरको नाम ‘भाइरस ब्लकर डिसइन्फेक्सन कार्ड’ हो । एउटा कार्डको ६५० रुपैयाँ तिरेर किनिएको हो ।
के हो कार्ड ?
‘भाइरस ब्लकर डिसइन्फेक्सन कार्ड’ पोर्टेबल एयर प्युरिफायर हो । चार ग्राम तौल हुने यस्तो कार्डमा क्लोरिन डाइअक्साइड प्रोड्युसर, ग्यास स्टेइन रिलिज एजेन्ट, ब्याम्बो कार्बनजस्ता रसायनहरु राखिएको हुन्छ । र, यसले भाइरस नष्ट गर्ने दाबी छ ।
यस्ता कार्ड निर्माताहरले ३० देखि ६० दिनसम्म ५० सेन्टिमिटर वरपरसम्म निकै कम मात्रामा (लो कन्सन्ट्रेसन) क्लोरिन डाइअक्साइड हावामा छाड्दै त्यहाँ भएका भाइरस ब्याक्टेरिया, धुवाँ वा प्रदूषण हटाउने दाबी गरेका छन् ।
तर यो कार्डमाथि प्रश्न पनि उठेको छ ।
चिनियाँ समाचार संस्था सीजीटीएनमा प्रकाशित समचारअनुसार यसको प्रयोग कतिपय अवस्थामा निकै हानिकारक हुनसक्छ । विशेषज्ञहरुका अनुसार छोटो समयमा नै जीवाणुमुक्त गर्न उच्च मात्रामा क्लोरिन डाइअक्साइडको प्रयोग गर्दा श्वासप्रश्वासमा असर पर्नसक्छ ।
तर यो कार्डको पक्षमा मत जाहेर गर्ने कतिपय विशेषज्ञहरुले भने कार्डमा क्लोरिन डाइअक्साइडको मात्रा थोरै हुने र यसको असर पनि कम पर्ने बताएका छन् ।
यद्यपि कार्ड फुट्यो भने क्लोराइट निस्किन्छ, जुन मानिसको छालामा पर्यो भने जल्नसक्छ । साथै श्वासप्रश्वासमा पनि समस्या हुनसक्छ ।
जापान अमेरिका लगायतका मुलुकमा पनि यस्तो कार्ड प्रयोग नगर्न सुझाव दिइएको छ ।
एक अनुसन्धानले क्लोरिन डाइअक्साइड अनुमानका भरमा प्रयोग भइरहेको र यसले जीवाणुहरु मार्न सक्ने पुष्टि नभएको उल्लेख छ । बरु मानिसको फोक्सोमा असर परेको देखिएको समचारमा जनाईएको छ
प्रतिकृया दिनुहोस्